उद्यमशीलता विकासका लागि प्रशिक्षण

गौतमबुद्ध सन्देश
तिलोत्तमा, २४ पुस ।

रूपन्देहीको मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पसको बि.बि.एस. चौथो वर्षका विद्यार्थीका लागि सञ्चालित तीन दिने “उद्यमशीलता विकास प्रशिक्षण” कार्यक्रम सोमबार समापन भएको छ ।

प्रशिक्षण समापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणी प्रसाद पाठकले क्याम्पसका विद्यार्थीलाई उद्यमी बनाउन र रोजगारी प्रदान गर्नका लागि स्थानीय उद्योगी व्यवसायीसंग समन्वय सुरू गरिसकेको जानकारी दिए ।

सो अवसरमा बोल्दै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कंडेल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष कन्हैया लाल कसौधन, स्थानीय व्यवसायी राजकुमार पाण्डे, प्रशिक्षक एवं उद्योग मन्त्रालयका रोजगार प्रबद्र्धन अधिकृत मुकुन्द ज्ञवाली लगायतले राममणिका विद्यार्थीलाई सबैखाले सहयोग गर्न आफुहरू तयार रहेको बताए ।

क्याम्पस प्रमुख मोहनराज शर्माले यस क्षेत्रको विकासका लागि यस क्याम्पसका विद्यार्थीलाई स्थानीय व्यवसायीले साथ दिनु प्रेरणामूलक भएको भन्दै आभार व्यक्त गरेका थिए ।

क्याम्पसको व्यवस्थापन संकायका संकाय प्रमुख खुमकान्त पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, क्याम्पसको रोजगार एकाइका संयोजक बालकृष्ण अर्याल, सहायक प्राध्यापक नम्रता पाण्डे, प्रशिक्षार्थीहरू कृष्णा पराजुली, दीपा न्यौपाने लगायतले बोलेका थिए । प्रशिक्षणमा बि.बि.एस. चौथो वर्षका ५० जना विद्यार्थीको सहभागिता रहेको क्याम्पसका सहायक प्राध्यापक मुक्तिनाथ गैह्रेले जानकारी दिए ।

Facebook Comments