ओमसतिया महोत्सवको तयारी

गौतमबुद्ध सन्देश

भैरहवा, १४ माघ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६, स्थित नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ हुने भएको छ । श्री राम जानकी मन्दिर, रंगशाला, सभाहल व्यवस्थापन समितिको आयोजनामा आगामी फागुन ३ गते देखि ११ गते सम्म महोत्सव हुनेछ ।

ओमसतिया गाउँपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेल मैदान, सभाहल तथा रामजानकी मन्दिर निर्माण गर्ने तथा गाउँपालिकाको खेलकुद, कला संस्कृति एवं कृषिको प्रबर्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको संयोजक तथा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए । महोत्सवमा कबड्ढी, भलिबल प्रतियोगिता र देव थापा, राहुल थापा, बसन्त थापा जस्ता नेपालका चर्चित पहलमानहरुको कोबरा, राहुल र दारा सिंहका भतिज जस्ता भारतीय पहलमानहरु बीच कुस्ती महामुकबलाका साथै महिला पहलमानहरु बीच कुस्ती प्रतियोगिता हुने धवलले जानकारी दिए ।

त्यस्तै झुमडा, डान्स आइडल अफ ओमसतिया जस्ता कला सांस्कृतिक कार्यक्रमका साथै नेपाली चर्चित राष्ट्रिय गायक अशोक दर्जी, टंक बुढाथोकी र ए.आर. बुढाथोकी लगायत कलाकारको प्रस्तुती रहने उनले बताए । महोत्सवमा भोजपुरी सुपरस्टार गायक तथा अभिनेता खेशारीलाल यादवको टिम सहितको विशेष प्रस्तुती रहने आयोजकले जनाएका छन् ।

महोत्सवमा स्टल राख्ने किसानहरुमध्ये उत्कृष्टलाई सम्मान गरिने ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले बताए । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नेछन् । महोत्सवमा स्थानीय किसानले उत्पादन गरेका सामाग्राहरु प्राथमिकतामा रहने श्री राम जानकी मन्दिर, रंगशाला, सभाहल व्यवस्थापन समितिका सल्लाहकार देवन्द्र पाण्डे (सागर)ले बताए । करिब ३ लाख दर्शक सहभागि गराउने लक्ष्य रहेको र अनुमानित ६० लाख खर्च लाग्ने आयोजकको भनाइ छ । महोत्सवमा १४० वटा स्टल रहनेछन् ।

Facebook Comments