चौहान अपहरणको मुद्दा मिलाउन सांसदको दवाव

प्रकाश न्यौपाने
भैरहवा, २८ चैत ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मोगलहा निवासी १८ वर्षीय ममता चौहान अपहरण आरोपमा पक्राउ परेकाहरुलाई छुटाउन सांसदहरुले दवाव दिएको पीडित परिवारले गुनासो गरेका छन् । शारीरिक तथा मानसिक रुपमा अशक्त चौहानलाई चैत २० गते राति अज्ञात समूहले अपहरण गरी घरदेखि करिब एक किलोमिटर टाढा खेतमा लगेर छाडेका थिए । घटनास्थलमा रगत देखिएकाले उनीमाथि बलात्कार भएको आशंका परिवारको छ । यद्यपि लुम्बिनी अंचल अस्पतालमा गरिएको परीक्षणबाट बलात्कार भएको कुनै तथ्य नभेटिएको रुपन्देही प्रहरीले जनाएको छ । ममताको महिनावारी रक्तश्राव भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
उक्त परीक्षणप्रति आफूहरु सन्तुष्ट नरहेको ममताका बुवा पत्रकार विन्दुकुमार चौहानले बताए । ‘घटना घट्नुभन्दा १५ दिन अघिमात्रै मेरो छोरीको मासिक रक्तश्राव भएको हो, १५ दिनमै कसरी पुनः रक्तश्राव हुसक्छ ?’, विन्दुले भने, ‘दुईदिनपछि छोरीलाई अपहरणकारीले लगेर छाडेको खेत नजिकै सातवटा कण्डम पनि भेटिएको छ, छोरी बोल्न सक्दिन, त्यसैले हाम्रो आशंका बलात्कार भएको हुनसक्छ भन्ने हो ।’ उनले परीक्षणप्रति आफूहरु ढुक्क हुने अवस्था नरहेकाले पुनः परीक्षणको माग गरे ।
घटना लगत्तै प्रहरीले गोरु तस्कर भनेर चिनिने चौहानको घरछेउकै मोविन मुसलमान, लौटन भनेर चिनिने हरिराम हरिजन, चन्द्रिका पासी, बह्रमानन्द हरिजनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मोविनलाई छुटाउन प्रदेश सभा सदस्य फकरुद्दिन खाँ र वसिउद्दिन खाँले दवाद दिइरहेको पारिवारिक स्रोतले बतायो । ‘प्रदेश सभा सदस्य द्वय खाँले पार्टी निकटका पत्रकारहरु मार्फत् दवाव दिइरहेका छन्’, पारिवारिक स्रोतले भन्यो, ‘गोरु तस्करसँगको कनेक्सन र राजनीतिक दाउपेचमा हामीमाथि दवाव आइरहेको छ ।’
मोविनले लामो समयदेखि लुम्बिनी क्षेत्रमा गोरु तस्करी गर्दै आएका छन् । गोरु तस्कर बढेको भन्दै पत्रकार विन्दुकुमारले घटना अघि समाचार लेखेका थिए । समाचार लेखेको भन्दै उनीमाथि आक्रमण गर्ने, पारिवारिक इज्जत लुट्ने लगायतका धम्की आइरहेको थियो । समाचार प्रकाशित भएको चार दिनपछि उनकी छोरी ममतालाई अपहरण गरी खेतबारीमा लगेर छाडिएको हो । ‘घटना घट्दाको दुई दिन अघि हरिजनहरुले आफ्नो बुहारीलाई मरणसन्न हुने गरी कुटपिट गरिरहेका थिए, मैले प्रहरीलाई खबर गरिदिएँ । त्यसपछि उनीहरुले प्रहरी बोलाउने तलाई देख्लास भनेका थिए, लगत्तै मेरी अशक्त छोरी अपहरणमा परी’, विन्दुले भने, ‘गोरु तस्कर र हरिजन परिवारको अपहरणमा संलग्नता भएको हुनसक्छ ।’
पक्राउ परेका चारैजनालाई अहिले इलाका प्रहरी कार्यालय लुम्बिनीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । आफ्नी छोरी अपहरणमा परेपछि पत्रकार विन्दुले रुपन्देही प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकाहरुमाथि गालीगलौज र अपहरण मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए । ‘हामीले अपहरणमा पनि पक्राउ परेकाहरुकै संलग्नता छ की भनेर अनुसन्धान गरिरहेका छौं’, उनले भने । थापा राजनीतिक दवाव बारे खुल्न चाहेनन् ।
सांसद फकरुद्दिनले आफूले कसैलाई पनि छुटाउन दवाव नदिएको दावी गरे । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्छ भनेर आफूले पनि प्रहरीसित समन्वय गरिरहेको बताए । ‘दोषीलाई कारबाही हुनुपर्छ, पीडितले न्याय पाउनुपर्छ’, उनले भने, ‘पत्रकार हुँ भन्दैमा जे पायो त्यही लेख्न मिल्दैन, मोविन निर्दोष छ ।’ उनले मोविनको गोरु तस्कर र अपहरणमा कुनै संलग्नता नभएको भन्दै पृष्ठपोषण गरे ।
अधिकारकर्मी ज्ञानु पौड्यालले अपराध गर्ने कसैलाई छुट नहुने बताउँदै त्यसतर्फ आफूहरुले सहयोग गर्ने बताइन् । ‘नीति निर्माणमा बस्ने व्यक्तिले नै दवाद दिनु भनेको राम्रो पक्ष होइन, कानूनी राज्यको उपहास कसैले गर्न मिल्दैन’, उनले भनिन्, ‘अपहरण गर्नु भनेको अपराध हो । कुनै दवाद दिएर, धम्की दिएर अनुसन्धान प्रभावित पारिनु हुँदैन । वास्तविकता बारिह ल्याउन सबैले सहयोग गर्नुपर्छ ।’
नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष दिनेश पाण्डेले दोषीलाई कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय गरिरहेको बताए । ‘महासंघले घटनालगत्तै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र महासंघ केन्द्रिय समितिसँग समन्वय गरिरहेको छ, दोषीले कुनै हालतमा उन्मुक्ति पाउनु हुँदैन भन्ने हाम्रो प्रयास हो’, उनले भने । पाण्डेले पत्रकारले दवाव दिएको भए त्यो पत्रकारको नाममा कंलक भएको बताउँदै त्यस्तालाई कारबाहीको दायरामा ल्याउने बताए ।
लुम्बिनी प्रेस क्लब अध्यक्ष दिपेश पछाईले दोषीलाई कारबाहीको दायरामा ल्याउन क्लबले पहल गरिरहेको बताए । ‘जहाँसम्म पत्रकारहरुले दवाव दिएको कुरा छ, दवाद दिने पत्रकारहरुविरुद्ध पीडितले क्लबमा उजुरी दिएमा हामीले सत्यतथ्य छानविन गरी कारबाही गर्छौं’, उनले भने । घटनामा संलग्नलाई उन्मुक्ति दिने प्रयास नगर्न उनले सबैलाई सचेत गराए ।

Facebook Comments