कुशल व्यवस्थापनको प्रभाव : मर्न लागेको विद्यालयले मा¥यो फड्को

टोपराज शर्मा
बुटवल, ७ पुस ।

एक वर्षअघि सम्म मुस्किलले सयजनाको हाराहारीमा विद्यार्थीले १२ कक्षासम्म चलेको सरकारी विद्यालयमा अर्को वर्ष कति विद्यार्थी थपिए होलान् ? धेरैको अनुमान दोब्बरै बढेपनि दुई सय पुगे होलान् भन्ने हुन सक्छ । तर बुटवल १० रामनगरको तत्कालीन मानव ज्ञान माविको हकमा यस्तो अनुमान पूरै गलत सावित हुन्छ अर्थात यहां एक वर्षको अन्तरालमा अपत्यारिलो संख्यामा विद्यार्थी थपिएका छन् । अघिल्लो वर्ष मानव ज्ञान मावि हुंदासम्म यो विद्यालयमा ८० जनादेखि ९० जनासम्म नियमित विद्यार्थी थिए तर अहिले ५ सय ७ जना विद्यार्थीले अध्ययन गर्दैछन् । भर्ना हुन आएका करिब एक हजार विद्यार्थी त भौतिक पुर्वाधार अपुग भएर भर्ना हुन नपाई फर्केर गए । विद्यार्थी संख्या मात्र होइन विद्यालयको भौतिक संरचनाको स्वरुप,शैक्षिक वातावरण,सिकाई प्रविधि सबैमा आमूल परिवर्तन भएको छ । यी सबै कुरामा त्यत्तिकै परिवर्तन र फड्को मारेको होइन, यसको एउटै कारण हो कुशल व्यवस्थापन ।

कुशल व्यवस्थापनबाट मुलुककै सर्वोत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल कालिका माविसंग मर्ज भएर कालिकाकै व्यवस्थापनमा अघि बढ्न थालेपछि अति न्यून विद्यार्थी संख्या र कमजोर नतिजाका कारण मर्ने आंटेको साविकको मानव ज्ञान माविले एक वर्षमै पाच गुणा बढी विद्यार्थी थपिएर नयां जीवन पाउंदै फड्को मार्न सफल भएको हो । गत शैक्षिक सत्र (बैसाख) देखि कालिका माविसंग मर्ज भएर कालिका मानव ज्ञान सेक्टर २ भएपछि यो विद्यालयले कांचुली फेरेको छ । न्यून विद्यार्थी हुंदा सधैं सुनसान हुने विद्यालय अहिले सयौं विद्यार्थीले गुल्जार भएको छ । साविकको कालिका मावि ( हालको कालिका मानव ज्ञान सेक्टर १) ले व्यवस्थापनको नेतृत्व लिएसंगै सेक्टर २ रामनगरमा कक्षा नर्सरीदेखि १२ सम्मै पूर्णतः अंग्रेजी माध्यममा पढाई हुन थालेको छ । पुरानो र जीर्ण जस्तो देखिने विद्यालय नयां रंगरोगन र नयां फर्निचरले चिटिक्क अनि नयां भएको छ । नयां व्यवस्थापनले यो विद्यालयमा करिब ४० लाख रुपैयां खर्च गरेर प्रोजेक्टरबाट पढाई हुने गरी डिजिटल कक्षा, आईसीटी हल, कम्प्युटर तथा विज्ञान प्रयोगशाला (ल्याब), ल्याबसहितको मन्टेश्वरी कक्षा, इन्टरनेसनल स्कूल अवार्ड र सफ्ट स्किलका मापदण्ड अनुसारका शिक्षण सामग्री प्रयोगमा ल्याइएको छ । सेक्टर २ को विद्यालयमा पढाउने सबै १९ जना शिक्षक शिक्षिका साविकको कालिका मावि ( सेक्टर १ ) का छन् । कुशल व्यवस्थापनले जिम्मा लिएको थाहा पाएपछि स्थानीय मात्र हैन, देवदह खैरेनी, चरंगे, गोलपार्क, सुख्खानगर, कालिकानगरसम्मका विद्यार्थी यहां भर्ना हुन आएका प्रधानाध्यापक घनश्याम पाठक बताउंछन् । ‘कालिकाको टिमले व्यवस्थापन गर्न थालेपछि पहिलो वर्षमै नचिताएको विद्यार्थी संख्या पायौं र मर्नै आंटेको विद्यालयले पुनर्जीवन पाएर वर्ष दिनमै फड्को मा¥यो’—प्रधानाध्यापक पाठकले भने—‘राम्रोसंग व्यवस्थापन गर्न जान्ने हो भने जस्तोसुकै विद्यालय पनि सुधार्न सकिने रहेछ भन्ने यो गतिलो उदाहरण हो ।’

अहिले यो विद्यालयमा विभिन्न बोर्डिङ स्कूल छोडेर समेत विद्यार्थी भर्ना हुन आएका छन् । ग्रीन बर्डस् बोर्डिङ स्कूलबाट यहां पढ्न आएका कक्षा ९ बी का छात्र मिलन रजालीले सामुदायिक भएपनि कालिका मानवज्ञानको पढाई बोर्डिङ भन्दा धेरै राम्रो भएको बताए । यहांको शैक्षिक वातावरण,शिक्षकको पढाउने शैली, कक्षा कोठामा प्रोजेक्टरमार्फत पढाइने हुंदा आफू पूर्ण सन्तुष्ट रहेको रजालीले बताए । यहां कक्षा ५ सम्म पूर्ण निशुल्क पढ्न पाइन्छ । ६ कक्षादेखि कम्प्युटर कक्षा अनिवार्य भएकाले कम्प्युटर ल्याब वापत अभिभावकले कक्षा अनुसार मासिक ३ सय देखि अधिकतम ६ सय रुपैयांसम्म शुल्क तिर्छन् । यद्यपि विद्यालयको गुणस्तरीय पढाईका कारण यो शुल्क तिर्न अभिभावकले कुनै अप्ठेरो नमानेको विद्यालयका सहायक प्रधानाध्यापक दिनेश थापाले बताउंछन् । एक वर्षअघि सम्म विद्यार्थीको कुनै आकर्षण नभएको र स्थानीय विपन्न वर्गका परिवारका छोराछोरीले मात्रै पढ्ने यो स्कूलमा नयां व्यवस्थापनसगै सबै वर्गका विद्यार्थीको आकर्षण बढेपछि वरपरका बोर्डिङ स्कूललाई टाउको दुखाई भएको र उनीहरु रुष्ट बनेको प्रधानाध्यापक पाठकले खुलाए ।

आगामी शैक्षिक सत्रसम्म पुर्वाधार थपेर विद्यार्थी संख्या सातसयको हाराहारीमा पु¥याउने विद्यालयको तयारी छ । सेक्टर १ र २ मा गरी कालिका मानव ज्ञानमा ५ हजार ८ सय ९१ जना विद्यार्थी अध्ययनरत छन् । यो संख्या सामुदायिक विद्यालय मध्ये प्रदेश ५ कै सबैभन्दा धेरै हो । विद्यालयको सेक्टर १ मा ८० करोड बढी लागतमा नयां विद्यालय भवन समेत निर्माणाधीन छ । कालिका मानव ज्ञान यस वर्ष देशभरका सामुदायिक विद्यालय मध्ये सर्वोत्कृष्ट भई नगद २ लाख राहीसहित शिक्षा मन्त्रालयबाट पुरस्कृत भएको थियो । शिक्षाविद् प्रोफेसर आनन्दमान सिंह शाक्यको विचारमा कालिका मानव ज्ञान माविको कुशल व्यवस्थापन र शिक्षण सिकाई विधि देशभरका सामुदायिक विद्यालयले पनि अनुशरण गर्ने हो भने सरकारी विद्यालयको शैक्षिक गुणस्तर र नतिजाले फड्को मार्न धेरै समय कुर्नुपर्दैन । ‘मुख्य कुरा असल र कुशल व्यवस्थापन नै हो—शाक्यले भने —‘व्यवस्थापन गर्न जान्यो भने विद्यालय मात्र हैन, घर परिवार,समाज र देश नै राम्रो बन्ने हो,नजाने बिग्रने हो ।’

Facebook Comments