भैरहवा । शान्तिका अग्रदूत गौतम बुद्ध को जन्मभूमि लुम्बिनी बाट ‘महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा’ को ऐतिहासिक उद्घाटन हुने भएको छ। अभियानचैत ५ गतेदेखी लुम्बिनिको मायादेवि मन्दिर परिसरबाट पदयात्रा औपचारिक रूपमा सुरु गरिने आयोजकले जनाएका छन्।
“नेपाल चिनौं, नेपाल जगाऔं, नेपाल बनाऔं” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको यो अभियानले देशभरका गाउँ–गाउँ पुगेर जनताको आवाज संकलन गर्ने, इतिहास तथा संस्कृतिको संरक्षण गर्ने र राष्ट्रिय एकताको सन्देश फैलाउने लक्ष्य राखेको छ। अभियानका संयोजक मदन केसी का अनुसार नेपाल केवल भौगोलिक सीमामा सीमित राष्ट्र नभई इतिहास, संस्कृति, संघर्ष र आशाको साझा पहिचान हो। “अहिले पनि धेरै नागरिक राज्यको पहुँचभन्दा टाढा छन्, उनीहरूको आवाज राष्ट्रिय तहसम्म पुर्याउन पदयात्रा आवश्यक छ,” उनले बताए।
पाँच वर्षसम्म सञ्चालन हुने यस पदयात्रामा दैनिक १५ देखि २५ किलोमिटर पैदल यात्रा गरिनेछ। यात्राका क्रममा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद, बसोबास, भिडियो तथा फोटो संकलन र लेखनमार्फत दस्तावेज तयार गरिने जनाइएको छ। यात्रा सातै प्रदेश—लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी—हुँदै दुर्गम गाउँ, ऐतिहासिक स्थल र प्राकृतिक क्षेत्रसम्म पुग्ने लक्ष्य रहेको छ।
अभियानले हिमाल, पहाड र तराईका विभिन्न भूभागमा पुगेर स्थानीय भाषा, संस्कृति, परम्परा र जीवनशैलीको दस्तावेजीकरण गर्नेछ। साथै जनताको समस्या, सम्भावना र जनभावनालाई संकलन गरी अनुसन्धान र अध्ययनमा उपयोग गरिनेछ। यस अभियानलाई राष्ट्र, जनता, इतिहास, ज्ञान र भविष्यका पाँच आधारस्तम्भमा आधारित गरिएको छ भने सत्य, अनुशासन, साहस, अनुसन्धान र राष्ट्रप्रेमलाई मूल मूल्यका रूपमा अघि बढाइने जनाइएको छ।
पदयात्राबाट संकलित सामग्रीका आधारमा ‘नेपाल पदयात्रा डकुमेन्ट्री’, गाउँ–गाउँका कथा समेटिएको पुस्तक तथा अनुसन्धानसम्बन्धी तथ्यांक प्रकाशन गरिने योजना पनि सार्वजनिक गरिएको छ। उद्घाटन कार्यक्रममा सञ्चारकर्मी, बुद्धिजीवी, युवा, अनुसन्धानकर्ता, समाजसेवी तथा देशप्रेमी नागरिकलाई उपस्थित भई समाचार सम्प्रेषण र नैतिक समर्थन गर्न आयोजकले आह्वान गरेको छ। संयोजक केसीले यो यात्रा व्यक्तिगत नभई राष्ट्रिय अभियान भएको उल्लेख गर्दै पाँच वर्षपछि जिम्मेवार नागरिकका रूपमा देशको यथार्थ चित्र प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






