नेकपा सिद्धार्थनगर ६, ७ र ९ को सपथ ग्रहण

गौतमबुद्ध सन्देश

भैरहवा, २७ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लो तह सम्म एकीकरण अभियानलाई तिव्रता दिएको छ । सोही अनुरुप सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडाहरुमा एकीकरण पश्चात सपथ ग्रहण अभियान सम्पन्न भएको छ । त्यसै क्रममा नेकपा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को वडा कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका प्रदेश नम्बर ५ कमिटी सदस्य तथा रुपन्देही जिल्ला कार्यदल सदस्य विश्वराज बराल (अनुप) ले सपथ ग्रहण गराएका हुन ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि बरालले पार्टी एकता नै अहिलेको आवश्यकता रहेकोले दुई पार्टी बीच एकीकरण भएको बताए ।

कार्यक्रममा पार्टीका नेता भरत कुमार पोखरेल, राजेन्द्र पन्थी, कमला थापा, नेकपा सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य, सचिव जीवलाल अर्याल, नगर कमिटी सदस्य शरदचन्द्र श्रीवास्तव, रण बहादुर कुंवर लगायतले पार्टी एकताका बारेमा बोलेका थिए ।

नेकपा सिद्धार्थनगर वडा नम्बर ६ का वडाअध्यक्ष राम दयाल गुप्ताको अध्यक्षता तथा सचिव मदन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै नेकपा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को वडा कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका प्रदेश नम्बर ५ कमिटी सदस्य पुष्पाञ्जली उपाध्यायले एक कार्यक्रमका बीच सपथग्रहण गराइन् ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि उपाध्यायले देशको आवश्यकता नै बामशक्तिहरुको एकता रहेको बताइन । कार्यक्रममा पार्टीका नेताहरु हितराज पन्थी, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य, सचिव जीवलाल अर्याल, नेतृ उमा अधिकारी लगायतले सरकारले गरेका कामहरु जनतामाझ लैजानुपर्ने बताए ।

नेकपा सिद्धार्थनगर वडा नम्बर ७ का अध्यक्ष कमलेश बहादुर श्रेष्ठको अध्यक्षता तथा सचिव बाबुराम भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर वडा नम्बर ९ को वडा कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य तथा पूर्व भुमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले सपथ ग्रहण गराएका हुन् ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि खाँले कम्युनिष्ट पार्टी भनेकै उत्पीडितहरुको पक्षमा उभिने पार्टी भएको बताए । विशिष्ट अतिथि नेकपा प्रदेश नम्बर ५ कमिटी सदस्य तथा रुपन्देही जिल्ला कार्यदल सदस्य निर्मल जि.सी., सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य, सचिव जीवलाल अर्याल, नेता डासुराम पाण्डे लगायतले पार्टी एकताका बारेमा बोलेका थिए । नेकपा सिद्धार्थनगर वडा नम्बर ९ का अध्यक्ष मणि भट्टराईको अध्यक्षता तथा सचिव वसन्त भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments