लुम्बिनीको पहिलो पाँचतारे होटल माघदेखि सञ्चालनमा आउँदै

टोपराज शर्मा
बुटवल, २२ पुस ।

अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको पहिलो पांचतारे होटल पवन प्यालेस आउँदो माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ महजिदियामा साढे तीन विगाह क्षेत्रफलमा होटल पवन प्यालेस बनेको छ । २०७१ सालमा निर्माण शुरु भएको होटेलको सात तल्ले भवनस हित अन्य संरचनाहरु चार वर्षमा तयार भएका हुन् ।

होटेलमा भैरहवाका व्यवसायी पवन हलुवाई र राजीव बेरिवालको दुई अर्ब रुपैयां लगानी भएको छ । हलुवाईले पाँच दशक देखि भैरहवामा पवन मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका छन् भने बेरिवाल प्लाइउड र सिसा उद्योगी हुन् । एक सय ४७ कोठा रहेको होटलका ७० वटा कोठा र एउटा रेष्टुरेन्ट तयार भए पछि माघ अन्तिम साता देखि होटल सञ्चालनमा आउने भएको हो ।

होटलमा तीन वटा रेष्टुरेन्ट, २ वटा बार, पांच सय जना र एक सय जना क्षमताका गरी दुईवटा कन्फेरेन्स हल, स्वीमिङ पुल र हेल्थ क्लब बन्दैछन् । पहिलो चरणमा ७० वटा कोठाबाट सेवा सुरु हुनेछ । ‘जनवरी १० देखि १२ गतेसम्म लुम्बिनीमा आयोजना हुने बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टमा आउने विदेशी पर्यटन व्यवसायीका लागि ७० वटा कोठा बुक भइसके’–हलुवाईले भने–‘यो संगै होटल नियमित सञ्चालनमा आउँछ र बढीमा ६ महिना भित्र पूर्ण क्षमतामा चल्छ ।’ चाइनिज रेष्टुरेन्ट र एउटा बार दुई महिना भित्र सञ्चालनमा आउने हलुवाईले बताए ।

होटलमा डिलक्स, डिलक्स किंग, स्टाण्डर्ड ट्वीन, स्टाण्डर्ड किंग, सुइट र प्रसिडेन्सियल सुइट रुम गरी ६ थरिका कोठाहरु रहेका छन् । होटलको भवन नेपाली मौलिकता झल्किने गरी अरनिको डिजाइनर्स एण्ड प्लास्टर्स कम्पनीले बनाएको हो भने इन्टेरियर डिजाइन सिंगापुरको रहेको छ । लुम्बिनी आउने विभिन्न देशका राष्ट्रप्रमुख सहित विशिष्ट पाहुना र स्तरीय पर्यटकलाई लक्षित गरी आधुनिक सुविधासम्पन्न कोठाहरु बनेको सञ्चालक हलुवाईले बताए । यस अघि लुम्बिनी आउने राष्ट्रप्रमुखहरु र विशिष्ट पाहुनाहरु स्तरीय होटलको अभावमा काठमाडौं नै फर्कनुपर्ने वाध्यता थियो । भुकम्प प्रतिरोधी र अग्नि नियन्त्रक प्रविधिमा बनेको होटेलमा अझै ५० करोड लगानी थप गरी कूल लगानी साढे दुई अर्ब पु¥याइने अर्का सञ्चालक बेरिवालले बताए । ‘आधुनिक सुविधा र सुरक्षा दुवै हिसाबले हाम्रो होटेल अब्बल हुनेछ’–बेरिवालले भने–‘अब लुम्बिनी आउने भीभीआईपी र भीआईपी पाहुनाहरु ढुक्क भएर यहीं बस्न सक्छन् ।’ होटलमा पहिलो चरणमा दुई सय जनाले रोजगारी पाउनेछन् । लुम्बिनीमा स्तरीय होटल नहुँदा विभिन्न देशका राष्ट्रप्रमुखहरु र विशिष्ट पाहुनाहरु लुम्बिनीको कार्यक्रम सकेर सिधै काठमाडौं बस्न जाने गरेको देखेर आफूहरुले पाँचतारे होटेलमा लगानी गरेको सञ्चालक हलुवाईले खुलाए । तारे होटलहरुलाई सरकारले निर्यातजन्य उद्योग सरह सुविधा दिनुपर्ने र चर्को बैंक ब्याजदर नियन्त्रण गरिदिनुपर्ने हलुवाईको माग छ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निकट भविष्यमै सञ्चालनमा आउन थालेकाले स्तरीय पर्यटकको आगमन पनि बढ्ने भएकाले तिनलाई स्तरीय होटल नै आवश्यक पर्ने हुँदा होटल पवन प्यालेसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने लुम्बिनीको पर्यटन प्रवद्र्धन अभियान्ता चेतन पन्त बताउँछन् । ‘पर्यटनबाट लाभ लिन कनेक्टिभिटी र कन्भिनियेन्ट (सुविधा) दुई महत्वपूर्ण पाटा हुन्, अब ती दुबै पूरा हुँदैछन्’–पन्तले भने । भैरहवामा अरु २ वटा तारे होटल खुल्ने क्रममा छन् । यस अघि रुपन्देहीको कोटिहवामा विदेशी लगानीमा पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आइसकेको छ भने लुम्बिनीको खुनगाईमा पांच तारे होटेल निर्माण सुरु भएको छ ।

Facebook Comments