शुद्धोधनमा शैक्षिक बहस कार्यक्रम

गौतमबुद्ध सन्देश
भैरहवा, २१ पुस ।
शुद्धोधन गाउँपालिका–७, भगलापुरमा अध्ययन बीचमै छाड्ने बालबालिका तथा युवाहरुलाइ लक्षित गरी शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ । शुद्धोधन स्काइ क्लबको आयोजना, नमूना एकीकृत विकास परिषद रुपन्देही र शुद्धोधन गाउँपालिकाको कार्यालयको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित बहस कार्यक्रममा युवा तथा बालबालिकाहरु किन बीचमै अध्ययन छाड्छन भन्ने विषयमा बहस गरिएको थियो ।

कार्यक्रममा बालबालिकाहरुले विद्यालय छाड्नुको कारण, विद्यालय छोड्ने उमेर, अहिलेको अवस्था लगायतका बिषय समेटेर शुद्धोधन गाउँपालिकालाई ८ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाइएको थियो ।

युवा देशका मेरुदण्ड हुन भन्ने मर्मलाइ आत्मसाथ गर्दै युवालाई शिक्षाको मुल प्रवाहमा ल्याउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा अध्ययन छाड्ने युवा तथा बालबालिकाको संख्या कसरी कम गर्न सकिन्छ ? कसरी शिक्षाको महत्व प्रभावकारी बनाइ त्यसप्रति युवा तथा वालबालिकाको रुची बढाउन सकिन्छ ? बीचमै अध्ययन छाडेकालाई पुनः अध्ययनका लागि कसरस् ल्याउन सकिन्छ वा वैकल्पिक व्यवस्था स्वरुप कस्तो खालको आयमुलक सीप सिकाउन सकिन्छ ? जस्ता विषयमा चर्चा भएको थियो ।

शुद्धोधन स्काइ क्लबका लिडर सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवपुजन बनिया, वडा सदस्य पवित्रा चौधरी, शिक्षक विरेन्द्र चौधरी लगायत भगलापुर तथा मटेरिया गाउँका अधिकांश युवाहरुले शैक्षिक मुद्दाका बारेमा आफ्ना भनाइ राखेका थिए ।
क्लबका सदस्य अञ्जली थारुको सञ्चालनमा भएको कार्यक्रममा स्थानीय समुदाय, समाजसेवी, जनप्रतिनिधि, विद्यालय, युवा क्लबहरु लगायत विभिन्न संघ–संस्थाहरुको सहभागिता थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *