मुटु अस्पताल सर्ने भो तिलोत्तमामा

गौतमबुद्ध सन्देश
बुटवल, ४ मंसिर । अस्पताल भवन निर्माणको लागि प्रस्ताव गरिएको जग्गा प्राप्तीको लागि सिफारिस गर्न गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले तिलोत्तमा नगरपालिकालाई पत्र प्रदान गरेको छ ।
विगत पांच वर्षदेखि बुटवल १० रामनगरमा घर भाडामा लिई संचालन भईरहेको अस्पतालले विरामीहरुको चापका कारण सांघुरो भएपछि तिलोत्तमा नगरपालिकाले भवन निर्माणको लागि जग्गा दिन तयार रहेको बताएको थियो ।
सोहि अनुरुप अस्पतालको लागि उपयुक्त हुने १२ विगाह जग्गा प्राप्तीको लागि नगरपालिकाबाट सिफारिस प्रदान गर्न आग्रह सहित अस्पतालले निवेदन दिएको हो । अस्पतालका अध्यक्ष एजाज आलमको नेतृत्वमा नगरपालिकामा पुगेको अस्पतालको टोलीले नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई उक्त निवेदन प्रदान गरेका हुन् ।
अस्पतालको भवन निर्माणको लागि यसअघि बुटवल १० रामनगरमा रहेको वनको जग्गा प्रस्ताव गरिएपनि जग्गा प्राप्तीमा ढिलाई हुने भएपछि अस्पतालले तिलोत्तमाको जग्गालाई बिकल्पको रुपमा छलफल अगाडि बढाएको थियो । सोमबार अस्पताल संचालक समितिको बैठकले तिलोत्तमामा जग्गा प्राप्तीको प्रकृया अगाडि बढाउने निर्णय गरेको हो । यसअघि अस्पताल संचालक समितिले सल्लाहकार समितिकोे बैठकमा छलफल गरी सुझावहरु लिएको थियो । अस्पतालको निवेदन बुझ्दै नगरप्रमुख बासुदेव घिमिरेले अस्पताल सबैको लागि अति आवश्यक भएकोले छिटो भन्दा छिटो जग्गा प्राप्तीको लागि सम्बन्धित निकायलाई सिफारिस गरिने बताए । नगरप्रमुख घिमिरेले अस्पतालको लागि आवश्यक जग्गा दिनेबारे नगरकार्यपालिका,स्थानीय राजनितिक दल तथा स्थानीयवासीसंग छलफल भइरहेको र एकदुई दिन भित्र प्रकृया पुरा गरि सिफारिस प्रदान गरिने बताए । अस्पतालले तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थीत १० नं. मा रहेको १२ विगाहा सार्वजनिक जग्गा प्रस्ताव गरेको छ ।

Facebook Comments