सहकारीको लगानी उत्पादनमा गर (सम्पादकीय)

नेपालमा सहकारी स्थापना भएको बुधबार ६२ वर्ष पूरा भएको छ । पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । प्रत्येक वर्ष चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रूपमा मनाइंदै आइएको छ । नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्था हो । सो संस्था २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको थियो । हाल देशभर ३४ हजार ५ सय १२ सहकारी संस्था छन् । सहकारीहरु बढीजसो शहर केन्द्रीत छन् । उनीहरुको उत्पादनमा प्रत्यक्ष सहभागिता छैन । नेपालमा कूल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान चार प्रतिशत रहेको अनुमान छ । सहकारीलाई नियमन गर्ने नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा पनि सहकारी संस्थाहरुमा विकृति विसंगति बढेको छ । सहकारी संस्थाले दिगो उत्पादन र उपभोगलाई प्रोत्साहन गर्दै उत्पादकत्व वृद्धि, उत्तरदायी उपभोग तथा दिगो रोजगारी अवसर सिर्जनामा जोड दिनुपर्छ । अर्थतन्त्रका तीन आधार स्तम्भमध्ये सहकारी क्षेत्र पनि एक हो । सहकारी संस्थाको वृद्धिसँगै सेवा, सुविधाको विस्तार भएको छ । ६३ लाख व्यक्ति कुनै न कुनै सहकारी संस्थामा आबद्ध छन्, जसमा ५१ प्रतिशत महिला छन् । यी सहकारी संस्थाले महिला सशक्तीकरण, प्रजातान्त्रिक अभ्यास तथा सेवा विस्तारमा उल्लेख्य सहयोग पु¥याएका छन् । तर पछिल्लो समयमा सहकारीको मर्म र भावनाविपरीत सीमित व्यक्तिको मुठीभित्र रही सञ्चालन भइरहेका सहकारी संस्थाको संख्या बढ्दै गएको छ । सहकारी संस्थाको नाममा सुविधा लिने तर निजी लगानी जस्तो गरेर सञ्चालन गर्ने प्रवृत्तिले सहकारी अभियानलाई गलत दिशातिर धकेलिरहेको छ । पछिल्लो एक तथ्यांक अनुसार ८३ वटा संस्था सदस्यको लगानी र बचतको अर्बाैं रुपियाँ हिनामिना गरी बन्द छन् । यीमध्ये धेरैजसो बचत तथा ऋण सहकारी संस्था नै छन् ।
कुल सहकारी संस्थामध्ये झन्डै ४० प्रतिशत बचत तथा ऋण सहकारी संस्था हुनु र ग्रामीण क्षेत्रलाई कार्य क्षेत्र बनाएका तथा पशुपालन, कृषि लगायतका उत्पादनमूलक क्षेत्र र यससँग सम्बन्धित वस्तुको बजारीकरणका लागि खुलेका सहकारी संस्थाको संख्या निकै कम हुंदा सहकारीमार्फत दीगो विकास लक्ष्य हासिल गर्न र गरिबी निवारणमा प्रभावकारी योगदान पुग्न सकेको छैन । त्यसैले उत्पादन वृद्धि, गरिबी निवारण लगायतका क्षेत्रका काम गर्ने सहकारी संस्थाको प्रवद्र्धन गर्ने नीति र कार्यक्रम आवश्यक छ । सहकारिताको मर्मबमोजिम सञ्चालन हुने, लोकतान्त्रिक अभ्यास गर्ने, महिला सशक्तीकरण, उत्पादन, बजार विस्तार र रोजगारी सिर्जना गर्ने सहकारी संस्थाको प्रवद्र्धन गर्ने नीति लिनसके त्यसले उत्पादन, रोजगारी र आत्मनिर्भरता बढाउँछ तथा गरिबी घटाउँछ । यसको विपरीत निजी लगानीका रूपमा सञ्चालन भएका, आफन्त र नातागोतालाई मात्रै सञ्चालक समितिमा राख्ने, सदस्यबीच भेदभाव गर्ने, संस्थाको गतिविधि र कारोबार पारदर्शी नबनाउने, सहज बचत र ऋणका नाममा सदस्यको आर्थिक शोषण गर्ने, कृत्रिम लेखापरीक्षण गराउने जस्ता सहकारीमा भएका गलत अभ्यास नियन्त्रण हुनुपर्छ ।

Facebook Comments