न्यु मुन एकेडेमी र स्पाङ्गल विजयी

गौतमबुद्ध सन्देश
भैरहवा, २५ माघ ।

बिहीबारबाट भैरहवामा १७ औं सामूहिक खेलकुद महोत्सव सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा भएको खेलकुदको उद्घाटन खेलमा न्यू मुन एकेडेमी र स्पांगल इङ्गलिस स्कूलले विजयी सुरुवात गरेका छन् । पहिलो दिन सिद्र्धा रंगशालामा भएको एकमात्र सटपुट खेलमा छात्रातर्फ न्यू मुनकी पुजा भुज प्रथम भइन् । छात्रतर्फ स्पांगलका संचिनसिंह यादव प्रथम भए । त्यस्तै छात्रातर्फ सिबी पब्लिक स्कूलकी सुनिता रसाइली दोस्रो र लुम्बिनी शिक्षा निकेतनकी रञ्जना लोध तेस्रो भइन् । छात्रतर्फ युनिक होम्स हाई स्कूलका विवेक चौधरी दोस्रो र साइ ग्लोकल एकेडेमीका रियाकुदिन खाँन तेस्रो भएको खेल संयोजक विष्णु पन्थीले जानकारी दिए ।

प्रतियोगिताका अन्य खेलहरु शुक्रबार र शनिबार सिद्धार्थ रंगशालामा आयोजना हुने छ । यसअघि खेल महोत्सवको उद्घाटन गर्दै प्रदेश पाँचकी उपसभामुख कृष्णी थारुले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न टेवा पुग्ने बताइन् । उनले सिद्धार्थनगरले खेल क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताउँदै खेलकै माध्यमबाट राष्ट्रलाई विश्वमा चिनाउन सकिने जनाइन् । उपसभामुख थारुले भर्खरै मात्रै राष्ट्रिय क्रिकेट टीमले अन्तर्राष्ट्रि दुई सिरिज जितेर नेपालको विश्वसामु नाम राखेको बताउँदै उनले यहाँबाट उत्पादन हुने खेलाडीले पनि देशको इज्जत राख्ने बताइन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले सामूहिक विद्यालय परिवारले शिक्षासँगै खेल क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताए । उनले खेलकुदको विकासका लागि परिवारसँग नगरपालिकाले हातेमालो गर्ने जनाए । नगर क्षेत्रभित्र हुने विभिन्न प्रतियोगिताहरुलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए । गत वर्षदेखि मेयर कप क्रिकेट संचालन गरिएको जनाउँदै अधिकारी यस्तैगरी अन्य खेललाई पनि प्राथमिकता दिई अघि बढ्ने बताए ।

परिवारका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बरिष्ठ प्रहरी उपरीक्षक राजेश कुमार लाल कर्ण, प्याब्सन प्रदेश पाँचका अध्यक्ष रामप्रसाद पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, खेलकुद विकास समितिका सचिव संगम थापा, परिवारका सचिव मनोज यादव, खेल संयोजक विष्णु पन्थी लगायतले बोल्दै खेलकुदको महत्वबारे चर्चा गरेका थिए । उद्घाटन सत्रअघि भैरहवाको बुद्धचोकबाट ¥याली निकालिएको थियो ।

Facebook Comments