एनआईसीको विस्तारित काउण्टर

गौतमबुद्ध सन्देश
तिलोत्तमा, २६ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा एनआईसी एशिया बैंकले बिस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ । मुलकमै पहिलो पटक सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको कार्यालयमै विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकको यो ४० औं विस्तारित काउण्टर हो । बैंकका हाल मुलुकभर २ सय ८१ शाखा छन् तीमध्ये प्रदेश नम्बर ५ मा मात्र ५१ वटा शाखा छन् । नगरपालिका कार्यालयमा स्थापना गरिएको विस्तारित काउण्टरको एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे ।

सो अवसरमा नगर प्रमुख घिमिरेले सेवाग्राहीको सुविधाको लागि नगरपालिकाको आग्रहमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएकोमा एनआईसी एशिया बैंकप्रति आभार व्यक्त गरे । काउण्टर सञ्चालनले अब नगरपालिकामा सेवाग्राहीले बुझाउनुपर्ने रकम बैंकमार्फत् हुने र यसले कार्य व्यवस्थापनमा सहजता ल्याउने नगर प्रमुख घिमिरेको भनाइ छ ।

उपप्रमुख जागेश्वरी चौधरीले बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनले नगरपालिकाको सेवा प्रभावलाई थप छिटोछरितो बनाउने विश्वास व्यक्त गरे । त्यस्तै बैंकका प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले तिलोत्तमा निकै सम्भावना बोकेको नगरपालिका रहेको र नमूना काम गर्दै अघि बढिरहेकाले नगरपालिकासंग सहकार्य गर्दै कार्यालयमै विस्तारित शाखा सञ्चालनमा ल्याएको जानकारी दिए । उद्घाटनकैं दिनबाट विस्तार काउन्टरमा सेवा सुरु भएको जानकारी गराउँदै उनले नगरपालिकासंग मिलेर अन्य सामाजिक उत्तरदायित्वका काम गर्न बैंक इच्छुक रहेको उल्लेख गरे ।

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले काउण्टर सञ्चालनले नगरपालिकाका काम–कारवाहीलाई ‘क्यासलेस’ बनाउने बताउँदै नगरपालिकाले विस्तारै करहरु समेत अनलाइनबाट तिर्न मिल्ने गरी काम अघि बढाउन चाहेको उल्लेख गरे । बैंकका दिपक आचार्यको स्वागत तथा विनोद पोखरेलको सञ्चालमा कार्यक्रम भएको हो ।

Facebook Comments