अदालतमा मेगाको काउन्टर

गौतमबुद्ध सन्देश

भैरहवा, ९ माघ ।

मेगा बैंक लिमिटेडले रुपन्देही जिल्ला अदालतमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सहजताका लागि बैंकको भैरहवा शाखाले अदालत परिसरमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको हो । एक्स्टेन्शन काउन्टर सञ्चालनले विगतमा सेवाग्राहीले कार्यालयमा बुझाउँदै आएको राजस्व अब सिधै सरकारको खातामा दाखिला गर्न सकिने रुपन्देही जिल्ला अदालतका श्रेष्तेदार संजिव पोखरेलले जानकारी दिए । उनले सेवाग्राहीको कामलाई यसले सहजता प्रदान गरेको उल्लेख गरे ।

सेवाग्राहीले अदालत फिस, जरिवाना, प्रतिउत्तर दस्तुर लगायतका शिर्षकमा राजस्व बुझाउने गर्दछन् । अदालतमा स्थापना गरिएको काउन्टरको एक कार्यक्रमबीच मुख्य न्यायाधीश नरिश्वर भण्डारीले उद्घाटन गरे । उनले एक्स्टेन्सन काउन्टरको स्थापनाले सेवाग्राहीलाई राजस्व दाखिला गर्नमा सहज हुने उल्लेख गर्दै बैंकले प्रवाह गर्ने सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले अदालत निर्धारित समय भन्दा बढी सेवा दिने अड्डा भएकोले बैंकले पनि निर्धारित समय भन्दा बढी सेवा दिनुपर्ने बताए ।

बैंकका प्रबन्धक विप्लवी त्रिपाठीले एक्स्टेन्शन काउन्टरबाट हुने सेवा प्रवाहमा कुनै कमी नहुने बताइन् । उनका अनुसार बैंकले १८ औँ एक्स्टेन्शन काउन्टरको रुपमा अदालतमा काउन्टर सञ्चालनमा ल्याएको हो । उपत्यका बाहिर सरकारी कार्यालयमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याउने मेगा बैंक पहिलो बैंक हो ।

Facebook Comments