कथा: खगिसराले पनि मोटर चढी

हामी स्कूल पढ्ने बेलामा गाउँघरतिर मोटर त के मोटरबाटोको नामोनिशान थिएन । गाउँका त कुरा छोडौं सदरमुकाम जाने मोटरबाटो खन्ने अरे भन्ने हल्ला गाईंगुईं सुनिन्थ्यो । किताबमा देखेको मोटरको चित्र बाहेक मोटरसम्बन्धी कुनै जानकारी थिएन, त्यतिबेला ।
रुद्र ज्ञवाली
सिर्सिरे भञ्ज्याङमा जीप रोकिएपछि हामी जीपबाट ओल्र्यौं । हामी अर्थात छोरी अनुष्का, छोरो अनुरोध र म ।
“यहाँबाट कति टाढा छ बाबा, हाम्रो गाऊँ ?” अनुष्काको जिज्ञासा थियो ।
“हाम्रा पालामा त एक घण्टामै पुग्थ्यौं । अब हिड्ने बानी बिग्रिसक्यो । लाग्ला दुईघण्टा जति ।” मैंले भनें ।
“हाम्रो पहाडको गाउँमा मोटर जाँदैन र ?” यो जिज्ञासा थियो अनुरोधको ।
“बाटो त गएको छ अरे । तर नियमित सेवा छैन ।” मैले भनें ।
शरीरको धूलो टक्टक्याउँदै मैले सर्सती नजर घुमाएँ । आधुनिकताको बतासले छोएछ सिर्सिरे भञ्ज्याङलाई पनि । भिरका कापबाट पिलर उठाएर चार पाँच पक्की घर बनिसकेछन् । अरु पाँच सात टहरा पनि बनेछन् ।
पहिले सिर्सिरे भञ्ज्याङमा केही पनि थिएन । एकजोडी बरपिपलको रुख र त्यसमा चिनेको चौतारो । वरिपरि घना वन । सहर जाने आउने मानिसहरुको विश्रामस्थल । जस्तै गर्मीमा पनि जाडोको अनुभूति हुन्थ्यो नियमित चलिरहने सिर्सिरे हावाले । सधै सिर्सिर हावा चलिरहने भएकैले सिर्सिरे भञ्ज्याङ भनिए होला ।
धूलोले नचिनिने भएको थियो अनुहार र भोकले पनि रनाहा छुटाउँदै थियो । होटलमा खान लायकका खासै चिज थिएनन् । त्यसैले तीन पोका चाउचाउ पकाउन लगायौं । जगमा पानी मागेर हातमुख धोयौं । झोलामा लागेको धूलो टक्टकायौं ।
चिया पसल्नी वयस्क थिइन । पाकेको गोलभेंडामा धर्सा परे जस्तै थियो उनको मुखमण्डल । पुष्ट गालामा वतासले कोतरेका धर्साहरुले पनि उनको सौन्दर्यलाई बिगारी हाल्न सकेको थिएन ।
मुखकी पनि फरासिली रहिछन् उनी । हाम्रो सबै नालीबेली सोधिन । र, आफ्ना पनि बताउन थालिन ।
श्रीमान् रोजगारीको लागि कतार गएका रहेछन् । नआएको दुईवर्ष भइसकेछ । सासु ससुरा पुरानै घरमा बस्दा रहेछन्, देवरसँग ।
“अहिले त हजुरका गाउँसम्म पनि मोटर बाटो पुग्यो केरे । तीन चार जनाले त मोटरसाइकल पनि किनिसके ।” चाउचाउको बटुको हामीतर्फ बढाउँदै बोलिन्, उनी ।
घरमा म प्राय हाम्रो गाऊँको कुरा गर्थें । गाउँले रीतिथिति र समाजका कुरागर्थें र यसैक्रममा एउटा नाम बारम्बार जोडिने गथ्र्यो, खगिसरा ।
 “बाबा हजुरले भन्ने गरेको त्यो खगिसराको घर कहाँ हो त ?” चाउचाउ खाँदै गर्दा अनुष्काले सोधी ।
“पहिले त हामी जाने बाटो मै पथ्र्यो । अहिले खै कता छ कुन्नि … ?” मैले भनें ।
“को खगिसरा भन्नु भएको नानीले ? ” पसल्नीले जिज्ञासु नजर हामीतर्फ फ्याँकिन ।
“ए त्यो बोक्सिीनी । यैं अल्लिपर त हो मुदार्नीको घर । मैले खगिसराको बारेमा बताएपछि चियापसल्नीले मुख बिगार्दै भनिन् ।
“बा’ बोक्सिनी भनेको के हो ? अनुरोधको जिज्ञासा थियो ।
अहिले बाटोमा भनौंला भनेर उसको जिज्ञासा टारें ।
“गाउँ बस्दा एकपटक भेटौं है बाबा … ।” अनुष्काले होटल्नीको कुराको वास्तै नगरेर भनी ।
“पैलेपैले त यतै पनि अन्मरिन्थी क्यारे बोक्सीनी । केटाटीलाई टोकेर हैरान । अचेल खै बिरामी परिछ रे । ” मैले बोल्न नपाउँदै होटल्नीले थपिन् ।
म केही बोलिन ।
चाउचाउको पैसा तिरेपछि आ–आफ्ना झोला बोकेर बाटो लाग्यौं हामी । बाटो काट्न सजिलो हुन्छ भनेर अनुष्का र अनुरोध अन्ताक्षरी खेल्न थाले । म भने गाउँका हाल साविक दृश्यहरुलाई मनको क्यामेरामा कैद गर्न थालें ।
गाउँको तल सिस्नेखोलो अहिले पनि उसैगरी बगिरहेको छ जसरी हामी स्कूल जाने समयमा बग्थ्यो । तर पानीको मात्रा धेरै घटेछ खोलामा । खोलाको दायाँ वायाँ किनारका खेतहरु बाँझिएछन् र बाँझिएछ खगिसरको खोरिया पनि । त्यहीं खेत हो जहाँ तीनपटक वाली लाग्थ्यो । धान पाकेपछि गहुँ, गहुँ पाकेपछि मकै । कतै कतै गहुँको सट्टा आलु रोपिएको हुन्थ्यो । खोरियामा मकै, गहते सिमी, झिलङ्गीबाहेक अरु खेती हुँदैनथ्यो । खोरियाको छेउमा एकथान जीर्ण कटेरो थियो । त्यसै कटेरामा बसेर बाँदर धपाउने देखि घर लैजाने घाँसपातको जोहो गर्थी खगिसरा । तर अहिले त्यस कटेरोको कुनै अवशेष बाँकी देखिन्न, त्यहाँ ।
खगिसरा उमेरमा हामी भन्दा केही वर्ष जेठी नै हो । तर कति जेठी हो ठ्याक्कै अन्दाज मलाई पनि छैन । उसको घर स्कुलबाट त्यति धेरै टाढा नभए पनि उ किन स्कूल जान्न ? किन पठाएनन् उसका बा आमाले स्कूल ? त्यतिबेला केही थाहा भएन, हामीलाई । हामी जान्ने हुँदा खगिसरा त्यहीं खोरिया र कटेराको आसपास कहिले घाँस काट्दै त कहिले बाँदर धपाउँदै गरेकी देखिन्थी । कहिलेकाहीं उसका बाबुआमा पनि देखिन्थे, खोरियामा । खास गरेर खेती लगाउने र बाली भित्र्याउने समयमा उसका पुरै परिवार खोरियाको कटेरोमै बास बस्थे ।
हामी स्कूल जाँदा सिस्ने खोलो तरेर जानु पथ्र्यो । खगिसराको खोरियाको पुछारमा रहेको त्यस खोलामा हिउँदमा छिपछिपे पानी मात्रै रहन्थ्यो भने वर्षादमा लगभग घुँडामुनीसम्म पानी हुने गथ्र्यो । त्यसैले कि ढुङ्गाढुङ्गा टेकेर र त कि आफू भन्दा ठूलाको हात समातेर खोला तरिन्थ्यो । कैलेकाहीं भल आएर खोला बढेको बेलामा भने खगिसराले बोकेरै हामीलाई खोला तारिदिन्थी । असार र साउनमा स्कुलमा बर्खे विदा हुने हुँदा यस्तो भलबाढीको त्यत्ति धेरै समस्या पर्दैनथ्यो हामीलाई ।
“त्यो होटलकी आन्टीले किन गाली गरेको होला खगिसरालाई ?” अन्ताक्षरी खेल्दा खेल्दै सोध्यो अनुरोधले ।
“यस्तै त हो । दुखी र गरीबलाई सबैले हेप्छन् ।” मैले भनें ।
मेरो जवाफमा कुनै प्रतिक्रिया जनाएन, अनुरोधले ।
उनीहरु फेरि अन्ताक्षरीमै रमाउन थाले । म फेरि पुरानै स्मृतिमा हराउन थालें ।
खगिसराका धेरै सम्झनाहरु रहेछन्, यो मस्तिष्कमा । स्कूल आउँदा जाँदा बाटोमा पानी प¥यो भने हामी प्राय खगिसराको छाप्रोमा ओतिन जान्थ्यौं । पानी परेको बेला अलिअलि जाडो हुन्थ्यो र खगिसराको छाप्रोमा प्राय धूवाँ पुत्ताइरहेको हुन्थ्यो । पानी नबसुञ्जेल हामी भिजेका कपडा पुत्ताइरहेको आगोमा सेकाउथ्यौं । नाङ्गै भएर कपडा सेकाइरहेको बेला खगिसरा हामीलाई कुरीकुरी भन्दै जिस्क्याउँथी ।
हामी स्कूल पढ्ने बेलामा गाउँघरतिर मोटर त के मोटरबाटोको नामोनिशान थिएन । गाउँका त कुरा छोडौं सदरमुकाम जाने मोटरबाटो खन्ने अरे भन्ने हल्ला गाईंगुईं सुनिन्थ्यो । किताबमा देखेको मोटरको चित्र बाहेक मोटरसम्बन्धी कुनै जानकारी थिएन, त्यतिबेला । इण्डिया तिर लाहुरे भएर फर्किएकाहरुले एककोश जति लामो डिब्बैडिब्बा भएको रेल चढेका कुरा गर्थे । एक कोष लामो रेलको कुरा सुन्दा हामी आश्चर्यमा पथ्र्यौ ।
गाउँबाहिर गएर जागिर खाएकाहरु पनि दशैंमा घर फर्कंदा तानसेनसम्म बस चढेर आएको कुरा गर्थे । नूनतेल र जडाउरीको लागि पैदलै बुटवलसम्म जाने गरेको कुरा सुनाउनुहुन्थ्यो हाम्रा अग्रजहरु । हामी साना छँदा पनि अलि धेरै किनकान गर्न परे तानसेन, नत्र रिडी जाने चलन थियो । हाम्रो गाउँभरि कुनै पसल थिएन । भरिया लगाएर लगभग वर्षैभरिलाई पुग्ने ढिके नुन, टिनका टिन मट्टीतेल र आवश्यक चिनी ल्याउने र सञ्चय गर्ने चलन थियो । अहिले जस्तो पोकामा हालेको आयोडिन नुनको चलन चल्ती थिएन, त्यतिबेला । तरकारी र अन्न त किनेर खाने चलनै थिएन गाउँमा । किनेर खाइने अन्नलाई बेसाहा खाने भनिन्थ्यो । वेसाहा खाने कुरा इज्जत र प्रतिष्ठा प्रतिकूल मानिन्थ्यो ।
घरघरमा पशुपालन गर्ने चलन थियो । गाउँका अलि हुने खानेका घरमा दुई तीनवटा लैना भैंसी, एक दुइ जोर गोरु, आठदशवटा गाई र वीस तीसवटा बाख्रा पालिएका हुन्थे । अरु दिन स्कूल जाने हुनाले प्राय शनिवारका दिन गाई बाख्रा हेर्न जानुपथ्र्यो । गाउँभरिका गाइवस्तु चरेर र तिनका खुरले उधिनिएर त्यतिबेला गाउँ नजिकका वन पाखा सबै उजाड भइसकेका थिए ।
“बाबा अझै कति लाग्छ, गाऊँ पुग्न ।” अन्ताक्षरीको बीचैमा सोधी अनुष्काले ।
“लाग्ला एकघण्टा जति ।” मैले भनें ।
“वाफ रे… । एक घण्टा ।” भन्दै उनीहरु पुन अन्ताक्षरीमै लागे । बीचबीचमा फोटो पनि खिच्थे । उता उनीहरुको क्यामेराले प्राकृतिक दृश्यहरु खिच्दै गरेको हुन्थ्यो र यता मेरो मनको क्यामेरामा अतीतको चित्र सजीव भएर दृटिगोचर हुन थाल्थ्यो  ।
गाउँ निकै परिवर्तन भएछ । त्यतिवेला नाङ्गा देखिने पाखाहरुमा रुख पोथ्राले ढाकेछ । बाटाको तलमाथि जताततै झाडी नै झाडी थियो । हामी स–सानो उमेरको छँदा गाई चराउने गौचरनको रुपमा रहेको चउर पनि डमक्क झाडीले ढाकिएको थियो । त्यतिबेला त्यो चउरमा फाट्टफुट्ट तितेपातीका बोट बाहेक ठूलो बोटविरुवा केही रहँदैनथ्यो । चउरकोे पुछारमा रहेको खोलाको किनारमा अलिकतिसम्म परेको ठाउँ थियो । त्यो ठाउँ प्राय गोठालाहरु खेल्न र गोरु जुधाउने काममा प्रयोग हुन्थ्यो । खोलामा कतै कतै अलि ठूला खाल्टा परेको ठाउँलाई थुनेर हामीले रह बनाउँथ्यौ । खोलाको पारीपट्टी पाखोमा खगिसराको खोरिया थियो । गाइ चराउन जाँदा र स्कुलबाट फर्कदा पनि कहिलेकाहीं हामी खोलाका अलि ठूला रह छानेर पौडी खेल्थ्यौं ।
हामी नाङ्गै भएर पौडी खेल्न थालेपछि खगिसरा बाँदर लखेट्न बसेको कुरा बिर्सेर वात्तिँदै खोलामा आइपुग्थी र कपडासहित खोलामा हाम फाल्थी । अलि उत्ताउली थिइ, ऊ । मुखमा जे आयो त्यहीं बोल्थी । अहिले सम्झँदा लाग्छ उसलाई त्यतिवेलै वैंसले छोइसकेको थियो, तर त्यो कुरा हामीले के बुझ्नु ।
हामी स्कूल जाँदा बाटोमा पर्ने जङ्गलमा चिउरी, खल्टुक (तिदू) र अलि माथिल्लो भेगमा काफल पनि पाइन्थ्यो । हामी स–साना भएकाले रुख चढ्न सक्दैनथ्यौं । तर खगिसरा जति ठूलो रुखमा पनि चढ्थी । स्कूलबाट फर्कने समयमा कहिलेकाहीं टिपेर राखेका खल्टुक चिउरी खान दिन्थी । कहिले घरबाट ल्याएका बेलौती पनि दिन्थी । मन लाग्यो भने रुखमा चढेर खल्टुक, चिउरी झराल्थी । हामी भूईंमा बसेकाहरु उसले झारेका चिउरी, खल्टुक जम्मा गथ्र्यौं । उ रुखबाट झरेर सबैलाई बराबर भाग लगाउँथी ।
फल पाक्ने सिजनमा फल खान पाइने आशामा हामी उसको छाप्रोमा पस्थ्यौं । प्राय स्कुलबाट घर फर्कने बेलामा हामीलाई भोकले पेलेको हुन्थ्यो र खगिसरा प्राय बाँदर रुङने छाप्रो मै हुन्थी । मकै पाकेपछि पनि सिमी बोडीका झाल रुङ्ने काम उसैको हुन्थ्यो । हामी उसँग खानेकुरा माग्थ्यौं । कहिले त भए भरको सबै हामीलाई बाँडेर, खाओ बाँदर हो भन्दै हाँस्थी ं ।
दशैं तिहारजस्ता चाडपर्वका वेला हामीले घरबाट लुकाएर लगेका अर्सा, अनर्सा, सेल जस्ता रोटी उसलाई दिन्थ्यौं । हाम्राँ त यस्ता रोटी पोल्दैनन्, भन्थी खगिसरा । घरबाट चोरेको रोटी उसलाई दिन पाउनुको आनन्द पनि स्मरणयोग्य थियो । कसैले देखेर खोसी हाल्छ कि भने जस्तो गरी उ हामीले दिएका रोटीहरु बकुस्याउँथी ।
“बाबा गाउँ पुगेपछि हामी कहाँ बस्ने त ?” अनुरोधको बीचैको प्रश्नले सोचाइको क्रममा अवरोध ग¥यो ।
“छँदैछ नि सुइदार जिबाको घर । चिन्छौ नि सुइदार जिबालाई ।” मैले भनें ।
सुइदारबा पोहोर उपचार गराउने सिलसिलामा एक हप्ताजति हाम्रा घरमा बस्नु भएको थियो । विश्वयुद्धमा जर्मनी र जापानीसँग लडेको बहादुरीका कथा सुनाउँदा विस्मित भएका थिए, अनुष्का र अनुरोध ।
“जिबाका जुँगा अहिले पनि त्यस्तै होलान है ।” अनुष्काले भनी ।
जुँगाका कुरा सुनेर अनुरोध खितित्त हाँस्यो ।  उनीहरु फेरि अन्ताक्षरीमै रमाउन थाले ।
म फेरि अतीततिरै फर्कें ।
कुरा त्यति बेलैको हो, गाउँका बुहारी र कामदारहरु बिहानको काम सकेर घाँस काट्न खरवारी वा वनतिर जाने चलन थियो । घरमा जहिले पनि सासु वा मान्यजनको दहकिसमा दबिएका बुहारीहरु घाँस काट्दै रनवन रन्काउँथे । यो अवसरलाई मनभित्रका वह पोख्ने अवसरको रुपमा प्रयोग गर्थे, उनीहरु ।
घाँस काट्ने कुरा गर्दा, गाउँमा अलि हुने खानेहरुका आफ्नै पाखा खरवारीहरु हुन्थे । खोरिया र पाखामा थुप्रै डालेघाँस हुन्थ्यो । नहुने गरीबहरुले भएको थोरै ख¥यानलाई पनि खोरिया बनाउँथे र मकै छर्थे । उनीहरु घाँस दाउरा खोज्न वन जङ्गल जान्थे । गाईवस्तु जान सक्ने सजिला ठाउँमा घाँसको त्यान्द्रो पनि पाइन्न्थ्यो । पहरा र भिरको कापमा गएर घाँस काट्दा थुप्रै मान्छे भिरबाट लडेर मर्थे ।
हो त्यति बेलैको कुरा रहेछ । खगिसराको लोग्ने जङ्गल जाँदा भिरबाट खसेर मरेको रे । आरनको लागि गोल पोल्ने दाउरा खोज्न जाँदा भिरबाट खसेछ बिचरा र खगिसरा वाल विधवा भइछ । त्यसपछि पोइ टोकुवा भनेर घरकाले निकाली दिएछन् र माइतीमै आश्रित भएकी रहिछ, ऊ ।
मेरोे स्मृतिपटमा सजिएका जम्मै कुरा उ वाल विधवा भएपछिका रहेछन् । त्यतिबेला उ विवाहित, अविवाहित, विधवा, सधवा के थिई भन्ने हाम्रो सोधखोज र चासोको विषय नै थिएन । सायद सधवा विधवाको अर्थ खगिसरलाई पनि थाहा थिएन ।
खगिसरा उमेरले हामी भन्दा जेठी भए पनि हामी भन्दा पनि केटाकेटी मनोविज्ञानकी थिई । कहिलेकाहीं हामी खगिसराको कटेरोमा बिहे गर्ने, सुत्केरी व्यथा लाग्ने र बच्चा जन्माउने सम्मका खेल खेल्थ्यौं । त्यस्ता खेलमा हामी भन्दा अलि बढी उमेरको थापादाइ दुलाहा बन्थ्यो । खगिसरा दुलही बन्थी । चिउरी खल्टुकको सिजन भए ती फल र नभए कमाई वा भूईं काफलको बिहेभोज खान्थ्यौं, हामी । त्यसपछि खगिसराले कम्मरको पटुकालाई डल्लो पारेर फरियाभित्र घुसार्थी र ठूलो भूँडी बनाएर ऐया मरें भन्दै भुईंमा लडिबुडी गर्थी ।  एकैछिनपछि बच्चा जन्माएको अभिनय गर्थी, ऊ ।
बच्चा पनि झुत्रा कपडाहरुबाटै तयार गर्थी, ऊ । अनि तरुनो छाति उदाङ्गै पारेर, आफ्ना उन्नत स्तनहरु निचोर्दै बच्चालाई दूध चुसाएको अभिनय गर्थी ।
भोजका कुरा गर्दा अहिलेजस्तो वफेपार्टी र मिष्ठान्न परिकारको चलन चल्ती थिएन हाम्रो गाउँमा । अहिलेको प्रितीभोजलाई भतेर भनिन्थ्यो, त्यतिबेला । गाउँमा कसैको विवाह पर्दा गाउँका सबै मान्छे जुटेर चूलो बार्ने चलन थियो । वनबाट स्याउला काटेर बारीको अलि सम्म  परेको ठाउँ स्याउलाले बारेर भतेर पकाउने ठाउँ तयार गरिन्थ्यो । प्राय मेला पर्व वा विवाह व्रतवन्धको मौका पारेर धन्सारबाट धान झिकिन्थ्यो र काठे ढिंकीमा कुटिन्थ्यो । निम्तालुले तरकारी र दूध ल्याउने चलन थियो । बारीको पुछार वा घरको आँगन लिपपोत गरी भतेर खाने ठाउँ बनाइन्थ्यो । बाजा बजाउने दमाई, दलित र भात नचल्ने मतवाली जातका मानिसका लागि अलि छुट्टै ठाउँमा भतेर खाने व्यवस्था मिलाइन्थ्यो ।
त्यतिबेला अहिले जस्तो प्लेट चम्चाको चलन थिएन । तातो भात टपरीमा पस्किन्थ्यो । टपरीका वरीपरी, दूध, दही, ध्यू, दाल, तरकारी, अचार आदि इत्यादिका दर्जन जति दुना बोहता हुन्थे । दुना बोहताको संख्याबाट पनि मान्छेको औकात जाँचिन्थ्यो । विवाहमा जन्ती गएर फर्कदा प्राय दुलहीको घर नजिक कतै बारीको पुछारमा ढुङ्गाको चुलो बनाएर जन्ती बाख्रो पकाउँथे बूढापाकाहरु । नुहाएर कपडा फेरेकाहरुले मात्र भान्सा छुन पाउँथे । अरु भन्सादेखि टाढै रहनुपथ्र्यो । अलि हुने खाने खालका माइती पक्ष भए जन्ती बाख्राको सम्पूर्ण सामान उनीहरुले नै व्यवस्था गरिदिन्थे । नत्र दुलाहा पक्षकाले गर्नुपथ्र्यो ।
जन्ती बाख्रो । यो शब्दमा एउटा गजबको अर्थ लुकेको थियो जस्तो लाग्छ, अहिले मलाई । दशैं, चैतेदशैं वा साउने संक्रान्तिमा मात्र खसी काटेर बिलो लाइन्थ्यो । त्यसबाहेक मासु खाने खासै चलन थिएन । लाहुरबाट फर्केकाहरुले बिचमा कहिलेकाहीं खसी काट्थे । त्यसबाहेक मासुको मुख हेर्न पाउने भनेको त्यहीं जन्ती बाख्रो थियो । खसी ठूलो सानो जस्तो र जति धार्नीको होस् सबै जन्तीलाई त्यसैले पु¥याउनुपथ्र्यो । त्यसैले ताउलाभरि गाग्रीका गाग्री पानी हालेर झोल बनाइन्थ्यो । मसलाका नाममा जिरा धनियाँबाहेक केही हुँदैनथ्यो ।
जन्ती बाख्रोमा अरु भतेरमा जस्तो धेरै दुना बोहता हुँदैनथे । टपरीमा भात पस्केपछि मासुको जिम्मा लिएकाले ठूल्ठूला डाडूले मासु नामको झोल त्यहीं टपरीमा खन्याइ दिन्थे । लगभग आधा लिटर झोलमा पर्ने मासुको टुक्रा तीन चार भन्दा बढी हुँदैनथ्यो । मासु बाँडने मान्छे आफन्त प¥यो भने मासुको टुक्रामा वृद्धि हुन्थ्यो । जन्तीबाख्रो खाए पछि कसको भागमा कति टुक्रा मासु प¥यो भन्ने कुरा चर्चाको विषय हुन्थ्यो । हुन पनि टपरीमा खन्याएको मासुको झोलले टपरीको भातलाई स्नान मात्र गराउँथ्यो र सलल बग्दै बारीको सिंचाइ गथ्र्यो । तर पनि त्यतिबेलाको जन्ती बाख्रोमा जुन स्वाद र मिठास थियो, त्यो अहिलकोे ककटेल पार्टीमा कहाँ हुनु ?
त्यतिबेला गाउँमा मनोरञ्जनको कुनै साधन थिएन । केटाकेटीहरु गट्टा, डण्डीवियो, भाँडाकुटी जस्ता खेल खेलेर मनोरञ्जन लिन्थे भने बुढापाकाहरु डबलमारा, रमी र गुलामचोर खेलेर दिन बिताउँथे । अलि तन्नेरी र जागिरेहरु किट्टी र फलाँस खेल्थे । तिहारको बेलामा भने कौडा हान्ने चलन पनि थियो । कौडा खेल्दा कतैकतै नगदै राखेर खेल्थे भने कतै चुरोटको पाइट थापेर खेल्ने चलन थियो । कौडी खेलाउने घरकाले थर्की (कौडा खेल्ने ठाउँमा ओछ्याइएको दरी वा काम्लोको भाडा) उठाउँथे । खेलमा जितेकाहरुले खेलका तमासेहरुलाई जितौरी बाँडने चलन थियो । त्यसैले तिहारको बेला कौडी खेल्ने ठाउँमा जाने र एकजनाको पक्ष लागेर मारा मारा भन्दै कराउने गथ्यौं हामी । यसो गर्दा आफ्ना पक्षकाले जिति हालेमा जितौरी पाउने सम्भावना प्रवल रहन्थ्यो ।
गाउँमा भर्खर मात्रै बिजुली बल्न थालेछ । त्यतिबेला बिजुली बलेको देख्न पाउने कुरै भएन । नेपालमै जागिर खाएका वा लाहुरबाट आएकाहरुले तीनवटासम्म ब्याट्री लाग्ने टर्च लाइट बालेर झलमल्ल उज्यालो पार्दा अचम्म मान्थ्यौं । प्राय घरमा तामाको पालामा तेल बत्ती बनाएर बाल्ने गरिन्थ्यो । अलि हुने खानेहरुले मट्टीतेलका टुकी र लालटिन बाल्थे । गाउँमा विवाह ब्रतबन्ध पर्दा वल्लोपल्लो गाउँबाट खोजखबर गरी मइन्टोल ल्याइन्थ्यो । मइन्टोलमा रहेको जाली भर्भराउँदै बलेको पनि हाम्रा लागि उदेकै लाग्दो कुरो थियो । प्रेसर कम भएपछि मइन्टोलको जाली धमिलिन थाल्थ्यो । अनि मइन्टोलका मालिक वा उनले मुकरर गरेको व्यक्तिले मइन्टोलमा दम दिन्थे । दम पाएपछि मइन्टोलको जाली उज्यालिन्थ्यो ।
गाउँमा रमाइलो अवसर भनेको यदाकदा हुनेखानेका घरमा लगाइने सत्यनारायणको पूजाको रात हुन्थ्यो । त्यतिबेला रातैभरी भजन किर्तन गरेर नाच्ने चलन हुन्थ्यो । अघिपछि दमित भएर कुनामा लुक्न बाध्य बुहारीहरु पनि भजनमा खुलेर नाच्थे । नाच्ने मान्छे अलि तरुनी परी भने खैजडी मजुरा अरु बढी रन्किन्थे । तर खगिसरा यसरी नाचेको मैले कहिल्यै देखिन । नाच्नुका कुरा उ नजिक पनि आउन्नथी अथवा आउन पाउन्नथी । आँगनको छेउमा दलित समुदायका मान्छेसँगै बस्थी, उ । फूल प्रसाद पनि छुट्टै टपरीमा राखेर दिइन्थ्यो, उनीहरुलाई । उनीहरुसँग छोइयो भने पानीको छिटा हालिन्थ्यो ।
पछि हाम्रो परिवार मधेशमा बसाइ स¥यो । त्यसबीचमा उदेक लाग्लो घटना भएछ । खगिसराले हामै्र गाउँका एक जना काका नाता पर्नेको भूँडी बोकिछ । अघिपछि खगिसरा र उसको परिवारका सदस्यसँग छोईंदा पनि छोइछिटो गर्ने ती काकाले खगिसरासँग यौन सन्तुष्टि लिएछन् । पानी र भात नचल्ने खगिसरको यौन भने चलेछ काकालाई । पछि धनको आडमा पल्लो गाउँको एकजना लठेब्रो दलितलाई भूँडी सकार्न लगाएर काकालाई चोख्याएछ, समाजले । यो सुन्दा मलाई नरमाइलो लाग्यो ।
“बाबा दुईघण्टा त भइसक्यो । अझै आएन है ।” थकित मुद्रामा बोली अनुष्का ।
“अब आइपुग्यो ।” नजिकैको गाऊँ देखाउँदै बोलें ,म ।
गाउँ नगएको पनि एक युग नै भइसकेको रहेछ । छोराछोरीले मेरो जन्मस्थान हेर्ने रहर र कर नगरेको भए यसपल्ट पनि आइन्नथ्यो होला गाउँमा । मैले दुःख र परिश्रमको उदाहरणमा पटकपटक आफ्नो बाल्यकाल र गाउँले जीवनको चर्चा गर्ने गरेकोले उनीहरुलाई मेरो जन्मस्थान हेर्ने र अनुभव गर्ने हुटहुटी पैदा भएको थियो ।
क्षितिजमा सूर्य नडुब्दै सुबेदारको आँगनमा पुग्यौं हामी । सुबेदार बा स्वस्थ हुनुहुँदो रहेछ । केटाकेटीसँग खुबै रमाउनुभयो । घरमै दुहेको शुद्ध दुध, घरमै टिपेको ताजा तरकारी, ढिकीमा कुटेको जर्नेली चामलको भात, भुटेको भटमास र मकै । घरमै जमाएको लहरे दही ।  निकै रमाइलोसँग बिते गाउँ बसाइका दिन ।
फर्कने दिन लौरो टेकेर वर चौपारासम्म छोड्न आउनु भयो, सुबेदार बा । हामीलाई विदा गर्दा निन्याउरो भएको थियो उहाँको अनुहार ।
“बाबा खगिसरालाई पनि भेटेर जाने है ।” अनुष्का र अनुरोधले पटकपटक जिद्दी गरिरहेका थिए ।
सिर्सिरे भञ्ज्याङ आइपुग्दा बिहानको ९ बजिसकेको थियो । सिर्सिरे भञ्ज्याङको चौतारोमा दशपन्ध्र जना मान्छे जम्मा भएका देखिए । हामी भने सरासर जाँदा चाउचाउ खाएको होटलमा गएर झोला बिसायौं ।
“ए फर्कनु भयो त छिट्टै ?” पसल्नीले भनिन् ।
“अँ यिनीहरुको पढाई छुट्छ ।” त्यसैले फक्र्याैं, मैले भनें ।
“खै आज गाडी आउँछ कि आउन्न कुन्नि ? पहिलो नम्बरको गाडी लास लैजान वडाले रिजर्भ ग¥यो रे । कता दाउरा हालेर आउँदैछ भन्थे ?” पसल्नीले भनिन ।
“हँ । को के भयो र ?” आश्चर्य मान्दै सोधें ।
“हजुरहरुले अँस्ती सोध्नु भएकी बोक्सीनी बुढी त मरी नि । उ त्याँ राखेको छ लास ।” मान्छे थुप्रिएको ठाउँ देखाउँदै बोली, ऊ ।
“खगिसरा मरी ?” स्तब्ध भएर सोधें मैले ।
“हो मरी । दुःखै लुकाइ बुढीले । यहाँ आएर मोटर चढछु भन्दै सबैलाई हैरान पार्थी । जिन्दगीमा मोटर चढने खुब रहर थियो त्यसको । आखिर मोटर नचढेरै मरी । बाचुञ्जेल चढ्न नपाए पनि मरेपछि पो चढने भइ त मोटरमा ।” यति भन्दै खितित्त हाँसी होटल्नी ।
असाध्यै भद्दा लाग्यो मलाई उसको हाँसो । मान्छेको मृत्युमा हाँसिएको बर्बर हाँसो । संवेदनाहीनताको पराकाष्ठा  ।
झोला होटलमै छाडेर चौतारामा पुगें, म । छोराछोरी लास हेर्न जान डराए । खगिसराको लास बाँसमा बाँधेर राखिएको थियो र केही मानिस लासको कुरुवा बसेका थिए ।
कात्रोले बेरिएको उसको लास देखेर मलाई लाग्यो, यो देशमा अझै पनि थुप्रै यस्ता खगिसराहरु छन्, जसले जिन्दगीमा पैला किताबको मुख देखेका छैनन्, कपुरी क लेखेका छैनन, हात्तीछापे नोट छोएका छैनन् ,  सिटामोल चाखेका छैनन्, बिजुलीको स्वीच थिचेका छैनन्, हरमा नयाँ कपडा फेर्न पाएका छैनन् र मोटर चढेका छैनन् ।
बिचरा खगिसराहरु जसले मरेपछि मात्रै नयाँ कपडा फेर्छन र मरेपछि मात्रै मोटर चढ्छन् ।
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका