लुम्बिनी यस क्षेत्रको उत्कृष्ठ र लोकप्रिय पर्यटकीय गन्तब्य हो । बर्षेनी झण्डै एक लाख विदेशी पर्यटकले भ्रमण गर्ने लुम्बिनीमा आन्तरिक पर्यटक संख्या निकै बढी छ । तर पर्यटकहरुको आकर्षक गन्तब्य हुँदा पनि यस क्षेत्रमा पर्यटन उद्योगको विकास हुन सकेको छैन । बुद्ध जन्मस्थल लुम्बिनीलाई लक्षित गरी भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको भएपनि यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पर्यटकलक्षित होटल, रेष्टुरेण्टहरुको अवस्था संकटमा छ । लुम्बिनीमा मात्रै बिगत एक बर्षमा झण्डै एक दर्जन होटल बन्द भैसकेका छन् भने अरु पनि निकै दयनीय अवस्थामा छन् । स्थानीय होटल ब्यवसायीहरु थुप्रै होटल बन्द हुने अवस्थामा रहेको बताउँछन् । बैंकबाट कर्जा लिएर ब्यवसाय शुरु गरेका ब्यवसायीहरु किस्ता तिर्न नसकेर हैरानीमा छन् । पर्यटक आउँदैनन्, कर्मचारीलाई तलब दिन धौ धौ छ, त्यसमाथि बैंकको कर्जा । अधिकांश होटल रेष्टुरेन्टको अवस्था यस्तै छ ।
एकातिर होटल ब्यवसाय सुनसान छ भने अर्कातिर लुम्बिनी घुम्न आउने विदेशीहरु अन्तर्राष्ट्रिय बौद्ध विहारहरुमा रहेका गेष्टहाउसमा बस्ने गरेका छन् । बसमा सिधै विहारका गेष्ट हाउसमा जाने र त्यहिबाट फर्किने हुँदा ब्यवसायीले लिने लाभ विहारहरुले लिएका छन् । यसले गर्दा एकातिर ब्यवसायी मर्कामा छन् भने अर्कातिर राज्यले पाउने कर समेत छलिएको छ । यो समस्या दशकौंदेखि उठिरहेको छ, ब्यवसायीले उठाइरहेका छन् । तर राज्यको नीति र लुम्बिनी विकास कोषको उदासिनताले समस्या समाधान हुन सकेको छैन । ब्यवसाय नै धरासायी बनेपछि फेरि लुम्बिनीका होटल ब्यवसायीहरुले बौद्ध विहारमा पर्यटक राख्न रोक लगाउनुपर्ने माग गर्दै लुम्बिनी विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ । ब्यवसायीको समस्या जायज छ, कोषले सुन्नुपर्छ । धर्मका नाममा खोलिएका विहारहरुले पर्यटक राख्न पाउँदैनन् । कहिलेकाहि आउने उनीहरुका पाउनालाई राख्नु स्वभाविकै हो, तर ब्यवसायिक रुपमा गेष्टहाउस चलाउन छुट दिइनु हुँदैन । पर्यटन ब्यवसायीलाई बचाउनु कोष र सरकारको पनि दायित्व हो । यो बिषयलाई ब्यवसायीले बर्षौदेखि उठाउँदै आएको भएपनि सुनुवाई हुन सकेको छैन । कोषले विहारका गेष्टहाउसमा निश्चित बौद्ध भिक्षुहरुलाई बाहेक अन्यलाई ब्यवसायिक रुपमा बस्न नपाउने नीति बनाओस् । सधैंभरि यो बिषय उठाइरहनु भन्दा ब्यवसायीले पनि पार लगाएरै छाडुन । ज्ञापनपत्र दिने, दुई चार दिनपछि आफै सुस्ताउने होइन कि नीति नै बनाउन दवाव दिने काम होटल ब्यवसायीले गरुन् । ब्यवसायी पाहुना नपाएर मर्ने विहारहरुले ब्यापार गर्ने अवस्था अन्त्य होस् । (सम्पादकीय)









