स्वास्थ्य शिविरबाट ५१५ लाभान्वित

गौतमबुद्ध सन्देश
भैरहवा, २२ पुस ।
रुपन्देहीको ओमसतिया गाउँपालिका स्थित गौरीमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यस वरपरका ५ सय १५ जना स्थानीय लाभान्वित भएका छन् । मारवाडी युवा दिवसको अवसर पारेर मारवाडी महिला मंच भैरहवाको आयोजना तथा मारवाडी युवा मंच र सेवा संघको सह–आयोजना शनिबार विशेषज्ञ चिकित्सकको सहभागितामा गौरीमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

शिविरबाट गौरी, सिसहनिया र भेलाई गाउँका बालबालिका, महिला तथा पुरुष लाभान्वित भएको अध्यक्ष सरोज अग्रवालले बताइन् । शिविरमा स्त्रीरोग, दाँत, बालरोग, परामर्श तथा सामान्य सेवा प्रदान गरी निःशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा सहभागी बालबालिका र अभिभावकका बालबालिकालाई न्यानो कपडा समेत वितरण गरिएको युवा मंचका अध्यक्ष मनोज अग्रवालले बताए ।

गरिब तथा विपन्न परिवारको बसोबास रहेको उक्त क्षेत्रमा दाँत, छाला, स्त्रीरोग, बालरोग एवं सामान्य चिकित्सा सेवा लगायतको समस्या निराकरण गर्ने उद्धेश्यले निःशुल्क शिविर आयोजना गरिएको कार्यक्रम संयोजक बीना अग्रवालले बताइन् । शिविरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका डाक्टरहरुले बालरोग, स्त्रीरोग तथा सामान्य चिकित्सा सम्बन्धी सेवा प्रदान गरेका थिए भने इस्माइल एण्ड प्रोफइल टेन्डल क्लिनिक भैरहवाले दन्त रोगको उपचारका लागि सहयोग गरेको थियो ।

शिविरमा चेकजाँच गराएकाहरु मध्ये अधिकांशमा दाँतको समस्या देखिएको दन्त रोग विशेषज्ञ डा.बनिता गौतम हलवाईले बताइन् । उनका अनुसार खासगरी गिँजा, दाँतमा प्वाल पर्ने र मुख गन्हाउने समस्या बढी देखिएको छ । यस्तै खैनीसूर्ती बढी सेवन गर्नेहरुमा दाँत पहेँलो हुने समस्या देखिएको डा. हलवाईले जनाइन् । उनले नियमित दाँत सफा गर्ने, खाना खाइसके पछि विहानबेलुका ब्रस गर्ने र केही समस्या आएमा तुरुन्त डाक्टरलाई चेकजाँच गराएर औषधी उपचार गरे दाँतलाई सजिलै बचाउन सकिने बताइन् । स्त्री रोगकी डाक्टर सुजता खड्काले अधिकांश महिलाहरुमा सेतोपानी बग्ने, ढाड तथा पेट दुख्ने समस्या बढी देखिएको बताइन् । विरामी भएपछि तत्काल अस्पताल नजाँदा महिलाहरुमा सदस्या झनपछि झन बढ्दै गएको उनले जानकारी दिइन् ।

बालबालिकाहरुमा कान, टाउको, छाती दुख्ने र छाला सम्बन्धी रोगको बढी समस्या देखिएको बालरोग डाक्टर रुची गुप्ताले बताइन् । फिजिसियन विशेषज्ञ डा. पवन गर्ग, डा.उदय सरकार तथा फिजियो थेरापिष्ट डा.वर्षा अग्रहरीले चिसो मौसममा न्यानो कपडा नलगाउँदा रुघाखोजी, टाउको दुख्ने, शरीर तथा हातखुट्टा दुख्ने जस्ता समस्याबाट त्यहाँका नागरिक प्रभावित भएको बताए । शिविरमा विभिन्न रोग लाग्ने तरिका, बच्ने उपाय र संक्रमणपछि देखिने लक्षण तथा उपचारका बारेमा समेत सहभागीहरुलाई परामर्श दिइएको थियो । उक्त क्षेत्रमा मधेशी समुदायका ९९ प्रतिशत बढी नागरिक बसोबास गर्छन् । गरिबी र अशिक्षाले गर्दा पनि यहाँ स्वास्थ्य क्षेत्रमा बढी समस्या छ ।

शिविर समापनमा बोल्दै कार्यक्रम संयोजक बीना अग्रवाल, युवा मंचका अध्यक्ष मनोज अग्रवालले स्वस्थ जीवन बाँच्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसमा आफूहरुले हातेमालो गरेको बताए । उनीहरुले गाउँमा बसोबास गर्ने गरिब तथा विपन्न परिवारका सदस्यहरु आर्थिक अवस्थाका कारण अस्पतालसम्म जान नसक्दा विभिन्न रोगको समस्या झेल्दै आएको बताए । सेवा गर्ने उद्देश्यले खोलिएका मारवाडी सम्बद्ध संस्थाहरुले विगत देखिनै सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै उनीहरुले आगामी दिनमा पनि यस्ता बस्तीहरुमा सहयोग तथा स्वास्थ्य शिविर संचालन गरिरहने जनाए । ओमसतिया आधारभूत विद्यालयका प्रधानाध्यापक विजय मणि त्रिपाठीले स्वास्थ्य जस्तो क्षेत्रमा मारवाडी समुदायले गरेको सहयोग सहारनीय भएको बताए ।

Facebook Comments