नगर समृद्धिको आधार पर्यटन

गौतमबुद्ध सन्देश

भैरहवा, ६ माघ ।
सिद्धार्थनगर नगरपालिका भित्र बढीभन्दा बढी पर्यटकीय स्थलहरु बनाई आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्न सके मात्रै समृद्धि हासिल गर्न नसकिने निचोड निकालिएको छ । शनिबार भैरहवामा सम्पन्न नगरपालिकाको चौथो नगर सभामा बोल्ने सदस्यहरुले स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नगर भएकाले यहाँको समृद्धिको आधार नै पर्यटन भएको निचोड निकालेका हुन् । उनीहरुले बुद्ध जन्मस्थल लुम्बिनीको काखैमा भएर पनि पर्यटकीय गतिविधि उल्लेख नहुँदा नगरले फाइदा लिन नसकेको जनाउँदै अब पर्यटकीय स्थलहरु खोजविन तथा निर्माण गरी फाइदा उठाउनु पर्ने धारणा राखे ।

सभामा बोल्दै नगर प्रमुख हरिप्रसाद अधिकारीले अब नगरले पर्यटन क्षेत्रमा फड्को मार्ने बताए । उनले करिब ३ अर्बमा डण्डा करिडोर निर्माणको योजना बनिरहेको बताउँदै उक्त योजना सफल पार्न सकिए पर्यटन प्रबद्र्धनमा ठूलो योगदान पुग्ने जनाए । ५ किलोमीटर लामो करिडोरमा बौद्ध सम्पदा, मेडिटेसन, पार्क, डुंगा संचालन, ध्यान केन्द्र, बाल उद्यान, साइकिलिंग, मर्निंग वाक क्षेत्र लगायत समेटिएर अत्याधुनिक बनाइने उनले जनाए । उक्त करिडोरका लागि करिब ३ अर्ब बढी खर्च लाग्ने भएकाले दाताको खाजी भइरहेको उनले बताए । ‘यहाँको समृद्धिको आधार पर्यटन नै हो भन्ने दुईमत छैन । गौतम बुद्ध विमानस्थल संचालनमा आयो भने दैनिक हजारौं पर्यटक आउँछन्, स्थलनाका बेलहियाबाट पनि उत्तिकै आउँछन्’, उनले भने, ‘ती पर्यटकहरुलाई यहाँ भुलाउने किसिमका गतिविधि गरेर कम्तिमा पनि एक रात टिकाउन सके मात्रै समृद्धि हासिल हुन्छ । त्यसका लागि नगरले काम गरिरहेको छ ।’

डण्डा नजिकै करिब २ करोड लागतमा पर्यटकीय गेट बनाउन लागिएको, वडानम्बर २ मा पार्क बनिरहेको, वडा नम्बर ३ मा एक करोड रुपैयाँ लागतमा पार्क बनाइने, हाटबजारमा बहुउद्देश्यीय व्यापारिक भवन बनाइने जनाउँदै अधिकारीले यसले नगरलाई समृद्धि तर्फ डोर्याउने जनाए । उनले नगरभित्र निर्माण हुने योजनाहरुको अनुगमनलाई प्रभावकारी बनाइने र जनताको सेवामा दिनरात खट्ने प्रतिबद्धता जनाए । ‘नगरमा फोहोर व्यवस्थापन पनि समस्याका रुपमा रहेको छ । यसलाई व्यवस्थापन गर्न हामी उचित ठाउँको खोजी गरेर ल्याण्डफिल्ड साइट बनाउने छौं’, उनले भने । विकास निर्माणका काममा जनप्रतिनिधि र नगरबासी हातेमालो गरेर अघि बढ्नु पर्ने उनले बताए ।

उपप्रमुख उमा काफ्लेले बस पार्ककम विशाल बुद्ध मूर्ति निर्माण गरिने जनाउँदै नगरलाई व्यवस्थित र हराभरा बनाइने जनाइन् । उनले नगरपालिको बजेट थोरै भए पनि विभिन्न दातृ निकायसँगको सहकार्यमा विकास निर्माणको कामलाई प्राथमिकता दिइने जनाइन् । बढीभन्दा बढी पर्यटन क्षेत्रको विकासका लागि आफूहरु लागेको उनले बताइन् । उनले जोखिमपूर्ण काम गर्ने कर्मचारीहरुको विमा गर्नु पर्ने बताइन् । फोहोर व्यवस्थापन, विद्युतीकरण लगायतका क्षेत्रमा काम गर्ने कर्मचारी सधै जोखिममा हुने भएकाले उनीहरुको विमा जरुरी रहेको काफ्लेको तर्क छ ।

सभामा वडाअध्यक्ष शेषकान्त भण्डारी, मुक्तिनाथ यादव, विरेन्द्रनाथ श्रीवास्तव, वडा सदस्य उमेश थापा लगायतले बोल्दै पर्यटन क्षेत्रको विकाससँगै भौतिक पूर्वाधार विकासलाई पनि विशेष प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने बताए । उनीहरुले निर्माणका क्रममा गुणस्तरीयतासँग सम्झौता गर्न नहुने जनाउँदै त्यसततर्फ सबैले ध्यान दिनु पर्ने बताए । उनीहरुले फोहोर व्यवस्थापनलाई पनि ध्यान दिन आग्रह गरे ।

सभाले सिद्धार्थनगर, मायादेवी गाउँपालिका र सियारी गाउँपालिका मिलेर संयुक्त रुपमा दमकल संचालन गर्ने, डण्डा नजिक पर्यटकीय गेट निर्माण गर्ने, न्यायिक समितिको प्रतिवेदन, पौस मसान्तसम्म कर छुटका लागि भएको सहुलियत, हाटबजारमा बहुउद्देश्यीय व्यापारिका भवन निर्माण, डण्डा परियोजना निर्माणमा पहल गर्ने, वडानम्बर ३ मा पार्क निर्माण लगायतका निर्णयहरु अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले बताए । सभामा डण्डा परियोजना, पर्यटकीय गेट र हाटबजारमा बनाउने भनिएको व्यापारिक भवनका बारे नगर सभा सदस्यहरुलाई बरिष्ठ इन्जिनियर द्वय शैलेन्द्रप्रसाद श्रेष्ठ र यमलाल पाण्डेले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम सूचना अधिकृत देवप्रसाद ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments