हिउँदे अधिवेशन मंसिर अन्तिम साताको लागि सिफारिस

प्रकाश खनाल

बुटवल, १७ मंसिर ।

प्रदेश नं ५ को प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन यही मंसिर २६ गतेका लागि बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश नं. ५ को प्रदेशमन्त्री परिषदको बैठकले यही मंसिर २६ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले सोमबारको बैठकले मंसिर २६ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले प्रदेशको सार्वजनिक खरीद सम्बन्धि अन्तरिम कार्यविधि पारित गरेको छ । सार्वजनिक खरिद कार्यविधिमा आर्थिक विभाग प्रमुख को रहने भन्ने अन्यौल भएकोले सम्बन्धित निर्देशनालयका निर्देशक नै आर्थिक विभाग प्रमुख हुने निर्णय गर्नुका साथै निर्देशनालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका अधिकृतले १ करोड सम्मका योजना स्वीकृत गर्ने, दोस्रो श्रेणीका अधिकृतले ५ करोड सम्मका र ५ करोड भन्दा बढी रकमका योजना निर्देशनालयका निर्देशकले स्वीकृत गर्ने कार्यविधि पारित गरेको प्रवक्ता चौधरीले बताए ।

त्यसै गरी मन्त्रीपरिषद बैठकले प्रदेश भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । बैठकले दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं ८ को ढिकापूर गाउँलाई वडा नं ९ मा गाभ्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

Facebook Comments