विष्णु भट्टराई
भैरहवा ।
नेपालको प्रवेशद्धार हो, रुपन्देहीको सिद्धार्थनगर । देशकै प्रमुख भन्सारनाका रहेको यो नगरपालिका आधुनिक सहरको रुपमा विस्तार हुँदैछ । उद्योग व्यापार फस्टाएका छन् । पुर्वाधार विकास तिब्र गतीमा भइरहेको छ । नगर चलायमान बन्दै जाँदा सिद्धार्थनगर नगरपालिकालाई ‘सफा’, ‘हरियाली’ र ‘वातावरणमैत्री’ युक्त देशकै नमुना शहर बनाउने अभियान नगरपालिकाको छ । आर्थिक, पर्यटकीय र व्यापारीक गतीविधिमा तिब्रता आउँदा सवारीका साधन थपिएका छन् । तिनै सवारीका साधन पार्किङ्गमा भने समस्या देखिएको छ ।
नगर क्षेत्रमा व्यवस्थीत पार्किङ्ग स्थलको अभाव छ । सवारीसाधनहरु सडकमै पार्किङ्ग हुँदा दुर्घटनाको जोखीम उत्र्तीकै छ ।बढ्दो यातायातको चापले ट्राफिक जाम हुने, पसल अगाडी पार्किङ्ग हुँदा किनमेलमा समस्या हुने, गाडी गुड्ने सडक ओगटेर पार्किङ्ग हुँदा सडक साघुरो भई यातायात संचालन तथा पैदल यात्रीलाई हिडडुलमा कठीनाई व्यहोर्नु परेको छ । स्थानीय नारायण कोइराला सवारी पार्किङ्गलाई व्यवस्थीत गर्न नसके भविष्यमा ठूलो समस्याको रुपमा देखापर्ने बताउँदछन् । उनी भन्छन्, ‘अहिले सडकको एकतर्फ पार्किङ्गको लागी प्रयोग भइरहेको छ, तर यो दिगो व्यवस्थापन होइन, सवारीको चाँप बढ्दै जादाँ सडकले थेग्न सक्दैन ।’ समस्या बल्झीएपछि समाधान तर्फ लाग्नु भन्दा पहिलेनै सवारी पार्किङ्गको मापदण्ड कार्यान्वयन गर्नुपर्ने उनको सुझाब छ ।
अव्यवस्थीत सवारी पार्किङ्गले दुर्घटनाको जोखीम बढाएको छ । भैरहवाको बुद्धचोकमा स्टेशनरी व्यवसाय गर्दै आएका कृष्ण खनालले सर्विस लेनमा अटो/टेम्पोहरु पार्किङ्ग र चालकहरुले जथाभावी यात्रुहरु तान्ने प्रवृतिले दैनिकजसो सानातिना दुर्घटनाहरु हुने गरेको बताए । उनी भन्छन्–‘बस स्टप नजिक अटो चालकहरुको तछाडमछाड नै देखिन्छ, जसले गर्दा अन्य सवारीसाधन आवतजावतमा समस्या छ ।’ सवारी साधनको पार्किङ्ग समस्यालाई दिगो रुपमा सम्बन्धीत निकायले समाधान गर्नुपर्ने उनको भनाइ छ ।
अटोरिक्सा व्यवसायीहरुको गुनासो अर्कै छ । पार्किङ्गको निश्चीत स्थान नभएको कारण समस्या भोगेको उनीहरु बताउछन् । ७ बर्षदेखि अटो रिक्सा चलाउँदै आएका सन्तवली पासी भन्छन्, ‘हामी अटोरिक्सा चालक यात्रुहरु जहाँ भेटिन्छन् त्यही जाने हो । तर, बाटोमा पार्किङ्ग गर्दा कहिलेकाही ट्राफिक प्रहरीले फाइन काट्ने गरेको छ ।’ अटो तथा रिक्साहरुलाई सम्बन्धीत निकायले व्यवस्थीत रुपमा चलाउने वातावरण मिलाउनुपर्ने उनले बताए ।
तिन पांग्रे सवारीसाधनलाई व्यवस्थीत गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले २०७८ सालमा कार्यविधि बनाएको थियो । कार्यविधि अनुसार नगरमा सञ्चालीत ईरिक्सा/अटोहरुले नगरपालिकाबाट संचालन अनुमती लिनुपर्ने थियो । त्यसका लागि सवारी दर्ता, चालक अनुमती पत्र र स्थानीय हुनुपर्ने मुख्य बुँदा उल्लेख गरिएको थियो । कार्यविधिमा संचालन अनुमति, रुट अनुमति पत्र, नविकरण, भाडादर निर्धारण, सवारी धनी तथा चालकका लागी राहत कोषको व्यवस्था लगायतका विषयहरु समावेस गरिएको थियो । अन्य विषयहरुमा सहमत भएका व्यवसायीहरु अन्यत्र दर्ता भएका सवारी साधन नगर क्षेत्रमा सञ्चालनमा रोक लगाउने विषयमा भने सहमत हुन सकेनन् । नगरबाहिरका व्यवसायीहरुले आन्दोलनकै घोषणा गरेर पटक पटक नगरपालिकामा धर्ना समेत दिए ।
यता, सिद्धार्थनगर नगरपालिकाले नगरको सुन्दरीकरण गर्नका लागि भन्दै ई–रिक्सा, ठेला व्यवस्थापन गर्न खोज्दा आफ्नो अधिकार र व्यवसायमा धक्का लागेको बताउँदैै व्यवसायीहरुले चरणबद्ध आन्दोलन गरे । उनीहरुले भाडादरको समस्या, बाटोरुटको समस्या, करमा समस्या, सडक दुर्घटनाका कुरा, नविकरणमा देखिएको समस्यालगायतका विषयमा समाधानको बाटो खोज्न नगरपालिकामा माग राखे । विवादकै विचमा केही लचीलो बनेर भएपनी समाधान तर्फ लाग्ने नगरपालिकाले प्रयास थालेको छ । त्यही प्रयासले अहिले सार्थकता पाउँदै गएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापा भन्छन्– ‘ स्थानीय सरकार सञ्चालन ऐन अनुसार अधिकार प्रयोग गरी कार्यविधि बनायौ तर कार्यान्वयनमै सकस भयो, अहिले कार्यान्वयनको चरणमा छौ । ’ सिद्धार्थनगरको एक्लो प्रयासले समाधान नभएपछि छिमेकी पालिकाहरुको समन्वय बैठक बसेर समाधान निकाल्ने प्रयास गरेको थापाले बताए । प्रमुख जिल्ला अधिकारीको रोहवरमा सियारी, मायादेवी, रोहिणी र ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा समिति, कर्मचारी र सरोकारवालाहरुको पटक पटक बसेको बैठकले समाधान दिएको उनको भनाइ छ ।
अहिले सिद्धार्थनगर नगरपालिकामा ४ सय ७३ वटा रिक्सा संचालन अनुमती लिई संचालनमा रहेका छन् । दोस्रो चरण अन्र्तगत १ सय ८८ वटा निवेदन आएको छ । छिमेकी पालीकाहरुले पनि रिक्सा संचालन अनुमतीका लागी दर्ता खुल्ला गरेका छन् । प्रमुख प्रशाशकिय अधिकृत थापाका अनुसार पहिलो चरणमा दर्ता, अभिमुखीकरण, रुट अनुमतीको काम भएको छ । दोस्रो चरण अन्र्तगत सवारी साधनहरुको संचालन व्यवस्थापन तथा भाडा निर्धारण र नियमनका विषयमा गठीत समितिले काम गरिरहेको छ । यसबारे छिट्टै कार्यपालिकाबाट निर्णय हुने उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाले स–शुल्क निजि सवारी पाकिङ्ग स्थल संचालन मापदण्ड, २०७९ र ठेला व्यवस्थापन कार्यविधि २०७९ पनि बनाएको छ । सडकमा सवारीसाधनको पाकिङ्गले गर्दा नागरिकहरुलाई परेको अवरोध तथा सो बाट उत्पन्न हुने दुर्घटनाबाट बच्नका लागी मापदण्ड बनाइएको हो । व्यापार व्यवसायमा समेत परेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्नका लागी निजि क्षेत्रको सहभागीतामा स–शुल्क रुपमा सवारी पार्किङ्ग स्थान संचालन गर्नका लागी मापदण्ड जारी गरिएको प्रस्तावनामा उल्लेख छ । सवारी पार्किङ्ग स्थल संचालन भएपछि सडक खुल्ला हुने, सामानहरु खरिद गर्न आउने मानिसहरुका लागि हिडडुल गर्न पाउँने भई व्यापार व्यवसायमा वृद्धि हुने, सडक दुर्घटनामा न्युनिकरण हुने उल्लेख गरिएको छ । त्यस्तै नगरको सौन्र्दयतामा वृद्धि हुने, सडक सूचना पाटि÷ट्राफिक चिन्हहरु देखिने, नगरक्षेत्रमा रहेका सडकहरु सरसफाईमा सहज हुने, व्यवसायका लागि उपर्युक्त स्थानको विकास हुने, नगरको सडक सुरक्षित रहने तथा सवारी साधन हराउने घटनामा कमी आउने ’ उल्लेख छ । त्यस्तै, नगरक्षेत्रमा तोकिएको स्थान, समय र संख्यामा मात्र ठेला व्यवसाय संचालन गर्नका लागि समेत मापदण्ड बनाइएको छ ।
२०७९ सालमा नयाँ जनप्रतिनिधि आएपछि सिद्धार्थनगरलाई हरियाली र व्यवस्थीत नगर बनाउने अभियान अभियानका रुपमा अगाडि बढेको छ । यद्यपि साघुँरो सडक हुनु, खुल्ला स्थान नहुनु, सार्वजनीक जग्गाको अभाव हुनुले मापदण्ड अनुसार पार्किङ्ग व्यवस्थापन र ठेला व्यवस्थापनमा चुनौती देखिएको उपप्रमुख उमा अधिकारी बताउछिन् । ‘अहिले सडकको एकातर्फ मार्किङ्ग गरि सवारी पार्किङ्गको व्यवस्था गरेका छौ, ठेला व्यवसायीको लागी नगरको दुई स्थानमा अनुमती दिएका छौ ।’ उपप्रमुख अधिकारीले भनिन्, ‘जसरी हुन्छ हामी सवारीको व्यवस्थित पार्किङ्ग गराउने गृहकार्यमा छौं ।’ नगर उपप्रमुखका भनाइमा अहिले सवारी पार्किङ्गका विषयमा सम्बन्धीत व्यवसायीहरुसँग छलफल भइरहेको छ । व्यवस्थापनका लागी गठीत समितिले समेत अध्ययन गरिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही प्रमुख रन्जु केसीले सिद्धार्थनगरमा मात्र नभइ अटोरिक्सा र पार्किङ्गको समस्या जिल्ला भरीनै देखिएको बताइन् । अटोरिक्साको हकमा सवारी चालक अनुमती पत्र र विलबुकको चेकजाँच गर्ने काम भइरहेको उनले जानकारी दिइन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही प्रमुख केसीले सुझाब दिइन् ‘अव्यवस्थीत सवारी पार्किङ्ग सिद्धार्थनगरको मात्र समस्या होइन । बजारीकरण हुदै गरेका आसपासमा स्थानीय तहको पनि समस्या हो । यसमा मिलेरै समाधान गर्नुपर्छ ।’









