शिक्षाले नै समाज बदल्छ : मुख्यमन्त्री

गौतमबुद्ध सन्देश
भैरहवा, २३ फागुन ।
प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले समाज बदल्न शिक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले अरु क्षेत्रमा गरेको लगानी तत्काल देखिए पनि शिक्षामा गरेको लगानी दिर्घकालमा विस्तारै देखिने र त्यसबाट फाइदैफाइदा हुने बताए । यस क्षेत्रकै पुरानो भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षाकै माध्यमबाट राष्ट्र र समाजलाई बदल्न सकिने दावी गरे । ‘देशको भविष्य बनाउने भए शिक्षामा लगानी र सुधार जरुरी छ’, उनले भने, ‘त्यसका लागि संविधानले दिएको अधिकार सबै तहमा प्रत्यायोजन गर्नुपर्छ, शिक्षाले मुलुकलाई समृद्धितर्फ लैजान्छ ।’

मुख्यमन्त्री पोखरेलले उच्च शिक्षाको सम्बन्धन दिने जिम्मेवारी संविधानले प्रदेश सरकारलाई दिए पनि केन्द्रिय विश्वविद्यालयले धमाधम सम्बन्धन दिइरहेको भन्दै गुनासो गरे । उनले संविधानले दिएका अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न ढिलाई गर्न नहुने बताए । ‘धेरै संस्थाहरु आफ्नै स्वायत्ततामा गठन भएका छन्, तिनका ऐन, नियम परिवर्तन नहुँदासम्म संविधान कार्यान्वयन गर्न कठिन हुन्छ’, उनले भने, ‘शिक्षा क्षेत्रमा अहिले त्यस्तै भइरहेको छ । अब ढिलाई नगरी सम्बन्धन दिने अधिकारी प्रदेशलाई दिनुपर्छ ।’

उनले हिजोको जस्तो शिक्षाले समृद्धि हासिल गर्न नसकिने बताए । अबको शिक्षा व्यवसायिक हुनु पर्ने बताए । ‘हिजो मानविकी र शिक्षा संकायमा थामी नसक्नु विद्यार्थी हुन्थे, अहिले व्यवस्थापनमा आकर्षण छ । यो पनि धेरै टिक्दैन, केही वर्षमै प्राविधिकतर्फ आकर्षण हुन्छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘त्यसैले समयानुकुल, परिवर्तित, व्यवसायिक र आधुनिक शिक्षालाई जोड दिँदै अघि बढ्नुपर्छ । खाली पुरानै शिक्षा प्रणालीलाई रटान गरे परिवर्तन संस्थागत गर्न सकिँदैन । यसतर्फ सबैले ध्यान दिनुपर्छ ।’ उनले मुलुक नयाँ व्यवस्थामा प्रवेश गर्न लागेकाले विशाल संक्रमणबाट गुग्रिरहेको बताए । ‘एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा प्रवेश गर्दा संक्रमण देखा पर्छ । अहिलेको संक्रमण यो वर्ष हामीले आधारभूत रुपमा पुरा गछौं, आगामी दिनमा विकास र समृद्धितर्फ लैजान्छौं’, उनले भने ।

मानविकी संकायका डीन प्रा.डा.शिव भुसालले नेपालको उच्च शिक्षामा ८० प्रतिशत योगदान त्रिविले गरेको बताए । उनले अन्य बाह्य मुलुकमा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न नजान आग्रह गर्दै उत्कृष्ट शिक्षा त्रिविले नै प्रदान गर्ने दावी गरे । प्रदेश सभा सदस्य सन्तोष पाण्डेयले बहुमुखीले यस क्षेत्रको शैक्षिक विकासमा ठूलो योगदान पु¥याएको भन्दै प्रशंसा गरे । उनले प्रदेश पाँचको राजधानी रुपन्देही र नाम लुम्बिनी राख्न मुख्यमन्त्रीलाई आग्रह गरे । पूर्व भूमिसुधारराज्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य हकिकुल्ला खाँ, सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारी, क्याम्पस प्रमुख अनिल कुमार झा, प्रा.डा. कपिलदेव लामिछाने, नेकपा रुपन्देही जिल्ला कार्यदल सदस्य निर्मल जिसी, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने, पूर्वविद्यार्थी एवं पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, पूर्व क्याम्पस प्रमुख शिक्षाविद् बालकृष्ण भट्टराईले सीमित स्रोतसाधनका बाबजुत बहुमुखीले शिक्षा क्षेत्रमा गरेको योगदान अविस्मरणीय रहेको बताए ।

२०२५ साल भदौ ४ गते स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस यस क्षेत्रको त्रिभुवन विश्वविद्यालयको एक मात्र आङ्गिक क्यामपस हो । क्यामपसमा अहिले स्नातक तहमा शिक्षा, मानविकी, विज्ञान तथा प्राविधिक र व्यवस्थापन संकायमा बीए., बीएड, बीबीएस, बीएससी, बीबीएम, बीबीए, बीसीएस लगायत कार्यक्रम गरी विभिन्न विषयहरु पठनपाठन हुन्छ । स्नाकोत्तर तहमा शिक्षा, मानविकी र व्यवस्थापन शंकायमा विभिन्न विषयहरु ठनपाठन हँुदै आएको छ । क्याम्पसमा हाल १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । पहिलेको तुलनामा यो क्याम्पसको धेरै विकास भइसकेको छ । स्वर्ण महोत्सवको अवसरमा क्याम्पसले सप्ताहव्यापी कार्यक्रम गर्दैछ । उद्घाटन सत्र अघि बाजागाज र झाँकी सहित ¥याली निकालिएको थियो । ¥यालीले नगरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *