सरकारकै कारण कर्मचारी आन्दोलनमा : श्रेष्ठ

गौतमबुद्ध सन्देश

भैरहवा, १७ पुस ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठले वर्तमान सरकारसंग कुनै किसिमको आश राख्नुपर्ने जरुरी नरहेको बताएका छन् । उनले सरकार अधिनायकवाद तर्फ लागि पत्रकारहरु माथि बन्देज गर्ने र कर्मचारीहरुलाई पनि आंतकित गर्ने काम गरिरहेको आरोप लगाए । सरकारकै कारण कर्मचारीहरु आन्दोलनमा उत्रिएको उनले बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीद्वारा आयोजित ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै श्रेष्ठले भने, ”देश समृद्धितर्फ जान्छ भनेर पाँच वर्ष सरकारलाई नेपाली कांग्रेसले किन सहयोग नगर्ने भन्ने हाम्रो सोच थियो, तर सरकारले केही गर्न सकेको छैन् । उनले वर्तमान सरकारले नेपाली जनतालाई शान्ति सुरक्षा दिन नसकेको र उल्टै मंहगी र कर बढाएको बताए । देशमा विकास निर्माण नभई अर्बौको भ्रष्टाचार बढेको उनको भनाइ थियो । पूर्व शिक्षामन्त्री समेत रहेका श्रेष्ठले अब गुटउपगुटमा आर्कषित हुनु नपर्ने र सबै एकजुट भइ अगाडी बढ्नुपर्ने बताए । उनले कांग्रेसजनहरुले कांग्रेस भएर कांग्रेसलाई अन्तरघात गर्नेहरुसंग सजग हुनुपर्नेमा जोड दिए ।

श्रेष्ठले नेपाली कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान बनेको बताउँदै अब पार्टीभित्र सबैको अपनत्व हुने बताए । स्व. विपी कोइरालाले हिन्दुस्तानमा बसेर नेपालको राष्ट्रियता जोगाउन सकिदैन भन्ने निक्र्यौल निकाली राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको उनले बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले विपी कोइरालाको विचारबाट सबैलाई प्रेरणा मिलेको बताए । नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र के.सी.ले विपीको वाणीलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने बताए । नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले पार्टीभित्र एकताको कमीले कांग्रेस कमजोर भएको बताए । प्रदेश नम्बर ५ का सदस्य रमा अर्यालले विपीको विचारमा कम्युनिष्टहरु पनि घुमिरहेको बताइन् । प्रदेशसभा सदस्य पुष्पा थरुनीले वर्तमान कम्युनिष्ट सरकारले जनतालाई दुःख मात्र दिएको बताइन् ।

कांग्रेसका नेता देवी प्रसाद चौधरीले एक आपसमा मनमुटाव हटाएर अगाडी बढनुपर्ने बताए । नेपाल महिला संघ रुपन्देहीका सभापति तथा महासमिति सदस्य गंगा शाहीले जनताको मर्म र भावना बुझ्ने पार्टी कांग्रेस भएको बताइन् । नेपाल दलित संघ रुपन्देहीका सभापति बुद्धिराम हरिजनले वर्तमान सरकारले कर बढाएर जनताको ढाड सेक्ने काम मात्र गरेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेसका नेता हरि लम्साल, विष्णु पोखरेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लेखनाथ भट्टराई, सैनामैना नगर पार्टी सभापति राम प्रसाद अधिकारी लगायतले बोल्दै नीहित स्वार्थको लागि नभइ विपीको जस्तो मेलमिलाप आवश्यक रहेको बताए । उनीहरुले वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिबद्ध नभएको बताए । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्व, उपसभापति फणिन्द्र प्रसाद शर्माको स्वागत मन्तव्य तथा सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments