कार्यालय सारिएको विरोधमा दिनहुँ हस्ताक्षर

गौतमबुद्ध सन्देश
भैरहवा, २१ माघ ।
भैरहवा स्थित जिल्ला कृषि विकास कार्यालय भवनबाट स्थानान्तरण गरिएको कृषि विकास निर्देशनालय र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय भैरहवामा नै सरकारी भवनमा पुर्नस्थापना गर्नुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी नेपाल सिद्धार्थनगरले बुधबार देखि सुरु गरेको हस्ताक्षर अभियान आइतबार पनि जारी रहेको छ ।

भैरहवाको बुद्धचोकमा सुरु गरिएको अभियानको प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले हस्ताक्षर गरेर शुभारम्भ गरेका थिए । त्यस्तै बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेटको अगाडी गरिएको दोस्रो दिनको हस्ताक्षर संकलन अभियानको शुभारम्भ सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले गरेका थिए ।

यसै गरी शुक्रबार विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, उद्योगी व्यवसायीहरु हस्ताक्षर अभियानमा उत्साहजनक रुपमा सहभागि भएको पार्टीले जनाएको छ । त्यस्तै आइतबार पार्टी रुपन्देही जिल्ला अदालत अगाडी हस्ताक्षर अभियान सम्पन्न गरेको छ । वरिष्ठ समाजसेवी तथा अधिवक्ता कुलानन्द ज्ञवाली र नमूना एकीकृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले हस्ताक्षर गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस्तै अभियानमा सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भिष्म न्यौपाने, महासचिव नेत्र प्रसाद आचार्य, सचिव विजय पाण्डे, संघका कार्यकारी सचिव आनन्द खनाल, सिद्धार्थ यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष सुर्य कुमार सारु मगर, प्याब्सन रुपन्देहीका सचिव लक्ष्मण ज्ञवाली, रुपन्देही जिल्ला अदालत बार एशोसियशनका अध्यक्ष नर्सिङ चौधरी लगायतले हस्ताक्षर गरेका छन् ।

भैरहवामा प¥याप्त सरकारी भवन हुँदाहुँदै प्रदेश सरकारले विभिन्न कार्यालयहरु बुटवल र तिलोत्तमा नगरपालिका भित्र भाडाका भवनमा स्थानान्तरण गर्नु न्यायोचित नभएको भन्दै नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीले विरोध गरिरहेको छ । पार्टीले यस अघि नै माघ १ गते विज्ञप्ति निकालेर विरोध जनाएको तथा माघ ८ गते रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर मार्फत प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाइसकेको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संरक्षक परिषद सदस्य तथा सिद्धार्थनगरका अध्यक्ष शोभाकान्त नेपालले बताए । भैरहवामा भवनहरु खाली हुँदाहुँदै मासिक लाखौं रुपैयाँ भाडा तिरेर कार्यालय सार्नु संघीयताको मर्म विपरीत भएको नेपालले बताए ।
भैरहवामा सरकारी स्वामित्वका धेरै भवनहरु छन् । तर, राजनीतिक स्वार्थ र दाउपेचमा यहाँबाट कार्यालयहरु स्थानान्तरण गरी भाडाको भवनमा राखिएको छ । सरकारी स्तरबाट गरिएका यस्ता क्रियाकलापले संघीयताप्रति नै आम जनमानसमा वितृष्णा आएको छ । भैरहवामा विगाहा क्षेत्रफलमा फैलिएका दर्जन बढी भवन छन् । तर ती भवनलाई बेवास्ता गरी भाडाको भवनमा कार्यालय सञ्चालन गर्नु आर्थिक लाभको स्वार्थ पनि गाँसिएर हो, उनले भने । पार्टीले सुरु गरेको हस्ताक्षर अभियानमा सिद्धार्थनगरवासी स्वतःस्र्फूत रुपमा सहभागि भएको उनले बताए । माग सुनुवाइ नभए थप संघर्षका कार्यक्रमहरु गरिने युवा शक्ति नेपाल रुपन्देहीका संयोजक दिलिप कुमार वि.क.ले बताए ,

साविक कृषि विकास कार्यालयको स्वामित्वमा २ कठ्ठा जग्गामा ३ तल्ले कार्यालय भवन, ४ कठ्ठामा ४ वटा आवास भवन, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको स्वामित्वमा ५२ विगाहा क्षेत्रफलमा १५ भवन, जिल्ला पशुसेवाको १९ कठ्ठा जग्गामा ५ भवन, पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियामा २ वटा भवन, क्वारेन्टाइन कार्यालयको २ वटा भवन, मत्स्य विकास केन्द्रको २३ हेक्टर जमिनमा १५ भवन, साविक जिल्ला डिभिजन सहकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन खाली हुँदाहुँदै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयकै संलग्नतामा षड्यन्त्रपूर्वक र आर्थिक लाभका लागि कृषि निर्देशनालय र पशुपंक्षी तथा मत्स्य निर्देशनालय तिलोत्तमा नगरपालिकामा नीजि भवनमा भाडामा राखिएको भन्दै पार्टीले विरोध जनाएको छ ।

Facebook Comments