भैरहवा । भैरहवा तेक्वान्दो क्लब र रुपन्देही क्याम्पस को संयुक्त आयोजनामा भैरहवामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका एकसय थान फूल तथा बोटबिरुवा रोपिएको आयोजकले जनाएको छ।
कार्यक्रम क्याम्पस परिसरमा सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा बिरुवा रोप्दै वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपणको महत्त्वबारे जागरण फैलाउने प्रयास गरेका थिए। पछिल्लो समय बढ्दो वातावरणीय प्रदूषण र हरित क्षेत्रको कमीलाई ध्यानमा राख्दै यस्ता कार्यक्रम आवश्यक रहेको वक्ताहरूले बताए।
कार्यक्रममा क्याम्पस प्रमुख मन्जु खनाल को प्रमुख आतिथ्यता रहेको थियो। उहाँले वृक्षारोपणजस्ता कार्यक्रमले वातावरण संरक्षणमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
कार्यक्रम संयोजक बिशाल बस्नेतले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै युवापुस्तालाई वातावरणप्रति जिम्मेवार बनाउन वृक्षारोपणलाई अभियानकै रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो। कार्यक्रम सञ्चालन बसन्तमणि पोखरेलले गर्नुभएको थियो।
भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एकनारायण अर्यालले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई समेत क्लबले प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, तेक्वान्दो प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्याउने भएकाले प्रत्येक व्यक्तिले कम्तीमा एक बिरुवा रोप्नुपर्ने धारणा व्यक्त गरेका थिए।
भैरहवा तेक्वान्दो क्लबका कोषाध्यक्ष दिपक न्यौपानेले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको र आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।






