शिवराज नगरपालिका खुल्ला दिशामुक्त घोषणा

गौतमबुद्ध सन्देश

चन्द्रौटा, २८ चैत ।

कपिलवस्तुको शिवराज नगरपालिकालाई खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिक भित्र ११ हजार ४ सय ५४ शौचालय बने पछि बुधवार नगरपालिकाले चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी खुल्ला दिशामुक्त घोषणा गरेको हो । कार्यक्रम हुनुपुर्व तामझामका साथ सांस्कृतिक कार्यक्रम, बाजागाजा, ¥याली सहित चन्द्रौटा बजार परिक्रम गरिएको थियो ।

“शिवराज नगरपालिकाको स्वाभिमान खुल्ला दिशामुक्त अभियान” भन्ने नारा सहित नगरपालिकालाई नगरप्रमुख नेत्रराज अधिकारीले खुल्ला दिशामुक्त घोषणा गरेका हुन् । अधिकारीले सरसफाई क्षेत्रमा शौचालय निर्माण र प्रयोग पहिलो पाइला रहेको जिकिर गरे । एक घर एक शौचालय निर्माणको लागी अभियान सञ्चालन गरेर सफलता प्राप्त गरेको जनाए ।

नगरपालिकामा रहेका ११ वटा वडामध्ये ३ वटा वडा पहिला नै खुल्ला दिशामुक्त घोषणा भएका थिए । अभियान सञ्चालन पश्चात नगरका ८ वटा वडालाई खुल्ला दिशामुक्त घोषणा गरिएको प्रमुख अधिकारीले बताए । अभियानका क्रममा हस्ताक्षर अभियान, लोटा खोस्ने, अभिमुखीकरण कार्यक्रम, सचेतना सम्बन्धि गोष्ठी, नाटक प्रर्दशन लगायतका कार्यक्रमहरु गरेको अधिकारीले जानकारी दिए ।

नगर प्रमुख अधिकारीले शिवराज नगरपालिकालाई पुर्ण सरसफाई नगर बनाउने, सुरक्षित खानेपानीको पहँुच बनाउने, बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने योजना अघि सारे । अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा शतप्रतिशत घरमा शौचालय निर्माण गरेको उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरेकोमा धन्यवाद दिए । अझै पनि शौचालय निर्माण र प्रयोग गर्नुपर्छ भनेर सिकाउनु लाजमर्दाे कुरा भएको भन्दै आम नागरिक सचेत हुनुपर्ने बताए । सांसद केसीले शौचालय निर्माण र प्रयोगबारे नगरपालिकाले समयसमयमा अनुगमन गर्नुपर्ने बताए । सरकारको समृद्ध नेपाल, सुखी नेपाली नारालाई स्थानीय सरकार र प्रदेश सरकारले आत्मसाथ गर्दै विकास र समृद्धमा कुनै कसुर बाँकी राख्न नहुने उनले बताए । कपिलवस्तुको हुलाकी सडक कालोपत्रेको लागी टेण्डरको प्रक्रिया बढेको र अब गाउँगाउँमा विकासले गति लिने दावी गरे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सरसफाई स्वास्थ्यसंग सम्बन्धित विषय रहेकोले नगरपालिकाले पुर्ण सरसफाई तथा स्वच्छ खानेपानीको लागी नयाँ योजना ल्याउनुपर्ने वताए । कार्यक्रममा खुल्ला दिशामुक्त घोषणा गर्ने अभियानमा सहयोग गर्ने सरोकारवालाहरुलाईे सम्मान समेत गरिएको थियो ।

Facebook Comments