भैरहवा ।
आर्थिक मन्दिका बेलामा समेत रुपन्देहीमा उद्योग, व्यवसायमा लगानी बढ्दो छ । ठूला, मध्यम र साना व्यवसायिक प्रतिष्ठानमा लगानी बढ्दो छ । परम्परादेखि आर्थिक बिकासको केन्द्र रुपन्देही अहिले लुम्बिनी प्रदेशको आर्थिक राजधानी बन्ने क्रममा छ । विभिन्न उद्योगसँग सम्बन्धित संस्थाका अनुसार एक दशकयता रुपन्देहीमा मात्र ४५ अर्ब रुपैयाँभन्दा बढी रकम पूर्वाधारमा लगानी भएको छ । पछिल्लो समय सिमावर्ती सहर भैरहवामा ७ अर्ब बढी लागतमा अन्तर्राष्ट्रिय गौतमबुद्ध बिमानस्थल निर्माण भएको छ । मुआब्जा र अन्य गरी विमानस्थलमा ३५ अर्ब बढी लगानी पुगेको छ । बुटवल–बेलहिया २४ किलोमिटर ६ लेन सडक निर्माण भएको छ । त्यसमा झण्डै ८ अर्ब रुपैयाँ खर्च भएको छ । पर्यटन र औद्योगिक क्षेत्रको विकासमा सहयोग पुग्ने गरी २१ किलोमिटर लामो बेलबास बेथरी सडक निर्माण पनि तिब्र छ । यो सडकमा झण्डै २ अर्ब लागत खर्च हुनेछ । सडक आयोजनाका अनुसार यो सडक पनि बिचमा नहर त्यसको किनारमा रुख र नहरको दुवैतर्पm २–२ लेनका सडक हुने छन् । झण्डै १७ अर्बमा बुटवल नारायणगढ सडक विस्तार पनि जारी छ । ६ अर्ब बढीको लुम्बिनी गुरु योजना संचालनमै छ ।
झण्डै ३ अर्ब लागतको भैरहवा लुम्बिनी ४ लेन सडक निर्माण भएको छ । लुम्बिनी तौलिहवा सडक निर्माण सकिएको छ । १ अर्ब बढी लागतमा बुद्धको मावली गाउँ देवदहबाट शिवपुर, मणिग्राम, तिनाउ, मोतिपुर, फर्साटिकर, मानमटेरिया, सूर्यपूरा हुँदै लुम्बिनी जोड्ने ४२ किलोमिटर सडक निर्माण सकिएको छ । २ अर्ब बढीको लागतमा बुटवलमा अन्तर्राष्ट्रिय मापदण्डको सम्मेलन केन्द्र र प्रदर्शनी स्थल बनेका छन् । पूर्वाधारका अधिकांश योजना पूर्व अर्थमन्त्रीको हैसियतमा विष्णु पौडेलले सुरु गरेका थिए । अबको बुटवल परिवर्तनशिल पुस्ताका लागि अवसर, रोजगारी र समृृद्धिसहितको सहर हुने र त्यसले सिंगो लुम्बिनी प्रदेशको आर्थिक, सांस्कृतिक, सामाजिक रुपान्तरणको नेतृत्व गर्ने गरी विकास हुने उनले बताए । बुटवलमा सवा अर्बमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ ।
रुपन्देही: पूर्वाधारमा सरकारको ४५ अर्ब लगानी
विमानस्थल, सडक र सम्मेलन केन्द्र बने, सञ्चालनमा आउन सके कायापलट हुने

गौतमबुद्ध सन्देश








