नेपाली संस्कृति–संस्कारमा विवाह संस्कार

षोडश संस्कारमध्ये विवाह १५ औं संस्कार हो । यो संस्कार समाज विकास र सभ्यताको मूल आधार हो ।
विजय सागर
परापूर्वकालदेखि नै हिमाल, पहाड र तराई भएको प्रकृतिको हराभरा मनोरम हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको छ । पूर्व–पश्चिम लामो र उत्तर दक्षिण छोटो चौडाइ रहेको हाम्रो देश पूर्व, पश्चिम र दक्षिण भारतबाट र उत्तर चीन स्वशासित क्षेत्र तिब्बतबाट भूपरिवेस्थित छ । हाम्रो देशको क्षेत्रफल ५६,८१२ वर्गमाइल छ ।
हाम्रो देशमा वि.सं. २००७ साल अघिसम्म बौद्ध धर्मबाहेक शैव धर्म, वैष्णव धर्म, शाक्त धर्म आदि धर्महरूलाई वैदिक सनातन धर्म भनी सम्बोधन गरिन्थ्यो । तर २००७ सालको क्रान्तिपछि भारतीय धर्माधिकारीहरुको प्रभावले हाम्रो देशमा वैदिक सनातन धर्मलाई हिन्दू धर्म भनी नामाकरण गरियो ।
प्राचीनकालको इतिहास केलाउँदा यस सुन्दर देश नेपालमा गोपालवंशी र महिषपालवंशी शासकहरूपछि किरातवंशी शासकहरूले लामो समयसम्म शासन गरे । किरातपछि लिच्छविहरूले शासन गरे । लिच्छविपछि ठकुरी वंशको अभ्युदय भयो । ठकुरी वंशपछि मल्लवंशको उदय भयो । मल्लवंशपछि शाहवंशको शासन नेपालमा २४० वर्षसम्म निरन्तर चलिरह्यो । वि.सं. २०६५ देखि नेपाल गणतन्त्रात्मक, धर्मनिरपेक्ष राज्य भयो ।
यसरी शताब्दीयौदेखि हाम्रो देशमा विभिन्न जातजातिका शासकहरूले शासन गरेका हुँदा त्यसको असर देशबासीका संस्कृति र संस्कारमा पर्नु स्वभाविकै हो । पछिल्लो समय शाहवंशको शासनकाल निरन्तर २४० वर्ष चलेको हो र त्यही समयावधिमा विश्व मानचित्रमा रहेका कयौं देशहरू विलाउने, साँघुरिने र पैmलिने तथ्य अत्यधिक भएका हुन् । वि.सं. १८७१–७२ को युद्धपछि वि.सं. १८७२ मा व्रिटिस भारत र नेपालले गरेका सुगौली सन्धि अनुरूप नेपालले पूर्व–पश्चिम र दक्षिण गरी ४० हजार वर्गमाइलको विशाल भूभाग व्रिटिस भारतलाई सुम्पनु परेको तथ्य हामी नेपालीले कहिल्यै बिर्सन सक्दैनौं ।
हिन्दू मान्यता अनुरूप आर्यावर्तमा रहेको हाम्रो देशमा आर्यद्विज जातिको बोलबालाको कारण अन्य धर्म जातिका संस्कृति र संस्कारमाथि आर्य संस्कृति र संस्कारको छायाँ पर्नु स्वभाविकै हो । त्यसैले यो सानो लेखमा हाम्रो देशमा ऐतिहासिक कालदेखि परम्परागत रूपमा चलि आइरहेको आर्य संस्कार अर्थात षोडश संस्कार (१) गर्भाधान संस्कार (२) पुंसवन संस्कार (३) सीमन्तोनयन संस्कार (४)जातकर्म संस्कार (५) नामकरण संस्कार (६) निस्व्रmमण संस्कार (७) अन्नप्राशन संस्कार (८) चूडाकर्म संस्कार (९) कर्णवेध संस्कार (१०) उपनयन (ब्रतबन्ध) संस्कार (११)विद्यारम्भ संस्कार (१२) वेदारम्भ संस्कार (१३)केशान्त संस्कार (१४) समावर्तन संस्कार (१५) विवाह संस्कार र (१६) अन्त्यष्टि संस्कारहरू मध्ये विवाह संस्कारको अति सङ्क्षिप्त रूपमा विवेचना गर्ने प्रयास गरिएको छ ।
विवाह संस्कार
षोडश संस्कारमध्ये यो १५ औं संस्कार हो । विवाह संस्कार समाज विकास र सभ्यताको मूल आधार हो । प्राचीनकालमा ऋषि, मुनि तथा आचार्यहरूले मानिसको जीवन (आयु) लाई एकसय वर्षको मानी सम्पूर्ण जीवन (आयु) लाई चार आश्रममा विभाजन गरियो । जस अनुसार (१) ब्रह्मचर्य आश्रम – २५ वर्षसम्म (२) गृहस्थ आश्रम – २६ वर्षदेखि ५० वर्षसम्म (३) वानप्रस्थ आश्रम – ५१ वर्षदेखि ७५ वर्षसम्म र (४) सन्यास आश्रम – ७६ वर्षदेखि १०० वर्षसम्म ।
उपनयनपछि गुरुकुलमा रहि विद्याध्ययन गरी स्नातक गरेर घर फर्कंदा करिब २५ वर्षको उमेर हुने र २५ वर्षपछि गृहस्थाश्रममा प्रवेश गरी उर्जामूलक गृहस्थ जीवनको प्रारम्भको निम्ति विवाह अनिवार्य भएको हो । दुई विपरीत लिङ्गीलाई विवाहद्वारा एक सूत्रमा बाँधिने भएकोले यसलाई विवाह संस्कार नामकरण गरिएको हो । विवाह सम्झौता नभएर यो एक पवित्र बन्धन वा सम्झौता हो । प्राचीनकालमा पनि युवा युवतीमा परिपक्वता आएपछि नै वैवाहिक कार्य सम्पन्न हुने गर्दथ्यो । यद्यपि वर वधुको योग्यता हेर्ने बुझ्ने चलन थियो ।
तर पछि क्रमशः बाल–विवाहको कुप्रथा हिन्दू समाजमा शुरु भयो र अभिभावकहरू नै विवाहका निर्णायक भए । यस समयमा युवतीलाई जति सानो उमेरमा विवाह ग¥यो, उति पुण्य प्राप्त हुने धारणा आइसकेको थियो । यसले पछिको समयलाई एकनास असर पारिरह्यो र समाजमा बाल–विवाहले पछिसम्म मान्यता पाइरह्यो । फलतः स्मृतिकालमा नागनिका (नाङ्गी), गौरी (आठवर्षे), रोहिणी (नौ वर्षे), कन्या (दश वर्षे) र रजस्वला (एघार वर्ष माथिका) बालिकाहरूमध्ये नागनिकालाई विवाहका लागि उत्तम ठानियो, यद्यपि सबै स्मृतिकारहरू यसमा सहमत छ्रैनन् (खत्री, २०६० ः १३५ – १३६) ।
यस्तै विश्वासको आधारमा नेवाः परम्परामा पनि रजस्वला हुनुअघि ३, ५, ७, ९ र ११ वर्षका कन्याहरूको विदेह सुवर्णकुमार (नारायण) सँग विवाह गर्ने “इहि” प्रथा चल्यो । इहि पछि बाह्रा (गुफा) राखेपछि बल्ल देहधारी पुरुषसँग विवाह गरिने प्रचलन चल्यो ।
मगर जातिमा प्रायः आफ्नो दिदी–बैनीको छोरालाई छोरी दिने र मामाको छोरीलाई विवाह गर्ने गर्दछन् । यसलाई “मामा चेली र फुपू चेली” विवाह भनिन्छ । नेपालको उत्तरी भागमा कसै कसैले फुपूकी छोरी पनि विवाह गर्ने गर्दछन् । तर तनहुँ, स्याङ्जा र पाल्पाका मगरहरूमा यस्तो किसिमको फुपू चेली र मामा चेलो विवाहको प्रचलन पाइँदैन । मगर समाजमा विधवा र विदूर, मगनी, प्रेम, जारी र सारी विवाह प्रचलनमा भएको पाइन्छ । विवाहको रूपलाई ओधान्या र लगन्या गरी दुई भागमा विभाजन गरिएको छ । मगनी विवाहबाहेक अरु विवाहलाई ओधान्या विवाह भनिन्छ । मगनी विवाहलाई लगन्या विवाह भनिन्छ (बराल मगर, २०६८ ः ६४) ।
गुरुङ जातिको विवाह गर्ने विधिहरूमा मगनी विवाह, प्रेम विवाह, जबरजस्ती विवाह, जारी विवाह, विदूर र विधवा विवाह उल्लेख गर्न सकिन्छ तापनि बढी प्रचलनमा भएको विवाह भने विधिवत मगनी गरी गर्ने विवाह र प्रेम विवाह नै हुन् (थकाली, (गुरुङ) २०६७ ः १२७) । सामान्यतः गुरुङ परम्परामा मामा–फुपूचेली ९ऋचयकक(ऋयगकष्ल० विवाह बढी प्रचलित छ (खत्री, २०६० ः २२१) ।
थकाली जातिमा मामा चेला फुपूचेली विवाह प्रचलन छ । जुन प्रथा वर्तमान समयमा कम हुँदै आएको छ । थकालीहरूमा मागी विवाह, भागी विवाह र प्रेम विवाह प्रचलनमा आएको पाइन्छ । जुनसुकै प्रकारको विवाह गरेको भए पनि केटा वा केटी पक्षका आमा बाबुले स्वीकार नगरेसम्म सामाजिक रूपमा त्यो विवाहले मान्यता पाउँदैन (शेरचन, २०७३ ः ९२) ।
प्राचीन समयमा अर्थात महाभारत कालसम्म ८ प्रकारका विवाह प्रचलनमा थिए –
१. ब्राह्म विवाह – सजातीय तर भिन्न गोत्रका सुशील कुमारलाई पूजा सत्कार गरेर विधिपूर्वक कन्यादान गरिने विवाह ।
२. दैव विवाह – प्राचीनकालमा यज्ञको ठूलो महत्व थियो । यज्ञमा निम्ताइएका पुरोहितहरूमध्ये ‘वर’ रोजेर बाबु आमाद्वारा कन्यादान गरिने विवाह ।
३. आर्ष विवाह – एक वा दुई गाई–गोरु वरबाट लिएर आफ्नी कन्या कन्यादान गरिने विवाह ।
४. प्रजापत्य विवाह – व्याउला स्वयं कन्याको घर गएर कन्याका बाबु आमासँग कन्याको माग गरी विधिपूर्वक गरिने विवाह ।
५. आसुरी विवाह – कन्याका बाबु आमालाई पैसा दिएर कन्यादान गराई लिने विवाह ।
६. गन्धर्व विवाह – अभिभावकहरूको अनुमति वेगर केटा र केटीको एक आपसको राजीखुशीले गरिने विवाह ।
७. राक्षस विवाह – कन्या वा कन्याका बाबु आमा कसैको अनुमति बिना कन्यालाई हरेर लगेर गरिने विवाह ।
८. पैशाची विवाह – मस्त निन्द्रामा सुति रहेकी कन्या वा मादक पदार्थ सेवन गराई होस ठेगान नभएकी कन्यालाई जबरजस्ती बलात्कार गरी गरिने विवाह ।
समयकाल परिस्थितिले माथि उल्लेख गरिएका विवाह पद्दतिमध्ये कयौं हराई सकेका छन् । अब मागी विवाह र भागी विवाह प्रचलनमा रहेका छन् ।
विवाह संस्कार मान्छेको जीवनको अत्यन्त महत्वपूर्ण संस्कार हो । विवाहपछि दुई शरीर एक प्राण हुन्छन् । एक अर्काप्रति विशुद्ध विश्वास, स्नेह, करुणा र आत्मियता सफल वैवाहिक जीवनका आधार  हुन् । जब विश्वास, स्नेह, करुणा र आत्मियतामा तल माथि पर्न थाल्यो भने वैवाहिक “जीवन डुङ्गा” ढलफल हुन थाल्दछ । यो अवस्थामा दुवैको एकआपसमा समन्वयकारी भूमिका राम्रो भएन भने डुङ्गा डुब्छ । अर्थात वैवाहिक जीवनमा सम्बन्धविच्छेद जस्ता अप्रिय घट्ना पनि घट्छन् ।
हिजो आज सबै जातजातिका सम्बन्धविच्छेद अदालतबाट हुने पैmसलाले मात्र मान्यता पाउने गरेको छ । तर सामान्य जानकारीको निम्ति साविकमा नेवाः जाति, मगर जाति र गुरुङ जातिहरुमा हुने गरेका सम्बन्धपिच्छेदका अनौठा रीति रिवाजबारे उल्लेख गरिएको छ ।
नेवा ः जाति – यो जातिमा विवाह संस्कार अन्तरगत केटा र केटी पक्ष दुवैले एक अर्काको विषयमा राम्रोसँग बुझेर चित्त बुझेपछि मात्र विवाहको कुरो पक्का गर्दछन् । कुरा पक्का भइसकेपछि केटा पक्षबाट केटी पक्षको घरमा विभिन्न सगुनका साथ एक राम्रो कपडाको थैलोमा १० थान सुपारी पठाइदिन्छन् । केटी पक्षधरले सुपारी बुझि लिएपछि कन्या अब केटा पक्षको घरकी बुहारी जस्तै हुन्छे र माइती पक्षको निम्ति विवाह हुने केटो पनि ज्वाइँ सरह हुन्छन् । यसरी विवाह संस्कार सम्पन्न भई सकेपछि कथंकदाचित केटा र केटीमा कुनै पनि तरिकाले समन्वय भएन र मेल मिलाप गराउनै सकिएन भने केटीले केटा पक्षबाट आपूmलाई पहिला सगुनको साथ पठाइएको १० वटा सुपारी केटालाई फिर्ता दिएपछि पारपाचुके (सम्बन्ध विच्छेद) भएको मानिने परम्परा कायम थियो ।
मगर जाति – लोग्नेलाई स्वास्नी मन नपरेमा र लोग्ने स्वास्नीको मनमुटाव भएमा सम्बन्धविच्छेद गर्न सकिन्छ । सम्बन्ध विच्छेद परम्परादेखि चलिआएको विधि अनुसार गर्ने गर्दछन् । पाल्पाका मगरहरूले सम्बन्धविच्छेद गर्दा माइतीहरू र केटाको घरतर्पmका भलाद्मीहरू कचहरिमा बस्दछन् । कचहरिमा कसले उपेक्षा गरेको र कसले सम्बन्धविच्छेद गर्न चाहेको हो, त्यसको निदान गरिन्छ । सम्बन्ध विच्छेद गर्न चाहेको पक्षले हर्जाना तिर्नुपर्दछ । यदि पत्नीले सम्बन्धविच्छेद गर्न चाहेमा “टोपी–भरौनी” र पतिले सम्बन्ध विच्छेद गर्न चाहेमा “फाँडो–भरौनी” दिने गर्दछन् । कचहरिले नै “टोपी र फाँडो” भरौनी कति दिनु पर्दछ त्यसको निर्णय गर्दछ । निर्णयपछि “टोपी या फाँडो” लिने दिने गरिन्छ । पति र पत्नीले सिन्का धागो दुवै छेउमा समातेर चुँडाल्ने गर्दछन् । सिन्का र धागो चुँडालेपछि पति र पत्नीको सम्बन्धविच्छेद भएको मानिन्छ । यस्तो सिन्का र धागो चुँडालेर सम्बन्धबिच्छेद गर्नुलाई “सिन्का धागो भराके” भनिन्छ । तर तनहुँको भीरकोट, घिरिङमा सिन्का धागो भराकेलाई “सिकिपार” भन्ने गर्दछन् । सुदूरपश्चिमाञ्चलमा एउटा ढुङ्गालाई धर्म ढुङ्गा मानी एउटै धागोलाई लोग्ने स्वास्नीले समाईबीचबाट चुँडाली सम्बन्ध विच्छेद गर्दछन् (बराल मगर, २०६८ ः ७८ – ७९) ।
गुरुङ जाति – पारपाचुके वा सम्बन्ध विच्छेद गर्ने कर्म सिन्को पाङ्ग्रो हो । यसलाई सिन्गुपार पनि भनिन्छ । भलाद्मीहरू बसेर पारपाचुकेका शर्तहरू तय भएपछि लोग्ने स्वास्नी र भलाद्मीहरू दोबाटोमा जान्छन् । त्यसपछि यदि स्वास्नीबाट पारपाचुकेको कुरा पहिले आएको भए स्वास्नीले एउटा सिन्कोलाई दुई टुक्रा पारेर भाँच्दछे र सिन्काको एउटा टुव्रmा आफुले राखेर सिन्काको अर्को टुक्रा लोग्नेतिर फाल्दछे । त्यसपछि लोग्नेले एउटा पाङ्ग्रो फोरेर पाङ्ग्राको एउटा दिउलि आपूmसँग राखेर पाङ्ग्राको एउटा दिउलि स्वास्नीतिर फालिदिन्छ । यसै गरी लोग्नेतिरबाट पारपाचुकेको कुरा पहिला आएको भए लोग्नेले एउटा पाङ्ग्रा फोरेर पाङ्ग्राको एउटा दिउलि आपूmले राखी पाङ्ग्राको एउटा दिउलि स्वास्नीतिर फालिदिन्छ । त्यसपछि स्वास्नीले एउटा सिन्को भाँचेर दुई टुव्रmा पारी सिन्काको एउटा टुक्रा आपूmले राखेर सिन्काको एउटा टुव्रmा लोग्नेतिर फालिदिन्छे । सिन्को लिङ्गको प्रतीक हो । अतः लिङ्ग विच्छेदको सङ्केतको लागि स्वास्नीले सिन्को भाँचेर दुई टुक्रा पारी एक टुव्रmा सिन्को लोग्नेतिर फालेर एक टुक्रा सिन्को आपूmसँग राखेको हो । यसै गरी पाङ्ग्रा योनीको प्रतिक हो । अतः योनी बिच्छेदको संकेतको लागि लोग्नेले पाङ्ग्रोलाई दुई कप्टेरा पारेर फोरी पाङ्ग्राको एउटा दिउलि आपूmसँग राखेर एउटा दिउलि स्वास्नीतिर फालेको हो । अब हाम्रो बाटो छुट्टियो र आ–आफ्नो अलगअलग बाटो भयो भन्ने देखाउनको लागि दोबाटोमा गएर सिन्को पाङ्ग्रो गरी पारपाचुके गरिएको हो । यसरी गुरुङहरूको सिन्को पाङ्ग्रो परमपराले आदिवासीहरूको आदिम प्रचलनलाई राम्ररी प्रस्तुत गर्दछ (गुरुङ कहाँगी लामा, २०७२ ः ८ – ९) ।
सन्दर्भ सूची
अर्याल, कृष्णराज (२०६२), नेपाली संस्कृति सङक्षिप्त झलक, काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
खत्री, प्रेमकुमार (२०६०), नेपालमा धार्मिक मत र सामाजिक संरचना, काठमाडौँ ः एम.के. पब्लिशर्स एण्ड डिष्ट्रीब्युटर्स ।
गुरुङ, कहाँगी लामा, जगमान (२०७२), तमू (गुरुङ) संस्कृतिका प्रमुख विशेषताहरू, तमू ह्युल सुँ ताँ    (वर्ष ७ अंक १), काठमाडौँ ः तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ।
थकाली (गुरुङ), होमा (२०६७), तमु गुरुङ जातिको उत्पत्ति र धर्म – संस्कृति, ललितपुर ः लेखिका स्वयं ।
बराल मगर, केशर जङ्ग (२०६८), पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति, काठमाडौँ ः अस्मिता बुक्स पब्लिसर्स एण्ड डिष्ट्रिव्युटर्स (प्रा.) लि. ।
राजभण्डारी, विनोद (२०६४), गर्भदेखि मरणोपरान्तसम्मको संस्कार, काठमाडौँ ः गीता राजभण्डारी ।
शेरचन, सुशीला (२०७३), थकाली संस्कार र यसको कार्यान्वयनमा उठेका सवालहरू, थासाङ, काठमाडौँ ः थकाली अनुसन्धान केन्द्र ।
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका