स्वर्गद्वारी आर्थिक मुहान

गौतमबुद्ध सन्देश
प्युठान, २० फागुन ।

स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायले स्वर्गद्वारी नगरपालिकाको आर्थिक मुहान भएको बताएका छन् । उनले प्रदेशकै मुख्य ठाउँ एवं धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्वारी भएको दावी गरेका छन् । शनिवार आन्तरिक पर्यटन प्रवद्र्धन तथा अवलोकन भम्रण कार्यक्रममा नगरप्रमुख रोकायले नगरलाई चिनाउने मुख्य गन्तव्य स्वर्गद्वारी भएको बताए । स्वर्गद्वारी प्रभुको आस्थाका कारण यो स्थानमा धेरै पर्यटकहरु आउने गरेको उनले बताए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले लुम्बिनी र प्युठानको स्वर्गद्वारीमा पर्यटकहरु वढाउने उद्देश्यले गरेको आन्तरिक भ्रमणले सार्थकता ल्याउन नगरप्रमुख रोकायले आग्रह गरे । स्वर्गद्वारी नगरपालिका सदैव नीजि क्षेत्रसँग सहकार्य गरि अगाडि बढेको उनले बताए । उनले भने, ‘तीर्थस्थल स्वर्गद्वारीमा पर्यटक बढाउन समेत नीजि क्षेत्रको सहयोग आवश्यक छ ।’ नीजि क्षेत्र होटल व्यवसायीक संघ प्यूठानलाई सहकार्य गरि अगाडि बढ्ने उनले बताए । लुम्बिनीमा आएका पर्यटकलाई स्वर्गद्वारीमा ल्याउन नगरपालिकाले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको उनले जनाए ।

रोकायले स्वर्गद्वारीको विकासका लागि थुप्रै कामहरु अगाडि बढेको बताए । भिंग्री–स्वर्गद्वारी सडक स्तरउन्नती गर्ने काम अगाडि बढेको उनले बताए । उनले भने, ‘आउँदो असारसम्म भिंग्री–स्वर्गद्वारी सडक २ किमी कालोपत्रे गर्ने छौँ ।’ त्यस्तै स्वर्गद्वारीमा पार्कहरु निमार्ण गर्न डीपीआर बनाइएको उनले बताए । स्वर्गद्वारीको विकास र पवद्र्धन गर्न होटल व्यवसायी सहकार्य गरेर अगाडि बढेमा लिजमा जग्गा दिने बताए ।

स्वर्गद्वारीलाई अनुशासित, धार्मिक दृष्टिकोणले हेरिदिन उनले आग्रह गरे । उनले भने, ‘स्वर्गद्वारीमा निषेधितवस्तु प्रयोग गर्न नपाईने हुँदा त्यो प्रयोग नगरिदिन होटल व्यवसायीहरुलाई आग्रह गर्दछु ।’ त्यस्तै स्वर्गद्वारीमा आउउने पर्यटकलाई सहज गराउने उद्देश्यले केबलकारको प्रक्रिया अगाडि बढेको उनले बताए । उनले भने, ‘केही समयमा केबलकार बन्छ ।’ नगरबासीलाई चिनाउने मुख्य पर्यटकीय तिर्थस्थल स्वर्गद्वारीको विकास गर्न स्थानीय सरकार सदैव अग्रसर हुने उनले बताए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले लुम्बीनीमा आउने पर्यटकलाई प्यूठानको स्वर्गद्वारीमा र स्वर्गद्वारीमा आउने पर्यटकलाई लुम्बिनीमा आवतजावत बनाउन कार्यक्रमहरु अगाडि बढाएको जनाएको छ । संगठनले प्रदेशकै १२ वटा जिल्लामा यस्ता कार्यक्रम गर्दै आएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष अनिलकुमार ज्ञवालीले दुवै क्षेत्रमा पर्यटकहरु बढाउन र आवतजावत गराउन रुपन्देहीका प्रत्येक होटलमा स्वर्गद्वारीको तस्बिर राखी प्रचारप्रसार गर्ने र प्यूठानका सम्पूर्ण होटल व्यवसायीहरुले लुम्बिनीको तस्बिर राख्ने बताए ।

अन्तक्र्रियामा होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष गंजबहादुर थापाले पर्यटक विना होटल नचल्ने हुँदा होटल व्यवसायी चनाखो भई लाग्नुपर्ने बताए । पर्यटनको क्षेत्रमा सदैव होटल व्यवसायी संघ प्यूठान अग्रसर भई कार्य गरेको उनले बताए ।

Facebook Comments