निर्मलाका हत्यारालाई कारवाही गर्न माग

गौतमबुद्ध सन्देश

बुटवल, १६ पुस ।

महिला शक्ति महासंघले कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाही गर्नुपर्ने लगायतका ७ बुँदे माग राख्दै प्रदेश ५ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नयाँ शक्ति पार्टी नेपाल निकट उक्त संगठनले सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।

घटना भएको ४ महिना बितिसक्दा सम्म निर्मला पन्तको परिवारले न्याय नपाएको र सुरक्षा निकायले विना प्रमाण निर्दोष व्यक्ति पक्राउ गरेर छाड्ने काम गर्दै आएको भन्दै महासंघले वास्तविक हत्यारा पत्ता लगाउन माग गरेको हो । महासंघले महिलाहरुलाई अंश र वंशमा समान अधिकार, चेलिवेटी बेचबिखनको अन्त्य, समान कामको समान ज्याला, प्रजनन् स्वास्थ्यमा अधिकार, निःशुल्क शिक्षा र हिंसामा परि वैदेशिक रोजगारीवाट फर्किएर बसेका महिलाहरुको उचित व्यवस्थापन गर्न पनि माग गरेको छ ।

संविधानमा भएका व्यवस्थालाई ईमान्दारिकासाथ कार्यान्वयन गर्न र सम्बन्धित प्रदेशले महिलाका पक्षमा विशेष नीति, ऐन, कार्ययोजना बनाई लागु गर्न पनि महासंघले सरकारको ध्यानार्कषण गराएको महिला शक्ति महासंघ नेपाल प्रदेश संयोजक सुनिता काफ्लेले जानकारी दिइन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नयाँ शक्ति पार्टी ५ नंम्बर प्रदेश संयोजक कमल खनाल, प्रवक्ता मनिकर कार्की र कार्यालय सचिव विमल गिरी लगायत सहभागी थिए ।

Facebook Comments