गौतमबुद्ध विमानस्थल : दशैंसम्म अन्तर्राष्ट्रिय उडान परीक्षण

टोपराज शर्मा
बुटवल, २२ फागुन ।

रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन अझै कम्तीमा एकवर्ष लाग्ने भएको छ । सन् १९५८ देखि सञ्चालित ६१ वर्ष पुरानो विमानस्थललाई स्तरोन्नति गर्ने सरकारको निर्णयसंगै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको औपचारिक उद्घाटन गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजनामा परेको यो विमानस्थल तीन वर्ष (डिसेम्बर २०१७ ) मा पूरा गर्ने लक्ष्य भएपनि मधेश आन्दोलन, भारतको नाकाबन्दी, बन्द हड्ताल,निर्माण समग्रीको अभाव जस्ता कारणले निर्धारित समयमा पुरा नभएपछि दुईपटक म्याद थप भएको छ । जुन २०१८ मा पहिलोपटक र जुन २०१९ मा दोस्रोपटक म्याद थप भएको आयोजनाको कामले पछिल्लो समय भने गति लिएको छ । ६ अर्ब ८० करोड रुपैयाँ लागतको यस विमानस्थलमा एशियाली विकास बैंक (एडीबी)को ऋण ४०.५ प्रतिशत, एडीबीको अनुदान ८ प्रतिशत ओएफआईडी ऋण ३०.५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लागत साझेदारी रहेको छ । सन् २०१४ नोभेम्बर १३ मा कुल ८५.५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनसँग आईसीबी १ नम्बर परियोजनाका लागि ७८.३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो । विगतमा नेपाली सहायक ठेकेदार कम्पनीसंगको आर्थिक लेनदेनका कारण काममा ढिलाई गरेर आलोचित बनेको चिनिया ठेकेदार कम्पनीले पछिल्ला ६ महिनायता भने द्रुत गतिमा काम गरिरहेको छ । उसले करिब ५० जना चिनियासहित करिब चारसय जना कामदारलाई दैनिक दुई सिफ्टमा काम गराइरहेको छ । विमानस्थलको महत्वपूर्ण काम अन्तर्गत तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग (रन वे) मा चार तह मध्ये तीन तह (लेयर) को पीच काम सकिएको र एक लेयर पीचको काम मात्र बांकी रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए । यस्तै ५१ हजार ८ सय मिटरको इन्टरनेसनल एप्रोन ( विदेशी जहाज पार्किंङ स्थल ) र ८ हजार १ सय ९० मिटरको डोडेस्टिक एप्रोन निर्माण पनि सम्पन्न भएको छ । मुख्य प्रशासनिक भवन, २ किलोमिटर बढी घांघराखोला डाइभर्सन, विद्युतीय सव स्टेशन, १६ सय मिटर नाली, ५.८ किलोमिटर फेन्सिङ निर्माणको काम पनि पूरा भएको अधिकारीले बताए । अहिले १५ हजार एक सय ६९ वर्ग मिटरको मुख्य टर्निमल भवन, २ हजार एक सय ४१ वर्ग मिटरको कन्ट्रोल टावर भवन, पाँचहजार वर्ग मिटरको आन्तरिक यात्रु आवागमन टर्मिनल र १५ हजार वर्ग मिटरको अन्तर्राष्ट्रिय यात्रु कक्ष निर्माणको काम अन्तिम चरणमा छ । लिंक ट्याक्सी वेको पीच, अग्नि नियन्त्रण कक्ष निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । हाल सञ्चालनमा रहेको रन वेलाई पूर्व तर्फ २ सय मिटर र पश्चिम तर्फ २ सय मिटर बढाएर ट्याक्सी वे बनाइएको छ । ट्याक्सी वेको कुल लम्बाई १ हजार ९ सय मिटर र २३ मिटर चौडाई छ । विमानस्थल वरपर तारबार, ओभरहेड पानी ट्यांकी निर्माणको काम अन्तिम चरणमा छ । यस्तै ९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँ लागतमा कार्गो भवन पनि निर्माणकै चरणमा छ । कार्गो भवन त्रिभुवन विमानस्थलमा रहेको भन्दा अत्याधुनिक र अन्तर्राष्ट्रिय मापदण्डको बन्न लागेको आयोजना प्रमुख अधिकारीले बताए । त्यस्तैगरी अन्तर्राष्ट्रियतर्फ ४ वटा र अन्तरिकतर्फ २ वटा पार्किङ वे निर्माण भएको छ । यस्तै एक हजार ६ सय ८ वर्ग किलोमिटरको क्रस फाएर रिसोर्स बिल्डिङ निर्माणको अन्तिम चरणमा छ । आयोजना प्रमुख अधिकारीका अनुसार फागुन पहिलो हप्तासम्म ६७ प्रतिशत भौतिक निर्माणको काम पूरा भएको छ । अधिकांश संरचना निर्माणको अन्तिम चरणमा पुगेका र फिनिसिङको काम चार महिनाभित्रमा पूरा गरी यही वर्षको सेप्टेम्बरसम्म परीक्षण उडान गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । विमानस्थलका सबै संरचनाहरुको निर्माण सकेर पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै कम्तीमा एक वर्ष लाग्ने आयोजना प्रमुख अधिकारीले बताए । ‘सन् २०२० मा शुरु हुने नेपाल भ्रमण वर्षसम्म यो विमानस्थल पनि सञ्चालनमा ल्याउने लक्ष्य छ’—उनले भने—‘हाम्रो प्रयास त त्यो भन्दा अगाडि नै सकौं भन्ने छ तर कामको चापले सन् २०२० अघि पूरा हुन सक्ने संभावना न्यून छ ।’ यो विमानस्थल नजिक डांडाकांडा नभएका र अत्याधुनिक उपकरण जडान हुने भएकाले त्रिभुवन अन्तारष्टिय विमानस्थल भन्दा सुरक्षित हुने मानिएको छ । धावनमार्गको दुबैतर्फ समथर भुभाग र ४०० देखि ६०० मिटर भिजिबिलिटीमै विमान उड्न र अवतरण गर्न सक्ने विमानस्थलका विशेषता रहेका आयोजना प्रमुख अधिकारीले बताए ।

अन्तराष्ट्रिय उडान शुरु भएसंगै यो विमानस्थलबाट दैनिक दुई हजार बढीले यात्रा गर्ने अनुमान छ । सञ्चालनमा आएको एक वर्षमा चार लाख १३ हजार बढीले सो विमानस्थल प्रयोग गर्ने लक्ष्इ छ । सन् २०३३ सम्ममा प्रत्येक तीन—तीन मिनेटमा आन्तरिक तथा प्रत्येक घन्टामा तीनदेखि चार वटा अन्तराष्ट्रिय उडान भर्ने क्षमता विमानस्थलको हुने आयोजना प्रमुख अधिकारीले बताए । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि दैनिक आन्तरिक उडानबाट एक लाख २० हजार र अन्तराष्ट्रिय उडानबाट २० हजार नागरिकले सो विमानस्थल प्रयोग गर्ने लक्ष्य राखिएको छ । विमानस्थलबाट बोइङ ७७७–२००, एयर बस ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन् । दोस्रो चरणमा १६० वटा ट्याक्सी तथा सवारी साधन अटाउने गरी अन्तराष्ट्रिय कार पार्किङस्थल बनाइनेछ भने आन्तरिक एप्रोनमा थप चार वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीका जहाज पार्किङ गर्न मिल्ने गरी तयारी गरिएको छ । तेस्रो चरणमा ट्याक्सी वेको लम्बाई एघार सय मिटर लामो र २३ मिटर चौडाइको बनाइनेछ । अन्तर्राष्ट्रिय पार्किंङ एप्रोनमा ६ वटा वाइड बडी विमान र आन्तरिक पार्किंङ एप्रोनमा ४ वटा विमान एकपटकमा पार्किंङ गर्न सकिनेछ ।

१८ अर्ब २० करोड मुआब्जा वितरण
करिब ८ सय बिघा क्षेत्रफलमा स्तारेन्नति र विस्तार भएको विमानस्थलका लागि ६ सय बढी भौतिक संरचनासहित दुई हजार दुईसय जनाको जग्गा अधिग्रहण गर्नुपरेको थियो । ती मध्ये एकहजार सातसय जनालाई विमानस्थल आयोजनाले मुआब्जा वितरण गरेको छ । मुआब्जा वितरणका लागि चार किस्ता गरेर हालसम्म १८ अर्ब २० करोड रकम निकासा भइसकेको र पछिल्लो किस्तामा आएको रकम वितरण भइरहेको छ । मुआब्जा वितरणका लागि अझै ५ अर्ब ४० करोड रुपैयां अपुग भएकाले उक्त रकम निकासाका लागि मन्त्रालयमा पत्राचार भइसकेको आयोजनाका प्रमुख अधिकारीले जानकारी दिए ।
विमानस्थलको सञ्चालन सरकारले अर्को निर्णय नगर्दासम्म नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार प्राधिकरणले नै गर्ने प्राधिकरणका निर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताए ।

Facebook Comments