सैनामैनामा आँखा उपचार सेवा सुरु

गौतमबुद्ध सन्देश

बुटवल, ९ वैशाख ।

सैनामैना नगरपालिकाको मुर्गियामा प्राथमिक आँखा उपचार सेवा केन्द्र शुरु भएको छ । सैनामैना नगरपालिकाको पहलमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान अन्तर्गतको रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले मुर्गियामा आँखा उपचार सेवा शुरु गरेको हो । सेवा केन्द्रको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले सैनामैना नगरपालिकाले नगरबासीलाई आँखाको प्राथमिक उपचारका लागि अन्यत्र धाउनुपर्ने वाध्यताको अन्त्य गराएकामा प्रशंसा गर्दै प्रदेश सरकारले प्रदेशभरिका जनतालाई दृष्टिविहीन भएर बाँच्नुपर्ने वाध्यताको अन्त्य गर्न लागिपरेको बताए । उनले स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको भन्दै स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा रण अम्बिका शाह आंखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष सागर प्रताप राणाले आफूहरुले नगरपालिको सहयोग भएमा भविष्यमा सैनामैनामा छुट्टै भवन बनाएर आँखाको अप्रेसनसहितका सम्पूर्ण सेवा उपलब्ध गराउन तयार रहेको बताए । कार्यक्रममा प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठ, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी, डा.नन्दा गुरुङलगायतले बोल्दै सैनामैनामा आँखा उपचार सेवा केन्द्र स्थापनाले नगरवासी लाभान्वित हुने धारणा राखे । सो अवसरमा मेरुदण्ड वचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा निःशुल्क आँखा उपचार शिविर समेत संचालन गरिएको थियो ।

Facebook Comments