न्यायिक समितिको काम प्रभावकारी

गौतमबुद्ध सन्देश
भैरहवा, १८ वैशाख ।

सिद्धार्थनगर नगरपालिकाको न्यायिक समितिले गरेको काम प्रभावकारी भएको अनुगमन समितिले जनाएको छ । मंगलबार अनुगमनमा पुगेको जिल्ला अदालत रुपन्देहीको टोलीले अन्य स्थानीय तहका समितिभन्दा सिद्धार्थनगरमा कामकारबाही व्यवस्थित रहेको जनाएको हो । न्यायिक समितिका निर्णय, मेलमिलापकर्ताको भूमिका, मुद्दा दर्ता लगायतका विषयमा समितिले गर्दै आएको काम अदालतले अनुगमन गर्छ ।

अनुगमनमा सामान्य केही कुराहरु सुधार्नु पर्ने भए पनि निर्णय प्रत्रिया, फाइलिङ, मुद्दा तामेली लगायत व्यवस्थित रहेको जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले बताए । उनले समितिका समस्याहरु समाधान गर्न आफूहरुले सहयोग गर्ने जनाए । अनुगमन टोलीलाई न्यायिक समिति संयोजक एवं उपप्रमुख उमा काफ्लेले अहिलेसम्म भएगरेका काम र काम गर्दा देखिएका समस्याका बारे जानकारी गराइन् ।

उनले कार्यविधि र कर्मचारी नहुँदा काम गर्न केही समस्या रहेको जनाइन् । उनकाअनुसार न्यायिक समितिमा चालु आवको अहिलेसम्म १ सय १ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ६७ वटा फछ्र्यौट भएका छन् । १४ उजुरी भने छलफल गराउँदा समेत मिल्न नसकेपछि माथिल्लो निकायमा पठाइएको छ । यस्तै, उजुरीकर्ता उपस्थित नभएका कारण २० उजुरी फछ्र्यौट गरिएको र त्यस्ता उजुरी अझै १० वटा बाँकी रहेको काफ्लेले बताइन् । उनले केही कार्यविधि समितिले थप गरेको बताइन् ।

समितिले तत्काल आवश्यक रहेको भन्दै तीन वटा कार्यविधि बनाएको छ । कार्यविधिमा न्यायिक समितिमा विवाद दर्ता भई पत्राचार गर्दा अनुपस्थित रहने व्यक्तिलाई अभिलेख खडा गरी नगर कार्यपालिकाले दिने सेवासुविधाबाट बञ्चित गर्न सक्ने, विवादमा छलफल भई सहमति वा निर्णय भइसकेका कार्यहरु कार्यान्वयन नगर्ने पक्षलाई नगरपालिका कार्यपालिकाले अभिलेख राखी सेवासुविधाबाट बञ्चित गर्न सक्ने र न्यायिक समितिमा निवेदन दर्ता गर्दा लाग्ने दस्तुर सार्वजनिक विषय, जेष्ठ नागरिक, असाहय, बालबालिका र अशक्तलाई नलिने समेटिएको छ ।

अनुगमन टोलीले समितिलाई प्रत्येक मिसिलका फाइल अलगअलग राख्नुपर्ने, निवेदन दर्ता गर्दा छुट्टै अधिकृत तोकेर गर्नुपर्ने लगायतका सुझाव दिएको छ । मुख्य न्यायाशीध भण्डारीलाई संयोजक काफ्लेले अहिलेसम्मको प्रगति विवरण समेत उपलब्ध गराएकी थिइन् । अनुगमनमा अदालतका शाखा अधिकृत गंगाप्रसाद अधिकारी पनि सहभागी थिए । अनुगमन पछि कामगर्दा आइपरेका समस्या र समाधानका बारे छलफल समेत गरिएको थियो । छलफलमा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत, न्यायिक समिति सदस्यहरु उमेश थापा र केदारमान राजभण्डारी, मेलमिलाप संयोजक भीष्म पन्थी, नगरपालिकाका कानूनी सल्लाहकार शेषनारायण भण्डारी लायतको सहभागिता थियो ।

Facebook Comments