अनुसन्धानमुलक शिक्षामा अहम भुमिका : मन्त्री बराल

गौतमबुद्ध सन्देश
भैरहवा, ११ पुस ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले अनुसन्धानमुलक शिक्षामा अहम भुमिका खेलेको बताएका छन् । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको वार्षिक उत्सव समारोहमा बोल्दै प्रमुख अतिथि बरालले प्रदेश ५ मा अनुसन्धानमुलक शिक्षाको अभाव भएकोले प्रतिष्ठानले गरेका कार्यले प्रदेशको विकासमा टेवा पुग्ने हुनाले प्रदेश सरकार सहयोग गर्न पुर्ण प्रतिबद्ध रहेको जानकारी बताए । उनले राष्ट्रको विकासको लागी अनुसन्धानमुलक तथ्याङले अहम भुमिका खेल्ने हुनाले प्रतिष्ठानले प्रदेश नम्बर ५ को विकासमा ठुलो सहयोग गर्न सक्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले प्रतिमान–नीमा स्मृति प्रतिष्ठान जस्ता संस्थाहरु नगरपालिकाको गहना र समग्र ठाउँ र देशका संरचना भएकोले नगरपालिका संस्थासंग मिलेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

संस्थाका कार्यकारी निर्देशक स्वाती थापाले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले खास गरी तीन वटा अवधारण बोकेर काम गर्दै आएको बताइन् । जसमध्ये शैक्षिक, अनुसन्धान र सामुदायिक क्रियाकलाप रहेको उनले जानकारी थिइन् । थापाका अनुसार प्रतिष्ठानले अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिको, नेपाल स्टडी सेन्टर सस्टेनेबल डेभलपमेन्ट ल्याबसंग मिलेर हिमालय स्टडी अब्रोड कार्यक्रमको आयोजना गरी वातावरण, स्वास्थ्य र सरसफाइको क्षेत्रमा विगत दुई वर्ष देखि काम गर्दै आइरहेको छ । उनका अनुसार यस वर्ष अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिकोमा अध्ययनरत विद्यार्थीहरु अध्ययन अवलोकनको सिलसिलामा डिसेम्बर १८ देखि यस संस्थासंग आबद्ध भएर वातावरणको क्षेत्रमा ‘परपल एअर’, प्रदूषणमापन यन्त्र सिद्धार्थनगर नगरपालिका भित्र साई ग्लोबल कलेज सि.न.पा.–८, रोहिणी गाउँपालिका वडा नम्बर–३ मा रहेको रामनरेश यादव आदर्श मा.वि. र प्रतिमान–नीमा कलेज सि.न.पा.–३ मा जडान गरिएको छ ।

संस्थाले आगामी दिनमा उक्त प्रविधि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरको बेलहियामा विस्तार गर्दै जाने जानकारी थापाले जानकारी दिइन् । उनका अनुसार यन्त्र वायु क्वालिटी निगरानी गर्ने एक स्वचालित उपकरण रहेको र यसले साना धुलाका कण डिजिटल माध्यमबाट मापन गर्नेछ ।

त्यसै गरी प्रा. डा. आलोक बोहराले उक्त कार्यक्रममा प्रतिमा–निमा कलेजले यहाँको जनताको स्वास्थ्य तथा वातावरण सम्बन्धि जनचेतना बढाउनको लागी सिटिजन साइन्स क्लबको स्थापना गरेको जानकारी दिए । सिटिजन साइन्टिस्ट बनाइ सिद्धार्थनगर स्वास्थ्य तथा वातावरण सम्बन्धित चेतनाको विकास गर्दै लाने उद्धेश्य रहेको उनले बताए ।

संस्थाका अध्यक्ष विजया केसीले संस्थाबाट गरिएका कार्यक्रमहरु प्रतिमान निमा स्मृति प्रतिष्ठानका लागी मात्र नभएर प्रदेश नम्बर ५ को समग्र विकासको लागी गर्ने र सिद्धार्थनगर नगरपालिकासंग आगामी दिनमा सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन ।

प्रतिष्ठानले समुदायलाई जनचेतना गराउन प्रतिमान–नीमा कलेजका विद्यार्थी, इको क्लब, सुसंस्कृति मावि, पक्लिहवा माविका विद्यार्थीहरु र अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिको विद्यार्थीहरुको संलग्नतामा सूचना पार्टी निर्माण गरी नियमित सूचना प्रवाह गर्ने उद्देश्यका साथ डण्डा नदीको छेउमा स्थापना गरी उक्त सूचना पार्टीको माध्यमबाट जनचेतनामूलक सामाग्री राखेर नियमित हात धुनाले रोगको संक्रमण र इ.कोली जीवाणुको संक्रमणलाई कम हुन्छ र खानेकुरा तथा पानीमा इ.कोलीको संक्रमण भएको अवस्थामा विशेष गरी हात धुनु महत्वपूर्ण हुन्छ भन्ने जस्ता जानकारी गराइएको थियो ।

त्यसैगरी प्रतिष्ठानले सामुदायिक क्रियाकलाप अन्तर्गत सिटिजन साइन्सको माध्यमबाट स्थानीय, राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय संघसंस्थासँग हातेमालो गर्दै अन्य फोहोरमैला व्यवस्थापन, महिलाहरुले महिनावारीको समयमा गर्नु सरसफाई तथा जनचेतना, पाठेघरको क्यान्सर, मानसिक स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्दै आइरहेका तथा निकट भविष्यमा आधुनिक प्रविधिमा पहुँच पु¥याउनका लागि समुदाय लक्षित कम्प्युटर तथा जीवनउपयोगी शिक्षा संचालन गर्न ‘कम्युनिटी लर्निङ सेन्टर’को निर्माण गरेको र अब उक्त ‘कम्युनिटी लर्निङ सेन्टर’ संचालनमा ल्याउने तयारीमा रहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं पूर्वमन्त्री दिपक बोहरा, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, राप्रपा(प्रजातान्त्रिक)का रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्वमेयर सागर प्रताप राणा, केन्द्रीय सदस्य ताहिर अली, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा कार्यक्रम संयोजक प्रकाश रायमाझीलाई सम्मान गरिएको थियो ।

Facebook Comments