पूर्र्वी नवलपरासीको ‘धौवादी फलाम खानीले नेपाललाई सय वर्ष पुग्ने फलाम दिने प्रक्षेपण बिज्ञहरुले गरेका छन् । यो फलाम खानी देशको आर्थिक आत्मनिर्भरता र औद्योगिकीकरणतर्फको सपना पनि हो । यसलाई देशले छिटोभन्दा छिटो उपभोग गर्न सक्नुपर्छ । यो फलाम खानीको महत्व बुझेर राज्यले पहलकदमी गर्नैपर्छ । धौवादीमा फलाम खानी छ भन्ने कुरा धेरै अगाडि स्थानीय बासिन्दाले नै पत्ता लगाएका हुन् । पछि सरकारले यसको प्राविधिक सम्भाव्यता पनि प्रमाणित भइसकेको छ । चीनमा गरिएको नमुना परीक्षणले यहाँ फलामको ठूलो खानी रहेको कुरालाई बलियो आधार दिएको छ । सरकारले बर्षेनी बजेट वक्तब्यमा यसलाई उच्च प्राथमिकता दिएको घोषणा गर्दै आएको छ र ‘धौवादी फलाम कम्पनी लिमिटेड’ नै स्थापना गरिसकेको छ । अहिले मुलुकले वार्षिक २७ लाख टन फलामजन्य वस्तु आयात गर्छ । त्यसलाई प्रतिस्थापन गर्न धौवादीको फलामले गर्न सक्छ ।
हाम्रा लागि व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन पनि महत्वपूर्ण मानिन्छ । यो फलाम खानीले आयातको एक चौथाइ हिस्सा प्रतिस्थापन गर्न सक्छ । त्यतिले मात्रै पनि हजारौं रोजगारी सिर्जना हुन सक्छ र अर्थतन्त्रका लागि ठूलो योगदान। सम्भावनामात्रै महत्त्वपूर्ण होइन। महत्वपूर्ण कार्यान्वयन हो । प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्रीहरुले चासो दिइरहेका हुन्छन् तर परियोजनाको गति निकै सुस्त छ । विस्तृत परियोजना रिपोर्ट (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) जस्ता महत्वपूर्ण प्राविधिक काम अझै सुरुआती चरणमा छन् । सार्वजनिक–निजी साझेदारी (पीपीपी)को ढाँचामा नि अन्योल छ । लगानी सुनिश्चित भएको छैन । अरू त अरू खानीसम्म पुग्ने सडक र विद्युत् प्रसारण लाइनजस्ता आधारभूत पूर्वाधार निर्माण भएको छैन । लगानीको मोडालिटी छिटोभन्दा छिटो टुंग्याएर पूर्वाधार निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउने भने पक्कै पनि आशा जाग्छ । धौवादी फलाम खानी परियोजनाको सफलता अब राजनीतिक भाषणले प्राप्त हुँदैन । यसलाई नतिजामा बदल्न सरकार नै तात्नुपर्छ । फलाम केवल एक खनिज स्रोतमात्र होइन, यो हाम्रो राष्ट्रिय क्षमता, व्यवस्थापकीय कुशलता र विकासप्रतिको प्रतिबद्धताको परीक्षा पनि हो । -सम्पादकीय









