होटल पौवामा सांस्कृतिक कार्यक्रम हुने

गौतमबुद्ध सन्देश
भैरहवा, २३ चैत ।
शुभ ओम कम्पनी प्रा.लि.द्वारा सञ्चालित होटल पौवा भैरहवाले नयाँ वर्ष २०७६ को अवसर पारेर वृहत सांस्कृतिक कार्यक्रम–२०७६ को आयोजना गर्ने भएको छ । होटल पौवाले नयाँ वर्षलाई स्वागत गर्न यही चैत ३० गते “न्यु इयर इभ–२०७६” को आयोजना गर्दैछ । कार्यक्रम साँझ ६ बजे देखि मध्यराती १२ बजे सम्म आयोजना हुनेछ । नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै कार्यक्रमको समापन हुने आयोजकले जनाएका छन् । आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएका छन् ।

विगत चार वर्ष देखि सेवा प्रवाह गर्दै आएको होटल पौवाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कलाकार पशुपति शर्मा, कमल खत्री, सन्तोष लामा लगायत स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने शुभ ओम कम्पनी प्रा.लि.का अध्यक्ष हरि बहादुर थापाले बताए । नाफा कमाउने उद्धेश्य भन्दा पनि नयाँ वर्ष मनाउन भैरहवा बाहिर जान नपरोस भन्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थापाले बताए । “यस क्षेत्रमा स्थानीय कलाकारहरु पनि धेरै छन् तर आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर नपाएका कलाकारहरुलाई प्लेटफर्म दिन्छौ, उनले भने । रुद्रदेवी कलाकेन्द्र संग पनि सांगितीक कार्यक्रमको लागि समन्वय गरिको थापाले बताए । पारिवारिक वातावरणमा होटल पौवामा नै नयाँ वर्ष मनाउन सकिने उनको भनाइ छ ।

कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन सबै पक्षसंग सहकार्य गर्ने होटल पौवा भैरहवाका शाखा प्रबन्धक विष्णु भण्डारीले बताए । कार्यक्रममा ४ हजार बढी दर्शक र ५ लाखको काराबोर हुने लक्ष्य लिइएको भण्डारीले जानकारी दिए । कार्यक्रममा प्रवेश निःशुल्क रहेको उनले बताए ।

“विशेष अवसर र कयौं चाडपर्व एवं समयमा हामीले होटल परिसर भित्र विविध कार्यक्रम सञ्चालन गर्दै आएका छौं, नयाँ वर्ष जस्ता उल्लासमय उत्सवहरुमा आ–आफ्नो शैलीमा विविध कार्यक्रमहरु गरी मनोरञ्जन प्रदान गर्ने सार्वभौम सत्यलाई आत्मसात गर्दै हामीले यस पटक पनि कार्यक्रमको आयोजना गर्न लागेका छौं, उनले भने ।”

साढे २ विगाह क्षेत्रफलमा सञ्चालित होटलमा ६ सय फिट क्षमताको ब्यान्क्वेट हल, ७५ जना सम्म अट्ने २ वटा कन्फ्रेन्स हल, ५ हजार जना अट्ने आउटडोर गार्डेन, २ वटा स्वीमिङ पुल, बोटिङ पोखरी, ५ वटा फेमिली लाउन्ज, ३ वटा रेष्टुरेण्ट, १९ रुम क्षमताको स्तरीय कोठा भएको आवास भवन, ब्याडमिन्टन कोर्ट, स्तरीय खाना सेवा सहितको आउटडोर क्याटरिङ, बालबालिकाका लागि चिल्ड्रेन पार्क रहेको शुभ ओम कम्पनी प्रा.लि.ले जनाएको छ । ८० रुम क्षमताको सुविधासम्पन्न आवासीय भवन विस्तार गर्न लागिएको र यससंगै निकट भविष्यमै १ सय रुम सहित रुपन्देहीकै उत्कृष्ट होटल बन्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सह–सचिव कमल रायमाझी, लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष माधव ढुंगाना, महासचिव सम्झना शर्मा, सल्लाहकार चेतन पन्त लगायतको आतिथ्यता रहेको थियो ।

Facebook Comments