लुम्बिनी महोत्सव आज सकिंदै

गौतमबुद्ध सन्देश
भैरहवा, २९ मंसिर ।
सातौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७५ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) आज (आइतबार) समापन हुँदैछ । ‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नारा सहित सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भैरहवा स्थित अञ्चलपुरमा सञ्चालित महोत्सवको आइतबार प्रदेश नम्बर ५ सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले समापन गर्ने संघले जनाएको छ ।

त्यसै गरी महोत्सवमा शनिबार दर्शकको घुइँचो उल्लेख्य थियो । भैरहवाका स्थानीयवासी समेत रहेका राष्ट्रियस्तरका लोकप्रिय आधुनिक गायक हेमन्त शर्माको प्रस्तुती हेर्न मेलास्थलमा दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । हेमन्तले दर्शकलाई छमछमी नचाएका थिए । गायक शर्माका साथै शनिबार लोकदोहोरी गायक प्रचण्ड जिसी, रुपा घर्ती मगर, धन बहादुर गुरुङ्ग लगायतको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति संयोजक दिपेन्द्र प्रधानले बताए । मेलामा मायादेवी पेभिलियन समेत गरी २ सय ७५ स्टलहरु रहेका छन् ।

कृषि पेभिलियन तर्फ २० हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५ अटोमोबाइल्स तर्फ १३, बैंक तथा वित्तीय संस्था ५, होटल तथा रेष्टुरेन्ट तर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटिक ४, शैक्षिक परामर्श, २, फुटवेयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा रहेका छन् । महोत्सवमा मुख्य आकर्षणको रुपमा प्रदेश नम्बर ५ का प्रमुख मध्ये दुई गन्तव्य लुम्बिनीको मायादेवी मन्दिर र नेपालको ताजमहलको रुपमा परिचित पाल्पाको रानीमहलको आकृतिको निर्माण गरिएको छ ।

Facebook Comments