मोतीविन्दुको समस्या बढ्दै

प्रकाश न्यौपाने

भैरहवा, १४ मंसिर ।

पछिल्लो समय नेपालीहरुको आँखामा मोतीविन्दुको समस्या बढ्दै गएको पाइएको छ । समयमै आँखा चेकजाँच नगर्नु, गरिबी, जनचेतनाको कमी जस्ता कारणले मोतीविन्दुको समस्या बढ्दै गएको हो । सिद्धार्थनगर नगरपालिका विभिन्न वडाहरुमा गरिएको आँखा शिविरका क्रममा अत्यधिक मोतीविन्दु भएका विरामी भेटिएका हुन् । मारवाडी सेवा संघ, मारवाडी महिला मंच तथा मारवाडी युवा मंच भैरहवाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा शनिबार आयोजित आँखा शिविरमा चेकजाँच गराएकाहरुमध्ये अधिकांशमा मोतीविन्दुको समस्या देखिएको उपचारमा संलग्न चिकित्सक डा.संजीव घिमिरेले बताए ।


भैरहवामा आयोजित शिविरमा विरामीको आँखा जाँच गरिँदै । तस्बीरः प्रकाश न्यौपाने/गौतमबुद्ध सन्देश

‘शिविरमा आएका आधा मानिसमा मोतीविन्दुको समस्या देखियो, केहीको अप्रेसन नै गर्नु पर्ने अवस्था छ’, घिमिरेले भने, ‘सहरी क्षेत्रमा नजिकै अस्पताल हुँदाहुँदै पनि यति धेरैको संख्यामा विरामी भेटिनु अवस्था भयावह भएको मान्नुपर्छ ।’ शिविरमा २ सय जनाको चेकजाँच गरिएको थियो । त्यसमध्ये सय जनामा मोतीविन्दुको समस्या देखिएको डा.घिमिरेले बताए । यस्तै सुगर, दृष्टिदोष तथा ब्लड प्रेसरका कारण आँखामा समस्या भएका, टाढाको देख्न नसक्ने विरामी पनि शिविरमा भेटिएको चिकित्सकको भनाई छ । मोतीविन्दुको समस्या देखिएकामध्ये अप्रेसन गर्नु पर्ने ३८ जनालाई अस्पतालमा रेफर गरिएको छ भने बाँकीलाई चश्मा प्रयोग तथा औषधि सेवन गर्न लगाइएको छ ।

यसअघि सिद्धार्थनगर वडानम्बर ११ मा तीन सय ५६ जनाको चेकजाँच गर्दा करिब २ सय बढीमा मोतीविन्दुको समस्या देखिएको थियो । त्यसमध्ये ११५ जनाको तत्काल अपे्रसन गर्नु पर्ने देखिएपछि अस्पताल रेफर गरिएको थियो । ‘तत्काल यी दुई शिविरलाई उदाहरणका रुपमा लिए पनि हुन्छ, हामी अझै पनि बत्ती मुनीको अध्याँरोमा छौं भन्ने प्रष्ट हुन्छ’, डा.घिमिरेले भने, ‘समय–समयमा आँखा जाँच गराएमा यस्तो भयावह अवस्था पनि आउँदैन र रोगबाट बच्न पनि सकिन्छ ।’ कतिपयमा जन्मजात नै समस्या देखिने गरे पनि विशेष गरी उमेर ढल्कँदै गरेका मानिसहरुमा मोतीविन्दुको समस्या बढी देखिएको उनले बताए ।

खासगरी विपन्न, पिछडा, अस्पतालको पहुँचमा नआएकाहरुलाई लक्षित गरी शिविर राखिएको मारवाडी सेवा समितिका अध्यक्ष हेमन्त अग्रवालले बताए । उनले तीन वटा संस्थाले अप्रेसन गर्नुपर्ने अवस्थाका आँखा विरामीहरुलाई निःशुल्क उपचार गर्ने जनाए । आगामी दिनमा पनि शिविर आयोजना गर्ने उनले बताए । चेकजाँच गरिएकामध्ये आधामा मोतीविन्दुको समस्या देखिएपछि चिकित्सकहरुले यसको समस्या भयावह बन्ने खतरा समेत औल्याएका छन् । सम्बन्धित विशेषज्ञहरूका अनुसार, उमेरका कारण विकसित हुने मोतीविन्दुले मानिसलाई अन्धोपनसम्म पु¥याउँछ । मानिसको उमेर ढल्किंदै जाँदा अल्ट्रा भाइलेट किरण र विकिरणको प्रभाव, मधुमेह, उच्च रक्तचाप एवं चोटपटक आदि अनेक कारणले मोतीविन्दुले आक्रमण गर्न थाल्छ ।

चिकित्सकहरुका अनुसार मोतीविन्दु भएको थाहा पाउन कठिन हुँदैन । आँखा क्रमशः धमिलिंदै गएको अनुभव हुनासाथ टर्च बालेर हेर्ने हो भने मोतीविन्दु भएको वा नभएको थाहा पाउन सकिन्छ । ‘टर्चले हेर्दा आँखाको नानीमा मोतीको दाना जस्तो सेतो थोप्ला देखियो भने समस्या आएको बुझनुपर्छ’, डा.घिमिरेले भने, ‘मोतीविन्दुको रोकथामका लागि कुनै भरपर्दो उपाय छैन । मोतीविन्दु विकसित हुने दर अल्ट्रा भाइलेट किरणबाट बचाउने चश्मा वा गगल्सको प्रयोगबाट कम गर्न सकिन्छ ।’ यस्तै आँखा धमिलो बन्दै गएमा अस्पताल गई समयमै उपचार गरेमा, नियमित चेकजाँच गरेमा पनि मोतीविन्दुबाट बच्न सकिन्छ । शल्यक्रिया मोतिविन्दुको एकमात्र उपचार भएकाले सचेत रहन चिकित्सकको सुझाव छ ।

चिकित्सकका अनुसार मोतीविन्दु जुनसुकै उमेरका मानिसलाई पनि हुनसक्छ । खासगरी बुढेसकालमा हुने बढी सम्भावना हुन्छ । अप्रेशनका लागि लामो पर्खाइ, उमेरका कारण अप्रेशन गर्न नमिल्ने अवस्था, महँगो शुल्क, जनचेतनाको अभाव लगायतका कारणले मोतीविन्दुको समस्या नेपालीहरुमा बढ्दै गएको बताइन्छ । मोतीविन्दुको अप्रेशन सामान्यतः आँखालाई मात्र लठ्याएर गरिने भएकाले र अन्य समस्या नआए उसैदिन घर फर्कन ल्मिने भएकाले रोग पालेर नबसी समयमै उपचार गर्न चिकित्सकहरुको सुझाव छ ।

Facebook Comments