सरकार असफल भयो : खान

गौतमबुद्ध सन्देश
भैरहवा, ३० चैत ।
पुर्व सांसद एवं नेपाली कांग्रेसका महासमिति सदस्य इस्तियाक अहमद खानले महंगी, कालोबजारी, भ्रष्टाचार, सुशासन कायम गर्न वर्तमान सरकार असफल भएको जिकिर गरेका छन् । नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका समन्वय समितिले शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता खानले वर्तमान सरकार जनतालाई उच्च महत्वकांक्षा देखाउँदै सत्तामा गएको भए पनि अहिले आएर सिमित स्वार्थमा केन्द्रीत हुँदा जनताका आकांक्षा पुरा हुन नसकेको बताए ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलाकार पछिको हत्या, वाइडबडी प्रकरण, संवैधानिक आयोगहरुमा विपक्षीलाई गरिएको व्यवहार, प्रदेश पाँच सरकारको गाडी खरीद प्रकरण जस्ता उदाहरण दिंदै उनले वर्तमान सरकारबाट सम्बृद्धिको अपेक्षा गर्नु मुर्खतापुर्ण हुने टिप्पणी गरे । गणितीय रुपमा कांग्रेस कमजोर देखिए पनि जनतामा कांग्रेसप्रति नै विश्वास भएकाले एकजुट भएर अगाडी बढ्न उनले कार्यकर्तालाई आग्रह समेत गरे ।

हरेक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको उदाहरण दिंदै उनले अब मुलुकलाई सम्वृद्धितर्फ लैजान पनि कांग्रेसको विकल्प नभएको बताए । प्रदेशसभा सदस्य पार्वती चौधरीले धेरै सपना देखाएर सत्तामा पुगेको नेकपा छोटो समयमै जनता माझ उदागों भएको टिप्पणी गर्दै आगामी दिनमा कांग्रेसले आफ्ना विगतका कमजोरी सच्चाएर अगाडी बढ्नुपर्ने बताइन् । वर्तमान सरकार दुइतिहाइको आडमा निरकुंशतातर्फ अगाडी बढेको भन्दै उनले मुलुकका लामो समयको संघर्ष पछि प्राप्त उपलब्धीको रक्षाको लागी सवै चनाखो हुनुपर्ने बेला आएको बताइन ।

समन्वय समितिका सभापति शेर बहादुर काफ्लेको सभापत्वि, दामोदर पौडेलको स्वागत एवं नन्दु क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य भगवती चौधरी, क्षेत्रीय सभापति पृथ्वी फौजदार, मातृका यादव, जिल्ला सदस्य शिवराम न्यौपाने, महाधिवेशन प्रतिनिधि भरथरी यादव लगायतले बालेका थिए । सो अवसरमा स्थानीयस्तरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *