चर्को ब्याजदर विरुद्ध थप आन्दोलन

गौतमबुद्ध सन्देश

भैरहवा, २८ माघ ।

बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका रुपन्देहीका उद्योगी–व्यवसायीले तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । उद्योग व्यापार संगठन रुपन्देही नेतृत्वमा उद्योगी–व्यवसायी संघ–संस्थाले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी तेस्रो चरणको कार्यक्रम घोषणा गरेका हुन् ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले मागहरुलाई सरकार र बैंकहरुले बेवास्ता गरेका कारण तेस्रो चरणका कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए । तेस्रो चरण अन्तर्गत माघ २८ गते देखि फागुन ३ गते सम्म यस क्षेत्रमा केन्द्रिय कार्यालय रहेका बैंक र शाखा कार्यालय मार्फत् केन्द्रिय कार्यालयहरुमा ब्याजदर घटाउने माग सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । यस क्षेत्रमा करिब ५० वटा बैंक तथा वित्तीय संस्था छन् । ती संस्थामा पुगेरै ज्ञापनपत्र बुझाइनेछ । त्यस्तै, फागुन ४ गते देखि ७ गते सम्म सम्पूर्ण उद्योगी व्यवसायीले व्यक्तिगत रुपमा ब्याजदर घटाउन माग गर्दै बैंक तथा वित्तीय संस्थामा निवेदन दिने अध्यक्ष भण्डारीले बताए ।

त्यस्तै फागुन ८ गते प्रमुख जिल्ला अधिकारी, राष्ट्र बैंकका निर्देशक, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योगी व्यवसायीको बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र यति गर्दा समेत व्याजदर नघटे ९ गते व्यक्तिगत खाता बन्द गर्ने चेतावनी सहित सबै व्यवसायीहरुले आ–आफ्नो खाता सञ्चालन रहेको बैंकमा निवेदन दिने लगायतका कार्यक्रम घोषणा व्यवसायीले गरेका छन् ।

८ र ९ गतेको आन्दोलन पछि १० गते आफ्ना व्यवसायिक प्रतिष्ठान बन्द गरेर तालाचाबी नेपाल राष्ट्र बैंकलाई बुझाउने व्यवसायीको चेतावनी छ । यस अघि व्यवसायीले राष्ट्र बैंक सिद्धार्थनगर र बैंक मार्फत् गभर्नर, जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री र प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै शुक्रबार राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवामा एक घण्टा धर्ना समेत दिएका थिए ।

संगठनको नेतृत्वमा बिहीबार वस्तुगत समिति, संघ–संस्था गरी १० वटा संस्था बीच भैरहवामा छलफल समेत भएको छ । छलफलमा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले ब्याज बृद्धिले निकै मर्कामा परेको जनाउँदै बैंकहरुले ब्याज नघटाए सम्म आन्दोलन जारी राख्ने बताए ।ब् याजदर बृद्धि विरुद्ध व्यवसायी दुई हप्ता देखि चरणबद्ध आन्दोलनमा छन् ।

सिद्धार्थ यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष सुर्य कुमार सारु मगर, नयाँ शक्ति पार्टी नेपाल सिद्धार्थनगरका अध्यक्ष शोभाकान्त नेपाल, उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष खिम बहादुर खत्री, संगठनका सल्लाहकार ज्ञानु पौड्याल, लुम्बिनी इट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ता लगायतले बोल्दै ब्याजदर तुरुन्त घटाउनु पर्ने माग गरे । उनीहरुले व्यवसायीबाट चर्को ब्याज असुलेर आर्थिक समृद्धि नहुने समेत बताए ।

व्यवसायीका अनुसार बैंकहरुले ७÷८ प्रतिशतमा दिएको ब्याज अहिले बढाएर १६.७५ प्रतिशत सम्म पु¥याएका छन् । व्यवसायी उक्त ब्याजदर घटाएर ८–९ प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *