काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयलाई तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही गरिने व्यहोराको पत्र पठाएको छ ।
उक्त पत्रमा त्यसो नगरिए सेवा सुविधा बापतको रकम असुलउपर गर्ने विषयसमेत समेटिएको छ । सरुवा भएर पनि कर्मचारीहरुलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासोपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न पहल थालेका थिए । त्यसलगत्तै सचिवस्तरीय निर्णयको ब्यहोरासहितको यस्तो पत्र काटिएको हो ।
स्वास्थ्य सेवामा आफ्नो दरबन्दीभन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सम्बोधन गर्न भन्दै मन्त्रालयले यस्तो पहल चालेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए ।











