ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र

गौतमबुद्ध सन्देश
भैरहवा, २१ माघ ।

बैंकहरुले मनोमानी रुपमा बढाएको भनिएको ब्याजदर घटाउन माग गर्दै आएका यहाँका उद्योगी व्यवसायीहरुले आइतवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । बैंकहरुले मनलाग्दी ब्याज बढाएको भन्दै उद्योग व्यापार सगंठन रुपन्देहीले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ । संगठनले जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

संगठनले बैंकिङ कालोबजारी बन्द गर्नुपर्ने र उद्योगी व्यवसायीहरुको व्याजदर ८ प्रतिशत कायम गर्नुपर्ने माग राख्दै यस अघि नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोक कुमार पौडेललाई र निर्देशक पौडेल मार्फत गर्भनरलाई ज्ञापनपत्र बुझाइसकेको छ । त्यस्तै माघ २२ गते व्याजर घटाउन माग गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई र मुख्यमन्त्री मार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संगठनले जनाएको छ ।

बैंकहरुलाई नियन्त्रण गर्ने नेपाल सरकार मातहतको राष्ट्रले के गरिरहेको छ भन्ने प्रश्न चिन्ह खडा भएको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । राष्ट्र र उद्योगी, व्यवसायीहरु जस्तो समस्यामा परे पनि राष्ट्रमा नाकाबन्दी, आन्दोलन, संकट आए पनि बैंकहरु लगातार नाफामा गइरहेको भए तापनि ब्याजदर वृद्धि गर्नु न्यायोचित नभएको भण्डारीले बताए ।

त्यस्तै माघ २५ गते वस्तुगत व्यवसायिक संस्था सहित अन्य संघ–संस्था र आम उद्योगी व्यवसायीलाई आह्वान गरेर वृहद् रुपमा नेपाल राष्ट्र बैंकमा शान्तिपूर्ण तरिकाले धर्ना दिने कार्यक्रम रहेको संगठनका वरिष्ठ उपाध्यक्ष ग्रिसचन्द्र त्रिपाठीले बताए । त्यस पछि पनि मागको सुनवाइ नभए तेस्रो चरणको कार्यक्रम घोषणा गरेर सांकेतिक रुपमा बजार बन्द र व्यवसायिक प्रतिष्ठानका चावी राष्ट्र बैंकलाई बुझाउने त्रिपाठीले जानकारी दिए । त्यसपश्चात पनि सरकारले नसुने राष्ट्रस्तरका व्यवसायिक संघ–संस्थाहरुलाई आह्वान गरेर अर्थमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्ने उनले बताए । हाल घोषणा गरिएका कार्यक्रम जिल्लास्तर र प्रदेशस्तरको रहेको संगठनले जनाएको छ ।

बैंकहरुले शेयरधनीलाई दिने बोनस बढाएर ४० प्रतिशत सम्म पु¥याइ सके पनि उद्योगी, व्यवसायीहरु आफ्नो व्याज र किस्ता तिर्न नसकेर बैंकको ऋण व्याज तिर्न अर्काे साहु कहाँ दौडन परिरहेको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए । जब ७ प्रतिशतमा दिएको ब्याज बढाएर १४ सम्म बनाउँदा नेपाल सरकारको कालोबजारी ऐन कहाँ गएको छ ? ज्ञवालीले भने । व्यवसायीहरुले रु. १० को सामानलाई रु. १२ मा विक्री गर्दा कालोबजारी ऐन अन्तर्गत जेल हालिन्छ भने बैंकहरुलाई त्यो ऐन भित्र लाग्दैन भन्ने आम उद्योगी व्यवसायीहरुको जिज्ञासा र माग रहेको हुँदा बैंकहरुले दिएको ऋणको ब्याजदर बढीमा ९ प्रतिशत कायम हुने गरी निर्देशन जारी गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको उनले बताए ।  ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले उद्योगी व्यवसायीहरुको मागहरु सम्बन्धित निकायमा पठाउने बताए ।

नघटाए तालाचाबी बुझाएर आन्दोलन

बुटवल, २१ माघ । (गौबुस)
रुपन्देहीका उद्योगीहरुले बैंकहरुले कर्जामा लिंदै आएको ब्याज दर नघटाए उद्योगका ताला चाबी सरकारलाई बुझाएर चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । नेपाल राष्ट बैंकले निक्षेपको ब्याजदर घटाउन दिएको निर्देशन बैंकहरुले पालना गर्ने तर कर्जाको ब्याज दर नघटाएकाले आन्दोलनमा उत्रिनुपरेको उद्योगीहरुको भनाई छ ।

रुपन्देही उद्योग संघले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गणेशप्रसाद अधिकारीले बैंकहरुले ८ प्रतिशतमा सहमति गरेर लिएको कर्जाको ब्याजदर एकतर्फीरुपमा १६ प्रतिशत सम्म पुराएको दावी गरे । ‘कर्जा दिने बेलामा घरघर आई फकाएर एउटा दर लगाउंछन्,केही महिनापछि एसएमएस र चिठीको भरमा बढाउंछन्’—अधिकारीले भने—‘अब्यवहारिक र एकतर्फीरुपमा बढाइएको ब्याजदर घटाउन गभर्नरलाई समेत ज्ञापनपत्र बुझाएका छौं, माग सम्बोधन नभए उद्योगका ताला चाबी बुझाएर चरणवद्ध आन्दोलनमा जान्छौं ।’ एक्कासी ब्याज दर बढाउंदा उद्योगहरुको उत्पादनमा १५ प्रतिशतले कमी आएको र यही अवस्था रहे अधिकांश उत्पादनमूलक उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने अध्यक्ष अधिकारीले बताए । दुई तिहाई वहुमतसहितको स्थिर सरकार बनेपनि चर्को बैंक ब्याज दरका कारण लगानीमैत्री वातावरण अझै नबनेको बरु पुंजी पलायनको खतरा बढेको अध्यक्ष अधिकारीले औंल्याए । बैंक ब्याज दर तत्काल नघटाए लगानी अझै संकुचित हुने र सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धि दरको लक्ष्य हासिल नहुने पनि अधिकारीले बताए ।

स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने हो भने बैंकहरुले प्रवाह गर्ने कर्जामा ५० प्रतिशत उत्पादनमूलक उद्योगमा सरल तरिकाले र न्यून ब्याज दरमा लगानी गर्ने व्यवस्था गर्न पनि संघले सरकारसंग माग गरेको छ । संघका पुर्व अध्यक्ष एजाज आलमले बैंकहरुले निक्षेपको ब्याज दर तत्कालै घटाउने तर कर्जाको ब्याज दर घटाउन चासो नदिएकाले देशभरका उद्योगी व्यवसायी आन्दोलित भएको बताए । संघका पुर्व अध्यक्ष बोनिन पियाले बैंकहरुले सवारी साधन खरिद, घर निर्माण जस्ता अनुत्पादक क्षेत्रमा कम ब्याज दरमा सहजरुपमा कर्जा लगानी गर्ने तर उत्पादनमूलक क्षेत्रमा चर्को ब्याज दर असुलेर नाफा आर्जनलाई मात्रै प्राथमिकता दिने गरेको गुनासो गरे । वर्षेनी करोडौंदेखि अर्बौंसम्म नाफा कमाउने बैंकहरुले उद्योगी व्यवसायीलाई सहुलियत दिने विषयमा कहिल्यै नसोंचेको गुनासो गर्दै उनले बैंकहरुले ब्याज दर बढी असुलेर बैंकिंग कालोबजारी गरिरहेको आरोप समेत लगाए । संघले ब्याज दर घटाउन दवाव दिने उद्देश्यले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझाउने जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *