ह्वीलचियर बास्केटवल प्रतियोगिता सुरु

स्थायी राजधानीपछि सबै संरचना अपांगमैत्री : मुख्यमन्त्री
गौतमबुद्ध सन्देश
बुटवल, २५ फागुन ।

लायन्स क्लव अफ बुटवल सयपत्री र नेपाल स्पाईनल कर्ड ईन्जरी संघको संयुक्त आयोजनामा बुटवलमा प्रदेशस्तरीय ह्वीलचियर बास्केटवल प्रतियोगीता शुरु भएको छ । नेपालभरबाट ७ वटा प्रदेशका ह्वीलचियर प्रयोगकर्ता खेलाडीहरुले प्रतिष्पर्धामा सहभागी भएका छन् । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको खेलकूदको प्रतिभालाई उजागर गर्नको लागि बुटवलमा पहिलोपटक राष्ट्रियस्तरको ह्वील चियर बास्केटवल प्रतियोगीता आयोजना गरिएको लायन्स क्लव अफ बुटवल सयपत्रीकी अध्यक्ष रोशनी पाण्डेले जानकारी दिइन् । प्रतियोगीतामा कुल १२ वटा टिमको सहभागीता छ । सात प्रदेशबाट १—१ गरी पुरुषको ७ वटा टिम, प्रदेश १, ३, ५ र सुदुरपश्चिम प्रदेशबाट १—१ गरि ४ वटा महिला टोली र नेपाली सेनाको विभागीय टोली गरी जम्मा १२ टिम को सहभागिता रहने कार्यक्रम संयोजक लायन्स क्लव बुटवलकी कार्यक्रम संयोजक एली क्षेत्रीले जानकारी दिइन् । प्रतियोगीतामा महिला तथा पुरुष टिम प्रथमले २५—२५ हजार रुपैयाँ सहित मेडल, कप र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्वितिय टिम दुबैले २०—२० हजार सहित मेडल, कप र प्रमाणपत्र र तृतिय टिमले १५—१५ हजार नगद सहित मेडल, कप र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री शंकर पोखरेलले गरे । सो अवसरमा उनले प्रदेश सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरे । उनले

अब बन्ने प्रदेशका सबै स्थायी संरचनाहरुलाई अपाङ्गमैत्री बनाउने उद्घोष गरे । अपाङ्गता भएका व्यक्तीहरुको जीवनलाई सहज बनाउन स्थायी राजधानीको टुङ्गो लागेपछि बन्ने प्रदेशका संरचनाहरु अपाङ्ग मैत्री हुने उनले बताए । मुख्यमन्त्री पोखरेलले दुर्घटना पश्चात तत्काल उपचार नपाएर अपाङ्गता बढ्दै भएको बताउँदै त्यसका लागि प्रदेश सरकारले ट्रमा सेन्टरको स्थापना गर्न लागेको जानकारी दिए । उनले दाङको लमहीमा ट्रमा सेन्टर निर्माण गर्ने योजना प्रदशे सरकारको रहेको पनि बताए ।

उद्घाटन सत्रमा प्रदेश सांसद विष्णु पन्थी, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष देवी पोखरेल, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य, लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर एमजिएफ सुनील ओझा, नेपाल स्पाईनल कर्ड इन्जुरी खेलकुद संघका अध्यक्ष बाबुराम मिश्रलगायतले प्रदेश सम्बृद्ध बनाउन सबै नागरिकका हक र अधिकार सुनिश्चित हुनुपर्ने विचार व्यक्त गरे ।

Facebook Comments