इन्टलेक्च्यूअलमा खेल सप्ताह

गौतमबुद्ध सन्देश
बुटवल, २४ पुस ।

इन्टलेक्च्यूअल एकेडेमी बुटवल–११ कालिकानगर मझुवामा खेल सप्ताह सुरु गरिएको छ । विद्यार्थीलाई किताबी ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाइ उनीहरु भित्र रहेको आन्तरिक प्रतिभालाई उजागर गर्ने उद्धेश्य सहित प्रारम्भ गरिएको हो ।

खेलकुद सप्ताहको एक समारोह बीच विद्यालयका संस्थापक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेलले उद्घाटन गरेका थिए । कक्षा प्रि नर्सरी देखि ९ सम्मका विद्यार्थीहरुलाई कक्षागत र समुहगत रुपमा सिनियर तथा जुनियरतर्फ विभाजन गरी प्रतिष्पर्धा गराइने अतिरिक्त क्रियाकलाप संयोजक अग्नीधर पोख्रेलले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन सोमबार कुर्ची दौड, कबड्डी, मिठाई दौड, सिटी रेस लगायतका खेल सम्पन्न भएका छन् । खेल अवधिभर तातो आलु, चम्चा दौड, रिले दौड, ब्रिक रेस, हाइजम्प, लङ्जम्प, गणितीय दौड, भलिवल, ब्याडमिन्टन, सटपुट, हाजिरीजवाफ, इन आउट, घैटो फोर, वादविवाद लगायतका प्रतियोगितामा विद्यार्थीहरुलाई प्रतिष्पर्धा गराइनेछ । सप्ताहव्यापी खेलकुद कार्यक्रम शुक्रबार सम्म सञ्चालन गरिनेछ ।

Facebook Comments