बुवाको स्मृतिमा शक्तिले क्रिकेट खेलाउँदै

गौतमबुद्ध सन्देश
बुटवल, ३ माघ ।
क्रिकेटका पुर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरेका छन् । आफ्नो बाँकी जीवन क्रिकेट खेलको विकासमै समर्पित गर्ने र विद्यालय तहबाटै नयाँ क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको गौचनले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका कम्तीमा १६ टिम र बढीमा ४० टिम सम्मलाई सहभागी गराउने लक्ष्य रहेको उनले बताए ।

खेलहरु जिल्लाका देवदह, ओमसतियाको कर्मडांडा र भैरहवाको सिद्धार्थ रंगशालामा खेलाइनेछ । जिल्लामै पहिलो पटक रेड बल र ह्वाइट ड्रेसमा ४० ओभरको खेल खेलाइने पनि गौचनले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिता समपन्न गर्न करिब २ लाख रुपैयां खर्च हुने जानकारी दिंदै उनले टिम दर्ता शुल्क वाहेक अरु खर्च आफैले व्यक्तिगत व्यहोर्ने बताए । आफ्ना बुवा खड्ग प्रसाद गौचनको निधन भएको माघ १४ गते नै प्रतियोगिता सुरु गर्ने उनले बताए । प्रतियोगितालाई हरेक वर्ष बुवाको पुण्यतिथिको दिन पारेर निरन्तरता दिने र अर्को वर्ष देखि ६ महिना अगाडिबाटै तयारी थाल्ने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्याब्सन केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर संजय गुरुङ, पत्रकार विष्णु घिमिरेले क्रिकेटप्रति शक्तिको लगाव, समर्पण र अनुशासनबाट सबैले सिक्नुपर्ने धारणा राखे । तीन वर्ष अघि मृत्यु भएका शक्तिका बुवा खेलाडी नभए पनि क्रिकेट खेलप्रेमी थिए । कार्यक्रमको सञ्चालन न्यू होराइजनका शिक्षक प्रकाश खनालले गरेका थिए ।

Facebook Comments