बडिगाड नदीमा जलयात्राको सुरुवात

अनिल खत्री
गुल्मी, ५ वैशाख ।
नेपाल सरकार श्रम रोजजार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले बडिगाड नदीमा जलयात्रा गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाको प्रबद्र्धनमा झक्कले एग्रो टुरिजम रिसोर्ट प्रालिको आयोजनामा व्यवसायिक रुपमा सुरु गरिएको हो ।

जलयात्राको उद्घाटन पछि मन्त्री बिष्टले बडिगाड नदीमा जलयात्रा गरेका हुन् । उद्घाटन पछि बोल्दै मन्त्री बिष्टले बडिगाड नदीलाइ भरपुर उपयोग गरी समृद्धि हासिल गर्न स्थानीय तहहरुलाइ आग्रह गरे । देशमा भएका विभिन्न सम्भावनाहरुलाइ उपयोग गर्ने हो भने आर्थिक विकास तथा समृद्धि सम्भव हुने बताए ।

ढोरपाटन घुम्न आउने पर्यटकहरुलाई यस क्षेत्रमा जलयात्राको निम्ति ल्याउन सक्ने हो भने यो क्षेत्रमा पर्यटनको ठुलो सम्भावना रहेको मन्त्री विष्टको भनाइ छ । मन्त्री विष्टले आउने जेठ महिनाको मध्यवधिपछि प्रत्येक स्थानीय तहहरुमा धेरै युवाहरुले रोजगार पाउने बताए ।

‘आउने जेठ महिना पछि प्रत्येक स्थानीय तहमा तीन चार सय युवाहरुले रोजगारी पाउनेछन्’ उनले भने ‘युवाहरुलाइ नेपालमै रोजगारी दिन सरकार क्रियाशिल छ’ । उनले जनतालाई मानवीय जीवन बाँच्ने गरी सामाजिक सुरक्षा योजनामा समेट्ने भन्दै उनले आउने जेठको बजेटसंगै वृद्धवृद्धा तथा एकल महिलालाइ दिने भत्ता वृद्धि गर्ने बताए । किसान तथा गरीब जनताहरुको जीवन बदल्ने गरी दुनियाको मानचित्रमा नेपाललाई समृद्धिको देश भनेर चिनाउने उनको भनाइ छ ।

सुखी नेपाली र समृद्ध नेपाल बनाउने चाहिरहेको बताए । बडिगाड नदीमा नयाँ वर्ष अफरको रुपमा मंगलबारबाट व्यवसायिक जलयात्रा सुरु गरिएको हो । झक्कले एग्रो टुरिज्म रिसोर्ट प्रा.लि.ले एक महिना सम्म बडिगाड नदीमा जलयात्राको मज्जा लिने अवसरमा जुटाएको हो । खर्बाङ्ग देखी झेँदी, झेँदी देखी भुवाचिदी तथा भुवाचिदी देखी झक्कले सम्म तीन चरणमा राफ्टीङ्ग गरिने भएको हो । लामो समय सम्म जलयात्रा गर्न चाहनेहरुको लागि छुट्टै प्याकेजको पनि व्यवस्था हुने बताइएको छ । सिट भने ४ सय ५० जनालाई मात्र रहेको रिसोर्टका अध्यक्ष चुरामणी सापकोटाले बताए । एक जनाको जलयात्राको लागि ८ सय ५० रुपैया टिकट शुःल्क तोकिएको सापकोटाले बताए ।

त्रिशुली, सुनकोशी नदीमा २५ सय रुपैंया जलयात्राको लिइने गरिएको छ । हाल तोकिएको मुल्य निकै नै सस्तो भएको र सो अवसरको सदुपयोग गर्न आग्रह गरिएको छ । ८ जनाको समुहमा आएमा १० प्रतिशत छुट तथा विद्यार्थीलाइ २० प्रतिशत छुट दिइने भएको छ । यस अघि मुसिकोट नगरपालिकाले बडिगाड नदीमा गत पौष १२ गते राफ्टिङ्गको परीक्षण गरेको थियो । त्रिशुली नदीमा जलयात्रा गराइरहेको मानध्वज गुरुङ्ग सहितको ७ सदस्यीय विज्ञ टोलीको उपस्थितिमा बडिगाड नदीमा जलयात्रा गरिएको थियो । समुह नै हाल जलयात्राको लागि आउने वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेले बताए । बडिगाड नदीमा जलयात्राको प्रशस्त सम्भावना देखिएको जलयात्राको टोलीले निष्कर्ष निकालेको थियो । नदीमा रहेका ठुला ढुंगाहरु मिलाउने काम पनि गरिएको छ ।

Facebook Comments