आज विश्व एड्स दिवस मनाइदै

प्रकाश खनाल

बुटवल, १४ मंसिर ।

“एच.आई.भि.जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं” भन्ने मूल नाराका साथ शनिबार विश्व एड्स दिवस मनाईदैछ । देशव्यापी रुपमा मनाउन लागिएको सो दिवस रुपन्देहीको बुटवलमा पनि विविध कार्यक्रम गरी मनाउने तयारी गरिएको छ ।

दिवसको अवसरमा शनिबार बुटवलको ट्राफिकचोकमा बिहान ९ बजे देखि निःशुल्क एच.आइ.भि.परीक्षण, दिउँसो २ बजे बुटवलको राजमार्ग चौराहबाट विशाल ¥याली निकालिने र अपरान्ह ४ बजे देखि ट्राफिक चोकमा सन्देशमूलक सांगीतिक कार्यक्रम राखिएको आयोजकहरुले जनाएका छन् ।

आयोजक संस्था मध्येको आस्था समूह बुटवलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो । कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुका टेस्टिङ्ग कन्ट्री कोअर्डीनेटर बबिसिं ठकुरीले महामारीको रुपमा फैलिएको एच.आई.भि. एड्स नियन्त्रणका लागि सामुहिक प्रयास जरुरी रहेको बताए । के गर्न हुन्छ के गर्न हुँदैन भन्ने थाहा नभएका किशोरकिशोरीहरु लागुऔषध दुव्र्यसनमा फस्ने र असूरक्षित यौन सम्पर्कका कारण एच.आई.भि. एड्स संक्रमण हुने गरेको बताउँदै उनले युवाहरुलाई लक्षित गरी सन्देशमुलक सांगीतिक कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

लुम्बिनी अञ्चल अस्पत्ताल बुटवलका एड्स तथा यौनरोग नियन्त्रण केन्द्र प्रमुख धर्म भट्टराईले रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका, समग्र नेपाल र समग्र विश्वको एच.आइ.भि. एड्सको अवस्था र त्यसको रोकथामका लागि भइरहेका प्रयासहरु बारे जानकारी गराएका थिए ।

संसारभर ३ करोड ६९ लाख व्यक्तिहरूमा एच.आइ.भि. संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा ३१ हजार २० जनामा एच.आइ.भि. संक्रमण भएको अनुमान गरिएको उनले जानकारी दिए ।

तीमध्ये पुरुषको संख्या १९ हजार २० र महिलाको संख्या १२ हजार रहेको । त्यसै गरी नेपालमा करिब ७६ प्रतिशत एच.आइ.भि. संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको तथ्यांकमा जनाइएको छ । नेपालमा एच.आइ.भि. संक्रमणको उच्च जोखिममा रहेका समुहहरुमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेशिनेहरु र जेलका कैदीहरु रहेका छन् । यी मध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एच.आइ.भि. संक्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च छ ।

आस्था समूहका अध्यक्ष केशव पुनले कार्यक्रमको तयारी र विश्व एड्स दिवसको नाराले सबैलाई आफ्नो एच.आइ.भि. संक्रमणको अवस्था थाहा पाउन र एच.आइ.भि.संक्रमण देखिएमा समयमै गुणस्तर उपचार र सेवा लिनको लागि जोड दिएको बताए । यसले सन् २०२० सम्मको लागि ९०ः९०ः९० (अर्थात ९० प्रतिशत एच.आइ.भि. संक्रमितहरुले आफ्नो संक्रमण अवस्था बारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतको औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेहरु मध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुने ) लक्ष्य हासिल गर्न टेवा मिल्ने सरोकारवाला निकायको विश्वास छ ।

आधुनिक मानव इतिहासमा छोटो अवधिमा नै अत्यन्त तीव्र रुपले फैलिएर विश्वव्यापी महामारीको रुप लिएको एच.आइ.भि.तथा एड्स विगत तीन दशक देखि निरन्तर जनस्वास्थ्य, सामाजिक तथा आर्थिक लगायतका क्षेत्रहरुको निम्ति चुनौतीको रुपमा रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्धारा विश्व एड्स दिवसको पुर्वसन्ध्यामा शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा सन् २०१७ को अन्त्य सम्म सन् २०१० देखि सन् २०१७ सम्ममा विश्वव्यापी १६ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ३५ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको जनाइएको छ ।

सन् २०१७ सम्ममा कुल एचआईभी संक्रमित मध्ये ५९ प्रतिशत (२ करोड १७ लाख) मात्र एआरभी उपचारमा छन्् । यसै गरी सन् २०१० को तुलनामा सन् २०१७ सम्ममा नेपालमा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ६३ प्रतिशतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएको छ । यसैगरी एड्सको कारणले मृत्यृ हुने संख्या सन् २०१०(२०१७ सम्म आइपुग्दा २३ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । सन् २०१७ मा नेपालको कुल एचआईभी संक्रमित मध्ये ५३ प्रतिशत १६ हजार ४ सय २८ जनाले मात्र एआरभी उपचारमा छन् ।

सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एच.आइ.भि. तथा एड्स सम्बन्धि कार्यक्रमहरु सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । एच.आइ.भि. र एड्स सम्बन्धि प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत्त रूपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाइने गरिन्छ ।

Facebook Comments