बढ्दै महिला उद्यमी

पूर्णिमा कुँवर
भैरहवा, २८ चैत ।
महिला भन्ने बित्तिकै घरको चौघेरमा सीमित हुनु पर्दछ÷हुन्छन् भन्ने मानसिकताबाट माथि उठ्दै उनीहरुले पछिल्लो समय साना उद्योग तथा व्यवसायमा पहुँच बढाउँदै गएका छन् । सरकारी तथा गैरसरकारी तवरबाट समेत महिलाहरुलाई उद्यमी तथा व्यवसायी बनाउन विभिन्न कार्यक्रमहरु समेत सञ्चालन हुँदै आएका छन् । परम्परागत सामाजिक सोचमा परिवर्तन र महिलाहरुमा आएको जागरुकतासंगै उनीहरु उद्योग तथा व्यवसायिक क्षेत्रमा लाग्न थालेका हुन् ।

नेपालमा साना तथा घरेलु उद्योग स्थापना भए देखी २०७५ फागुन मसान्त सम्ममा थुप्रै उद्योगहरु सञ्चालनमा आएका छन् । त्यसमध्ये रुपन्देहीमा महिला उद्यमीहरुको संख्या २ हजार १ सय २६ छ । महिलाहरुले पहिले देखि नै सञ्चालन गर्दै आएका उद्योगहरु त्यति व्यवसायमूलक नरहे तापनि पछिल्लो समय व्यवसायमूलक उद्योगहरुमा महिलाहरु आकर्षित बनेका छन् । सरकारले महिला उद्यमीलाई विशेष सुविधा सहित विना धितोमा १५ लाख सम्म ऋण दिने व्यवस्था गरेसंगै महिला उद्यमीको संख्या बढेको हो ।

यस्तो प्रकारको ऋणको व्यवस्था वाणिज्य बैंकबाट प्रदान भइरहेको र धेरैले ऋण लिइ व्यवसाय समेत गरिरहेको साना तथा घरेलु उद्योग रुपन्देहीका प्रमुख कृष्ण घिमिरेले बताए । उनका अनुसार दिनहुँजसो कार्यालयमा महिलाहरु उद्योग तथा व्यवसाय दर्ता गराउन आउने गर्छन् । एक दिनमा धेरैजसो दर्ता गर्न आउनेहरुमा कम्तीमा पनि ३–४ जना महिलाको नाममा दर्ता गर्न तथा दर्ता स्वीकृत गर्न आउने समेत रहेको उनले बताए ।

पछिल्लो दूई वर्षको आँकडालाई हेर्दा आर्थिक वर्ष २०७४÷७५ मा जम्मा १ हजार ७७ उद्योग दर्ता भएकोमा १ सय ७८ वटा उद्योहरु महिलाको नाममा दर्ता भएका थिए । चालु आर्थिक वर्ष २०७५÷७६ को फागुन मसान्त सम्ममा १ हजार २ उद्योग दर्ता भएकोमा १ सय ६१ उद्योग महिलाको नाममा दर्ता भएका छन् । महिलाहरु उद्योग व्यवसायमा लाग्न इच्छुक हुने तर सोचे जस्तो साथ घर परिवार तथा आफन्तहरुले नदिने हुनाले व्यवसायमा अगाडि बढ्न गाह्रो हुने गरेको महिला अधिकारकर्मी ज्ञानु पौड्यालले बताइन् ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण अगाडि बढ्न नसकेकाहरुलाई सरकारले व्यवस्था गरेको ऋण सुविधाले धेरै सहयोग गरेको भए तापनि ऋण लिनका लागि धेरै झण्झट बेहोर्नुपर्ने हुँदा अझै पनि महिलाहरु उद्योगतर्फ आउन नसकेको उनले बताइन् । सरकारले महिला उद्यमीहरुलाई अगाडि बढाउनका लागि महिला केन्द्रित योजनाहरु ल्याउनुपर्ने हुन्छ । नगरपालिका ताथा गाउँपालिकाहरुबाट महिला विशेष सिपमूलक कार्यक्रमहरु अगाडि बढाउनुका साथै प्राविधिक ज्ञान समेत दिनुपर्ने पौड्यालले बताइन् । त्यस्तै, पूँजी लगानी गर्दा महिलालाई सस्तो दरमा ऋण उपलब्ध गराउन सके आउने दिनहरुमा महिला उद्यमीहरुको संख्या बढ्ने र अन्यलाई समेत रोजगारीको अवसर प्रदान गर्ने अवस्था आउनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *