पृथ्वीनारायणका दिव्योपदेशको सान्दर्भिकता

  • युवराज कंडेल

अहिलेको नेपाल पृथ्वीनारायण शाहको प्रयत्न र परिकंल्पना हो भन्दा आफुलाई अग्रगामी सोच भएको व्यक्ति ठान्ने धेरैलाई पाच्य नहुन सक्छ । नेपालमा धर्म प्रचार गर्न आएका इशाई मिशनरिका पादरिहरुलाई निष्कासित गरेको झाेंकमा उनै पादरिहरुले पृथ्वी नारायण शाहको विरुद्धमा लेखेको कथाको व्याख्यालाइ युरोपियन युनियनको डलरमा विकेका केहि अग्रगामी मनुवाहरुले पृथ्वीनारायण शाहलाई जनजाती विरोधी, खस शासंनका सुत्रधार, नाककान काट्ने अपराधि र एकात्मक शासनका सुत्रधार भन्दै एकोहोरो राग अलापे पनि उनि नेपाललाइ एकताको सुत्रमा बाँध्ने नायक नै हुन् । पहाडी क्षेत्रमा असंख्य भुरे टाकुरे राजाहरुले शासन गरिरहेको र ति शासकहरुले राज्यको संरचना समेत तयार नगरेको अवस्था र दक्षिण तर्फबाट मुगल र अंग्रेजको बढ्दो जगजगीको अवस्थामा पहाडी राज्यहरुलाई जोगाइराख्न यहाका ससाना राज्यहरुको सोच र सामथ्र्य समेत नभएको अवस्थामा बलियो राज्य बनाउने सोचाइ राखेर उनले राज्य एकिकरणको जुन अभियान थाले त्यसैको उपज नै आजको नेपाल हो । नेपालको अस्तित्व देख्न नचाहने र आफुलाई नेपाली भन्न नचाहनेहरुको लागि पृथ्वीनारायण भिलेन भएपनि देशप्रेमिहरुको लागि उनि नायक नै हुन् ।

आजको नेपाल गोरखा राज्यको विस्तार नभएर नेपालको एकीकरण हो । जीवनका उर्वर समय राजकीय मोजमस्तीमा नलागी राज्य एकीकरणमा लगाएका उनले ससाना राज्यहरुलाई जितेर नेपाल निर्माणको शुरुवात गरेका मात्र हैनन्, संबिधान र कानूनको विकास नभएको अवस्थामा राज्य संचालनका आधारहरु समेत निर्धारण गरेको पाइन्छ । जीवनको उत्तरार्धमा उनले राज्य संचालनका आधारभूत सिद्धान्तहरु प्रस्तुत गरेका थिए, यिनै सिद्धान्तहरुलाइ श्री ५ बडामहाराजको दिव्योपदेश भनिन्छ । जीवनका अंतिम दिनहरुमा आफ्नो मृत्युपछि पनि नेपाल राज्य ब्यवस्थित र समुन्नत रहन सकोस भनेर उनले दिएका उपदेशहरु प्रवचन नभएर राज्यका नीतिहरु र राज्यका नीतिगत सिद्धान्तहरु हुन् । नेपाल अहिले राज्य पुनर्संरचना, समावेशिकरण, अधिकारको बाँडफाँड जस्ता मुद्धाहरुमा केन्द्रित रहेको छ । यी मुद्धाहरु बोकेर हिड्नेहरुले अहिले उठाइरहेका कुराहरु दिव्योपदेश मार्फत पृथ्वीनारायणशाहले २४० वर्ष पहिले नै अघि सारेका थिए । प्रस्तुत लेखमा दिव्योपदेशमा भएका विषयवस्तुहरुको वर्तमानमा सान्दर्भिकता केलाउने कोशिस गरिएको छ ।

समावेशीकरण
“मेरा साना दुखले आज्र्याको मुलुक होइन,सबै जातको फुलबारी हो ।सबैलाई चेतना भया ,यो फुलबारीको छोटाबढा चारैजात छत्तिसै वर्नले ( सम्भार गर्नु) ” अहिले पृथ्वीनारायण शाहलाइ खसबादी राज्य बनाउने खलनायक भनि गालिगर्नेहरुलाई उनले आफ्नो दिब्योपदेशमै राज्य सबैको साझा भएको र सबैको सहभागिताले राज्य सुन्दर हुने बताएका थिए । उनलाई अहिलेका जनजाति नेताहरुले खसबादी राज्यका सुत्रधार भनेपनि उनले आफुलाई मगरातको राजा भन्दै गुरुङ, मगर, ठकुरी, खस र ब्राह्मण को समान भूमिकाले मात्र राज्य सुरक्षित हुने कुरा दिब्योपदेशमा उल्लेख गरेका थिए । “…. गुरुङ, बस्न्यात पन्थ,भैयाद,मगरलाइ मारताप् दिदा पालैपालो गरि खान दिनु , यी मेरा नुनगुनका स्वझा सेवक हुन्…..गुरुङ, , मगर,खानाज्यादा,भैयाद भारदार मिर उमराउ थरघर पुराना पुराना जांची घुँडा गौंडामा राषनु……अदालथमा पनि ठकुरी जाँची डिठ्ठा राषनु,मगर जाची विचारी थप्नु, कचहरी पिछे यकयक पण्डित राषी निञाँशास्त्र बमोजिम अदालत चलाउनु ” भन्ने कुरा दिब्योपदेशमा उल्लेख भएकोबाट राज्यमा सबै जातजातिहरुको सभागिता हुनुपर्ने कुरालाई राज्यले नीतिगत रुपमा नै स्वीकार गर्नुपर्ने कुरालाई जोड दिएको पाइन्छ ।

चुस्त प्रशासन
अहिले नेपालको कर्मचारीतन्त्र भ्रष्ट भएकोले नेपाल र नेपालीले प्रगति गर्न नसकेको गुनासो सबै क्षेत्रबाट आइरहेको छ । कर्मचारी भ्रष्ट र असक्षम हुनुमा प्रशासनमा दण्ड र सजायको व्यवस्था फितलो हुनु र नेताको आशिर्वादले पद पाउनु मुख्य कारण भएको देखिन्छ । योग्य, इमान्दार र जनताले रुचाएका व्यक्तिहरु प्रशासनमा रहेमा मात्र देशमा सुव्यवस्था आउने कुरा बुझेर पृथ्वीनारायण शाहले सोहि अनुसारको व्यवस्था गरेका मात्र नभई त्यस्तै गर्न अरुलाई अर्ति दिएको पाइन्छ । अहिले नेपालमा सत्ताधारीहरुले जनताले रुचाएको मान्छेलाई नभई जति खराब नै भएपनि आफ्नो मान्छेलाई देशको महत्वपूर्ण पद सुम्पने गरिएको छ तर पृथ्वी नारायण शाहले दुनिया जसदेखी राजि रहन्छन उसैलाई कज्याई दिनुपर्ने भन्दै आफुलाई बिराज बखेतिलाई कज्याई दिन मन लागको भएपनि जनताको आशय बुझेर कालु पाण्डेलाई कज्याई दिएको दिब्योपदेशमा उल्लेख गरेका छन् । भारदार जाँचेर सबै जातलाई अवसर दिनु, भाई भारदारले दौलथ कमाउन लागेका राज्यको हित नगर्ने भएकोले दौलथ कमाउन नदिनु,राजालाई चाहिने सिपाहीको घरखेतको व्यवस्था मिलाइदिनु , सिपाहीलाई चुस्त दुरुस्त बनाइ राख्नु, लडाइमा मरेकाको आश्रित सन्तानलाई जिवनवृति र जागिर दिनु, सेवकलाई कसैको मोलाहिजा पछि लाग्न नदिनु, नुनको पछि लाग्न लगाउनु भन्ने भनाइले देशमा योग्य, इमान्दार र निष्पक्ष कर्मचारीहरुको व्यवस्था गर्नुपर्ने र यस्ता कर्मचारीहरुलाई उचित पारिश्रमिक , पदोन्नतिको अवसर र जीवनवृति दिनुपर्ने कुरालाई राज्यले प्राथमिकता दिनुपर्ने कुरामा उनले जोड दिएको देखिन्छ ।

प्रभावकारी न्याय प्रणाली
स्वतन्त्र न्याय प्रणाली लोककल्याणकारी राज्यको प्रमुख आधार हो । न्याय प्रणालीलाई चुस्त दुरुस्त राख्नु राज्यको कर्तब्य हो । “ कचहरी पिछे यकयक पण्डित राषी निञाँशास्त्र बमोजिम अदालत चलाउनु, अदालथका पैसा दरबार भित्र नहाल्नु…. राजाले ठुलो निञा निसाफ हेर्नु, अन्याय मुलुकमा हुन् नदिनु,निञा निसाफ बिगान्र्या भन्याको घुस दिन्या र घुस खान्या हुन् , ईनको ता धन जीव गरि लियको पनि पाप छैन….” भन्ने कुरा दिब्योपदेशमा उल्लेख छ । वर्तमान समयमा न्याय क्षेत्र विकृत बन्दै गएको र न्यायालयमा दण्डविहिनता समेत मौलाउदै गएको अवस्थामा पृथ्वी नारायणका दिब्योपदेशलाई मात्र राज्यका संचालकहरुले आत्मसात गर्न सकेमा देशको न्याय प्रणाली सुदृढ हुने र न्यायमा सबैको पहुच पुग्ने निश्चित छ ।

सतर्कतापूर्ण बैदेशिक सम्बन्ध
पछिल्लो समयमा नेपालमा बैदेशिक हस्तक्षेप सबै क्षेत्रमा बढिरहेको छ । विदेशीहरुका स्वार्थले नेपाललाई तहसनहस गराइरहेको छ । ठुला शक्तिराष्ट्रहरूको चेपुवामा परिरहनु पर्ने भएकोले पृथ्वीनारायण शाहले नेपाललाई दुइ ढुंगा विचको तरुल भनेका छन् । नेपालका छिमेकी राष्ट्रहरु चिन र भारतलाई खादै आएको अंग्रेजसंग सतर्क रहनु पर्ने , उनीहरु संग निहु नखोजी आफु सुरक्षित रहने र सन्तुलित व्यवहार गर्नुपर्ने कुरा दिब्योपदेशमा उल्लेख हुनुले पृथ्वीनारायण शाहको दुरदर्शिता सजिलै पहिचान गर्न सकिन्छ । अचेल आफुलाई नेता भनाउदाहरुले हरेक कुरामा बिदेशी गुहार्ने र उनीहरुको सामु लम्पसार पर्ने काम गरिरहेका छन् । यदि दिव्योपदेश राम्ररि पढ्ने र पालना गर्ने हो भने अन्तराष्ट्रिय जगतमा नेपाललाई शक्ति राष्ट्र सरह उभ्याउन कठिन हुने छैन ।

स्वाधीन अर्थतन्त्रको पक्षधर
अहिले नेपालको अर्थतन्त्र पूर्णत आयात केन्द्रित छ । सियो देखि मसला सम्म विदेशबाट मगाउनु परिरहेको छ । देशका उद्योगधन्दा ध्वस्त पार्ने , स्वदेशी उद्योगलाई चल्न नदिने काममा नेपालका नीति निर्माता देखि राजनैतिक व्यक्तिसम्म लागिरहेका छन् । देशलाई समृद्ध बनाउने नारा हरेक सरकारले दिने गरेको भएपनि देशमा औद्योगीक विकासको स्पष्ट खाका कोरिन सकेको छैन । “ देशका महाजनहरु आया भन्या कंगाल गरि छोड्छन….देसका कपरा लगाउनालाई मन्हाई गरिदिनु । आफ्ना देसका कपरा बुन्न जान्यालाई नमुना देखाई सघाउनु र बुन्न लाउनु र यस्व भया नगद देस जादैन….आफ्ना देसका जिनिस जरिबुती देस लैजानु र नगद खिची राषनु प्रजा मोटा भया दरवार बलियो रहन्छ …..” भन्ने उपदेश वर्तमान समयमा पनि स्वदेशी उद्योगलाइ प्राथमिकता दिने र विदेशी सामाग्रीको आयातलाई घटाउन महत्वपूर्ण महत्वपूर्ण राज्य नीति हुने देखिएको छ । अहिले अनियन्त्रित ढंगले प्राकृतिक श्रोत साधनको उपयोग भैरहेको छ । खेतीयोग्य जमिनहरु प्लाटिंगले गर्दा कंक्रिटको जंगलमा परिणत भैरहेका छन् । देशका खानीहरु ओझेलमा छन् । यस्ता क्रियाकलापले गर्दा नेपालले खनिज पदार्थ र खाद्य पदार्थहरु समेत विदेशबाट ल्याउनु परिरहेको छ । यो अवस्था आउन नदिनको लागि पृथ्वीनारायणशाहले “ खानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि खानि चलाउनु … गह्रो भयाका जग्गामा घर भयापनि घर अरु जग्गामा सारी कूलो काटी षेत बनाई आवाद गर्नु ” भन्ने दिव्योपदेश दिएका थिए । भू–व्यवस्थापनका नीतिहरु बनाउदा यी कुराहरुलाई मार्गदर्शन मान्न सकेमा खेतीयोग्य जमिनको संरक्षण र खानीको उपयोग बैज्ञानिक ढंगले हुने देखिन्छ । यस बाहेक बाहिरि सस्कृतिले पार्ने असर र राष्ट्रिय सस्कृतिको संरक्षणको बारेमा दिब्योपदेशमा भएका कुराहरु अहिलेको अवस्थामा पनि निकै मननीय देखिन्छ ।

केहि फिरिंगी र फिरिंगीका दासहरु र आफुलाई चर्चामा राखिरहन खोज्नेहरुले पृथ्वीनारायणको योगदानको विरोध गरेपनि अहिले नेपाल नामक देश बन्नुको मुख्य आधार उनि नै थिए । उनले विस्व मानचित्रमा स्वतन्त्र नेपालको कल्पना गरेर राष्ट्र एकिकरणको शुरुवात गरेका थिए र यो थालनीलाई उनका सन्ततिको नेतृत्वमा र देशभक्त नेपालीको बहादुरीले निरन्तरता दिएकोले नेपाल देशको निर्माण भएको हो । पृथ्वीनारायण शाहले नेपाल बनाउने महान कार्यको शुरुवात गरेका मात्र हैनन् देश संचालनको निम्ति महत्वपूर्ण नीतिहरु पनि आफ्नो उपदेश मार्फत नेपालीहरुलाई दिएर गएका छन् । अढाई शताब्दी अघिका यी उपदेशहरु नेपाल र नेपालीका लागि अहिलेपनि मार्गदर्शक नै छन् । दिब्योपदेशमा भएका उपदेशहरुलाई समेटेर राज्यका नीतिहरु बनाउने र त्यसैको आधारमा राज्य संचालन गर्ने हो भने नेपाल स्वतन्त्र, समृद्ध, न्यायपूर्ण र समाबेशी देश बन्न सक्छ । बिदेशीको ईशारामा चल्न रुचाउनेहरुले वेवास्ता गरेपनि देशभक्त नेपालीहरुले यसतर्फ बेलैमा ध्यान दिनु जरुरी छ ।

yrkandel@gmail.com

 

Facebook Comments