स्थायी राजधानीका लागि कांग्रेसले जनप्रर्दशन गर्ने

गौतमबुद्ध सन्देश
बुटवल, २५ पुस ।

प्रदेश नम्बर ५ को स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले माघ ३ गते बुटवलमा बृहत्त जनप्रर्दशन तथा खबरदारी सभा गर्ने भएको छ । सरकारले अस्थायी राजधानी तोकेको एक वर्ष पुग्न लागे पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्न नसकेको भन्दै कांग्रेसले दवावमुलक कार्यक्रमको तयारी गरेको हो । नेकपाको सरकारले राजधानी बुटवलबाट सार्ने षडयन्त्र गरिरहेको भन्दै कांग्रेसले त्यसका विरुद्ध खवरदारी गर्न यस क्षेत्रका सर्बसाधारणहरुमा पनि अपिल गरेको छ ।

बुधबार बुटवलमा बसेको नेपाली कांग्रेस रुपन्देहीको विस्तारित वैठकले माघ ३ गते केन्द्रिय नेताहरुको सहभागितामा खवरदारी सभाको तयारी गरेको हो । पार्टी सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले तयारीका लागि विभिन्न आघा दर्जन उपसमितिहरु पनि गठन गरेको छ । बठकले आर्थिक व्यवस्थापन, मञ्च, प्रचारप्रसार, यातायात, समन्वय लगायतका उपसमितिहरु गठन गरेको छ ।

माघ ३ गते बुटवलमा हुने वृहत सभामा नेपाली कांग्रेस संसदीय दलका प्रम्ुख सचेतक बालकृष्ण खांण, पार्टीका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, कांग्रेसका केन्द्रिय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल, मान वहादुर विक लगायत विभिन्न जिल्लाका जिल्ला नेताहरुले सम्बोधन गर्ने बताइएको छ । बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभा पुर्व बृहत जनप्रर्दशन गर्ने र त्यसका लागि कांग्रेसका विभिन्न भातृ संगठनहरुको व्यापक परिचालन गर्ने कांग्रेस रुपन्देहीले जनाएको छ ।

‘माघ ३ गते बुटवल जाऔं प्रदेश राजधानी सार्ने षडयन्त्रको भण्डाफोर गरौं’ भन्ने नाराका साथ प्रचारप्रसारलाई तीव्र बनाउने बैठकले निर्णय गरेको छ । प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न थालेको अवस्थामा सरकारले जनताको पक्षमा कुनै पनि रचनात्मक कार्य गर्न नसकेको पनि कांग्रेसले ठहर गरेको छ । साथै गाडी खरिद लगायतका कैयांैं आर्थिक अनियमितताका विषयको पनि भण्डाफोर गर्ने कांग्रेसले जनाएको छ ।

Facebook Comments