चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता

गौतमबुद्ध सन्देश

भैरहवा, १४ मंसिर ।

“पर्यटन, कृषि र उद्योगको विकास राष्ट्रिय समृद्धिको आधार” भन्ने मुल नारा सहित भैरहवामा चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मंसिर २० गते देखि भैरहवामा आयोजना हुने लुम्बिनी राष्ट्रिय महोत्सव–२०७५ को मुख्य आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघले प्रतियोगिता आयोजना गरेको हो ।

प्रत्येक वर्ष मेला आयोजना गर्दा केवल व्यापारको लागी आयोजना भएको जस्तो कुरा आए पछि आयोजकले यस वर्ष महोत्सव सुरु हुनु पुर्व नै फरक खालको कार्यक्रम गरेको छ । आयोजकले मेला सुरु हनु एक महिना पहिले देखि नै विभिन्न संघ–संस्थासंग अन्तरक्रिया लगायतका कार्यक्रम गर्दै आएको छ ।

चित्रकला प्रतियोगितामा ५० जना र वक्तृत्वकला प्रतियोगितामा २६ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव विजय पाण्डेले जानकारी दिए । दुबै प्रतियोगिताको टप १० संघले अहिले घोषणा गरेको छ भने विजेता मंसिर २० गते महोत्सवको उद्धघाटन कार्यक्रममा गर्ने पाण्डेले बताए ।

चित्रकला प्रतियोगिताको निर्णायकमा बासुकी जंग राणा, शैलेश गुरुङ र नुर मदन थापा तथा वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा डा. कपिलदेव लामिछाने, डा. शंकर नेपाल र विजय सागर श्रेष्ठ रहेका थिए । संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षता तथा महासचिव नेत्र प्रसाद अचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments