मर्चवारमा चुनावी ताप: घरदैलोमा २२ उम्मेदवार, मतदाताको रोजाइमा प्रमोद यादव अगाडि

मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने मर्चवारमा यतिबेला चुनावी रस्साकस्सी चर्किएको छ। गाउँ–गाउँ, टोल–टोलमा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र बनेको छ। मतदाताको आँगनमा विभिन्न प्रतिबद्धता पत्र बोकेर नेताहरू पुगिरहेका छन् भने स्थानीय मुद्दा र विकासका एजेन्डा चुनावी बहसको केन्द्र बनेका छन्।

यस क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार प्रमोद कुमार यादव, नेपाली कांग्रेसका आशुतोष मिश्रा, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीका भोपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बानियाँलगायत २२ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबै उम्मेदवारले मर्चवारको खेतमा सिँचाइ व्यवस्था विस्तार, सडक स्तरोन्नति, शिक्षा र स्वास्थ्य सेवामा सुधार जस्ता योजना अघि सारेका छन्।

विकासे एजेन्डालाई प्राथमिकता दिएका उम्मेदवारहरूले मतदाता भेटघाटलाई तीव्रता दिइरहेका छन्। तर, मतदाताको प्रतिक्रियाले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२, मुजहानाका स्थानीय विनयी साहनी उम्मेदवारहरू चुनावको समयमा मात्र देखिने प्रवृत्तिप्रति असन्तुष्ट देखिन्छन्। जेन–जी उमेर समूहका साहनी भन्छन्,
“धेरै उम्मेदवार चुनाव बेला मात्र आउँछन्, अरु बेला अनुहार समेत देखिन्न। सहजै भेटिन सक्ने उम्मेदवार प्रमोद हुन्। अरुलाई भेट्न काठमाडौँ जानुपर्छ। हामीलाई काठमाडौँ बस्ने होइन, भैरहवा–मर्चवारमै भेटिने उम्मेदवार चाहिएको छ।”

साहनीजस्तै रामप्रीत पासवानले पनि विभिन्न उम्मेदवारको कार्यक्रम अवलोकन गर्दा एमालेको चुनावी अभियान प्रभावकारी लागेको बताए।
“मर्चवारको विकास र यहाँका जनताको पक्षमा काम गर्न सक्ने नेता प्रमोद बाबु नै हो। उहाँलाई नै भोट दिने हो,” उनले भने।

उता, विगत तीन दशकदेखि मर्चवारको राजनीतिमा प्रभाव जमाउँदै आएका ‘चिफ साप’ भनेर चिनिने पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाको लोकप्रियतामा कमी आएको संकेत देखिएको छ। पाका पुस्तादेखि नयाँ पुस्तासम्मका मतदाताले यसपटक विकल्प खोजिरहेको चर्चा गाउँमा सुनिन्छ।

रास्वपा उम्मेदवार कन्हैया बानियाँप्रति पनि केही मतदाताले असन्तुष्टि जनाएका छन्। प्रदेश सांसदका रूपमा निर्वाचित भएर क्षेत्रको अपेक्षाअनुसार काम नगरेको र कार्यकाल नसकिँदै राजीनामा दिएको निर्णयलाई स्थानीयले आलोचना गरेका छन्।

त्यसैगरी, कांग्रेस उम्मेदवार आशुतोष मिश्रा काठमाडौँमा बसोबास गर्ने भएकाले स्थानीय समस्यासँग प्रत्यक्ष रूपमा जोडिन नसक्ने आशंका व्यक्त गरिएको छ। दुुईमुहानमा भेटिएकी वृद्धा रामबेलास हरिजन भन्छिन्,
“हाम्रो दुःख–सुख बुझ्ने मान्छे चाहियो। बाहिर बस्ने उम्मेदवारलाई भोट दिनु ठीक हुँदैन।”

मर्चवारमा अहिले चुनावी माहोल तातिएको छ। उम्मेदवारहरू आ–आफ्नो जित सुनिश्चित गर्न रणनीति बनाइरहेका छन् भने मतदाता विकास, पहुँच र उत्तरदायित्वका आधारमा निर्णय लिनेतर्फ देखिन्छन्। आगामी मतदानले मर्चवारको राजनीतिक दिशालाई कता मोड्ने हो, त्यसतर्फ सबैको चासो केन्द्रित भएको छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका